५१ वटा फिल्म प्रदर्शन: २ ब्लकबस्टर, केही सफल हुँदा अन्य सुपरफ्लप-Sutra News

५१ वटा फिल्म प्रदर्शन: २ ब्लकबस्टर, केही सफल हुँदा अन्य सुपरफ्लप

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । नेपाली बक्स अफिसमा यो वर्ष ५१ वटा नेपाली फिल्म प्रदर्शन भएका छन् । चैत ३० गते प्रदर्शन हुन बाँकी २ फिल्मसहित हलमा वर्षभरिमा ५१ वटा फिल्म प्रदर्शन भएका हुन् । वर्षको अन्तिम शुक्रबार ‘रेड सुटकेस र डिग्री माइला’ प्रदर्शन हुँदैछन् । यी दुई फिल्म बाहेक ५१ वटा फिल्म भने प्रदर्शन भइसकेका छन् ।



जसमध्ये जम्मा ६ वटा फिल्मले निर्माताको लगानी सुरक्षित गरे । बाँकी ४५ वटा फिल्म बक्स अफिसमा असफल भएका छन् । दुई वटा फिल्म ब्लकबस्टर हुँदा ४ वटाले नाफा कमाए । यी मध्ये अधिकांश फिल्महरुले नेपाली निर्माताको करोडौंको लगानी ‘बालुवामा पानी’ जस्तो बनाएकाे देखिन्छ ।

वर्षको सुरुवातमा वैशाख १ गतेबाट फिल्म ‘जारी’ प्रदर्शनमा आएको थियो । यो फिल्मले वर्षको सुरुवातै सफलतातिर लाने अनुमानसहित उत्कृष्ट प्रदर्शन गरेको थियो । यो फिल्मले लगभग १७ करोड ग्रस गरेको थियो भने प्रदर्शनको सय दिन समेत पार गरेको थियो । फिल्मका लेखक र निर्देशक उपेन्द्र सुब्बा हुन् । कवि तथा लेखक उपेन्द्रको यो डेब्यु फिल्म हो । जारी रिलिजको सय दिनसमेतमनाउन वर्षका पहिलाे  फिल्म थियाे ।

सोही दिन अन्य दुई फिल्म ‘बिहे पास’ र ‘बुलाकी’ पनि रिलिज भएका थिए । ‘बिहे पास’ले लगानी सुरक्षित गर्न सकेन । ‘बुलाकी’ले फिल्म नै उतार्नुपर्यो । पछि आएर ‘बिहे पास’ पुनः रिलिज गरियो । त्यही पनि फिल्मले लगानी उठाउन सकेन । दोस्रो पटक पनि दम तोड्यो ।

यसपछि रिलिज भएको फिल्म ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ थिए । जसमा ‘नाइँ नभन्नु ल ६’ भन्दा ‘प्रसाद २’ केही हदसम्म बढी चल्यो । तर, दुवै फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । दर्शकले ‘नाइँ नभन्नु ल ६’ लाई अघिल्ला सिरिज जस्तो माया गर्न सकेनन् । उनीहरुले ‘नाइँ’ नै भनेर पठाए ।

त्यसपछि रिलिज भएका ‘ज्याकी–आइ एम २१’ र ‘कैदीको पत्र’को अवस्था उस्तै रह्यो । निकै महँगो रकम खर्च गरेर निर्माण गरिएको फिल्म ‘ज्याकी–आइ एम २१’ बक्सअफिसमा महँगै साबित भयो । किनकी फिल्म चल्नै सकेन । त्यस्तै कृतिमा आधारित ‘कैदीको पत्र’ ले भने कृतिको गरिमा राख्न सकेन ।

यसपछि रिलिज भएका ‘हुक्का’ र ‘टुल्की’ हुन् । यी फिल्मले आफ्नो लगानी जस्तो दर्शकबाट न साथ पायो, न निर्माताले दाम नै पाए । यिनीहरु सुरुवातमै असफल भए ।

यसपछि रिलिज भएको ‘ए साथी सुन’को अवस्था झन् नाजुक नै थियो । फिल्ममा वर्षा शिवाकोटीले प्रमुख भूमिकामा अभिनय गरे पनि उनलाई न दर्शकले साथ दिए, न त बक्सअफिसले नै ।

यसपछि ‘हल्कारा’ प्रदर्शनमा आयो । यो फिल्मले पनि यसअघिका निरन्तर फ्लप जस्तै आफूलाई पनि फ्लपमै उभ्यायो ।

अभिनेता दयाहाङ राईको फिल्म ‘जारी’ चल्दा ‘नीरफूल’का निर्देशक फूलमान बलले पनि दयाकै ब्राण्ड हेरेर दर्शक आउँछन् भन्ने ठूलो अपेक्षासहित रिलिज गरेका थिए । तर, फिल्म उनले सोचेजस्तो भइदिएन । दर्शकले पनि दयाहाङको ब्राण्डलाई साथ दिन सकेनन् । त्यस्तै ‘वेलकम टु हेम्जाकोट’ पनि सोही दिन रिलिज भए पनि उल्लेख्य दर्शकलाई थिएटरमा स्वागत गर्न सकेन । दुवै फिल्म असफल देखिए ।

त्यस्तै ‘पासाङ’ र ‘डाकिनी’को हकमा भने निर्माताले नै फिल्म चल्नै पर्छ भन्ने दबाबमा लगाएनन् । ‘डाकिनी’ले सीमित हलमा फिल्म प्रेमीहरुका लागि लक्षित गर्दै प्रदर्शनमा ल्याएको थियो भने ‘पासाङ’ डकुमेन्ट्री फिल्म भएकाले सोहीअनुरुप निर्माताले प्रदर्शनमा ल्याएका थिए । तर, बक्सअफिसमा हेर्दा यी फिल्म पनि असफल भए ।

यसैगरी ‘अन्तिम संस्कार’को अवस्था पनि अन्तिम नै रह्यो । फिल्मका कलाकारहरु चलेका भए पनि फिल्म भने चल्न सकेन । अभिनेता विजय लामाले त ‘यो फिल्म मेरा लागि बाबाले दिनुभएको अन्तिम उपहार’ भनेर प्रचारसमेत गरेका थिए । फिल्ममा विजयको नग्न दृश्य भनेर प्रचारसमेत गरिए पनि फिल्म दर्शकबाट नांगियो । जसकारण फिल्म धेरै समय टिक्न सकेन ।

त्यस्तै फिल्म ‘परस्त्री’को अवस्था कम थिएन । सफल निर्मात्रीका रुपमा स्थापित भइसकेकी शर्मिला पाण्डेलाई यो फिल्मले स्थापित बनाउन सकेन । उनका छोरा सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो फिल्म असफल भइदियो । शर्मिलाले केवल छोराको डेब्यूलाई मात्र सान्तवना पाइन् । बक्सअफिसले उनलाई सान्तवना दिन सकेन ।

यसपछि रिलिज फिल्म ‘बगान’को भने औसत व्यापार देखाउन सफल भएको छ । यो फिल्म एकल महिलाको कथा समेटिएको थियो । यसका निर्देशक सरोज खनालको डेब्यू निर्देशन रहेको फिल्मबाट निर्माताले केही हदसम्म लगानी थोरै गरिएकाले लगानी उठाए ।

यस्तै, साउनाको सुरुमा रिलिज भएका दुई फिल्म ‘लुङा’ र ‘ए ढाक्रे दाई’ हलमा मात्रै देखिए । यी फिल्मले दर्शक देख्न पाएनन् । ‘लुङा’ र ‘ए ढाक्रे दाई’ बक्सअफिसमा लगभग पोस्टरमै सीमित हुन पुगे । यी फिल्मलाई ठूला मल्टिप्लेक्सहरुले शो दिएका थिएनन् । निर्माताहरुले सोचेअनुरुप शो नपाएपछि सीमित हलमा मात्रै प्रदर्शनमा आयो भन्ने भयो निर्मातालाई ।

यसपछि, साउन महिनाको अन्त्य तिर रिलिज भएको फिल्म ‘अदृश्य’ दर्शकका लागि अदृश्य नै हुन पुग्यो । यो फिल्मले बक्सअफिसमा दर्शक र पैसाको साथ नै पाउनै सकेन । यसमा केही थिएटर कलाकार भए पनि तिनीहरुको न अभिनय चल्यो, न त निर्देशकको निर्देशकीय कला नै ।

भदौमा आठ वटा फिल्म प्रदर्शनमा आएका थिए । जसमा ‘हिँड्दा हिड्दै’, ‘जुलेबी’, ‘महानगर’, ‘जय हो’, ‘गणपति’, ‘ऐंचो पैंचो’, ‘एक भागवत र एक गीता (सामाजिक कथा) र ‘नाङ्गो गाउँ’ । भदौ १ गते दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भए । दुवै फिल्ममा चलेका कलाकार भए पनि फ्लप फिल्मको हविगत भोगे ।

यसपछि फिल्म महानगर, जय हो, ऐँचो पैँचो, गणपति, एक भगवत् र एक गीता, नांगो गाउँ प्रदर्शन भएका थिए । जसमध्ये यी कुनै पनि फिल्मले दर्शकको साथ पाएनन् । फिल्मले आएको र गएको नै पत्तो भएन ।

‘नाङ्गो गाउँ’ले मात्र दर्शकको साथ पायो । यो फिल्म यस वर्षको अर्को चर्चित फिल्म बन्यो । यो फिल्मले ४ करोड ९० लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ ।

यस्तै, असोजमा महिनामा चार वटा फिल्म ‘कौसीद’, ‘वानर सेना’, ‘बासेन्जी’ र ‘परदेशी २’ रिलिज भएका थिए । जसमध्ये ‘परदेशी २’ले मात्र दर्शकको साथ पाउन सफल भयो र वर्षको अर्को चर्चित फिल्म भयो । याे फिल्मले घरेलु बक्स अफिसमा ५१ दिन मनाएको थियो। यो सुपरहिट फिल्म ‘परदेशी’को सिक्वेल हो ।

गायक तथा संगीतकार प्रकाश सपूतले यसैबाट फिल्ममा डेब्यु गरे । फिल्मले करिब ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ । बाँकी अरु फिल्महरु असफल भए । बक्सअफिस र दर्शकले सान्तवना नदिएपछि यि फिल्म फ्लप फिल्मको हविगत भोगे ।

यता कार्तिक महिनामा फिल्म ‘पशुपति प्रसाद २ र दिमाग खराब’ रिलिज भए । दुबै फिल्मले बक्स अफिसमा सफलता पाए । ‘पशुपति प्रसाद २ः भष्मे डन’ यस वर्षको अर्को चर्चित फिल्म हो । यो २०७२ सालमा सार्वजनिक प्रदर्शन भएको ‘पशुपति प्रसाद’ सिक्वेल फिल्म हो । फिल्मले करिब ८ करोड कमाएको निर्माण टिमको दाबी छ ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले यस वर्षको अर्को चर्चित फिल्म हो । यसले १० करोड रुपैयाँभन्दा माथि ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।  यो फिल्म वर्ष घरेलु बक्स अफिसमा रिलिजको १०० दिन मनाउने दोस्रो फिल्म हो ।

मंसिर महिनामा रिलिज भएका दुई फिल्म ‘दुई कदम’ र ‘जम्प’, बक्सअफिसमा लगभग पोस्टरमै सीमित हुन पुगे । यी फिल्मका निर्माताहरुले सोचेअनुरुप दर्शकले साथ नदिएपछि हलमा मात्रै प्रदर्शनमा आयो भन्ने भयो । यी फिल्म पनि बक्सअफिसमा असफल भए । अधिकांश दर्शकले त यि फिल्म आएको र गएको नै थाहा पाएनन् ।

पुष महिनामा ‘पर्खि बसे तिमीलाई र चित्रा’ प्रदर्शनमा आएका थिए । यी फिल्मले पनि बक्सअफिस र दर्शकबाट सान्तवना नपाएपछि फ्लप फिल्मकै हविगत भोगे ।

माघ महिनामा ‘नो विन्टर होलिडेज, दयारानी र हात्तीछाप’ प्रदर्शनमा आएका थिए । त्यसमध्ये फिल्म ‘दयारानी’ले मात्र लगानी सुरक्षित गर्‍यो । चलचित्र विकास बोर्डको तथ्यांकमा फिल्मको लाइफटाइम कलेक्सन २ करोड ६० लाख ग्रस छ । यता, ‘हात्तीछाप’ एक करोड १० लाखमा सीमित हुँदै फ्लप हुन पुग्यो ।

फागुन महिनामा भने फिल्म रिलिजको बाढी नै देखियो । यो एक महिनामा मात्र ६ वटा नेपाली फिल्म प्रदर्शन भए । जसमा ‘जिग्री, गोर्खा वारियर, द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान, उपहार, रंगेली, काँडेतार’ थिए । यहाँ पनि केही फिल्मका लागि सुखद बनेन् । फागुन पहिलो हप्ता अर्थात् ४ गते प्रदर्शनमा आएको आकाश मगर निर्देशित फिल्म ‘जिग्री’ दुई दिन पनि हलमा टिकेन ।

त्यसपछि फागुन ११ गते मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ प्रदर्शन भएको थियो । फिल्मको सुरुवाती व्यापार सन्तोषजनक देखिए पनि हलमा लामो यात्रा गर्न सकेन । फिल्मले करिब ५५ लाख ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । अर्थात् फिल्म असफल भयो ।

फागुन १८ गते प्रदर्शनमा आएको सौरभ चौधरी निर्देशित फिल्म ‘द अनब्रेकेबल अगस्त्य: च्याप्टर वान’ भने बक्स अफिसमा औसत सावित भयो । फिल्मले पाचाैं हप्ताको अन्त्यसम्म २ करोड ६१ लाखमाथि ग्रस कलेक्सन गरेको रिपोर्ट प्राप्त छ । फागुनमा सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड नै ‘अगस्त्य’ले बनाएको छ । यो व्यापारको अंकलाई सन्तोषजनक मान्न सकिन्छ ।

फागुन २५ गते भने त्रिपक्षीय भिडन्त भएको थियो । ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ गरी तीन फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । तर, यी कुनै फ्लप हुनबाट जोगिन सकेनन् । ‘काँडेतार’लाई निर्माताले दुई दिनमै हलबाट उतारेका थिए भने ‘उपहार’ र ‘रंगेली’ले कलाकारलाई तिरेको पारिश्रमिकको एक तिहाई पनि नउठाएकाे देखिन्छ । ‘उपहार’ र ‘रंगेली’ फिल्ममा चलेका कलाकार भए पनि फ्लप फिल्मको हविगत भोगे । निर्माताको करोडौंको लगानी बालुवामा पानी भए जस्तो भयो । यसरी हेर्दा फागुनमा दश करोडको लगानी डुबेको छ ।

चैत्रमा रिलिजमा आएको ‘महाजात्रा’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । चैत ९ गतेबाट प्रदर्शन भएको यो फिल्म यस वर्षको चर्चित फिल्ममा परेको छ । प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको फिल्म ‘जात्रा’को तेस्रो सिक्वेल हो । तेस्रो सातामा प्रदर्शनरत फिल्मले नेपालमा ११ करोड बढीको ग्रस कलेक्सन गरेकाे निर्माण पक्षको दाबी छ ।

यस्तै, फिल्म ‘सलिना’ हलमा शोज खुलेपछि कम शो पाएको भन्दै प्रदर्शन स्थगित गरेर पछि सरेको छ । फिल्म अब कुन मितिमा रिलिज हुन्छ भन्ने स्पष्ट छैन ।

चैत्र २३ गते शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ प्रदर्शनमा आयो । यो फिल्मले एउटा स्लोगन दिएको थियो ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ । यत्तिकै भरमा मख्ख भएका शोभितले हलसम्म दर्शकलाई तान्ने माहौल भने सिर्जना गर्न सकेनन् । यसै कारण दर्शकलाई यो फिल्म आएको र गएको नै पत्तो भएन । शोभितले यसै वर्ष फ्लप फिल्मको हविगत दोस्रो पटक पनि भोगे ।

याे वर्ष सर्वाधिक कमाइ गरेकाे ‘जारी’ फिल्मकाे रेकर्ड कसैले ताेड्न सकेका छैनन् । साेही ब्यानरबाट प्रदर्शन हुन लागेकाे ‘डिग्री माइला’ले रेकर्ड ताेड्ने धेरैकाे अनुमान छ । यद्दपि, यसकाे बक्स अफिस कलेक्सन रिपाेर्ट नयाँ वर्ष २०८१ मा मात्रै पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट