गुजरातमाथि दिल्लीको रोमाञ्चक जित, आज बैंगलुरुविरुद्ध हैदरावाद खेल्दै-Sutra News

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित, आज बैंगलुरुविरुद्ध हैदरावाद खेल्दै

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधबार राति भएको खेलमा साविक उपविजेता गुजरात टाइटन्सविरुद्ध दिल्ली क्यापिटल्सले चार रनको रोमाञ्चक जित निकालेको छ ।



आफ्नै घरेलु मैदानमा दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २२० रनमा सिमित बनेपछि चार रनको रोमाञ्चक जित भएको हो ।

गुजरातलाई जितका निम्ति अन्तिम ओभरमा १९ रन आवश्यक रहेकोमा १४ रन मात्रै बनाएपछि दिल्लीले चार रनको जित निकालेको हो । गुजरातका लागि साइ सुदर्शन ६५ र डेविट मिलरले ५५ रनको योगदान दिए । तर, त्यो जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि टस हारेर आफ्नो घरेलु मैदानमा ब्याटिङ थालेको दिल्लीले २० ओभरमा चार विकेट गुमाएर २२४ रनको विशाल योगफल खडा गरेको थियो ।

दिल्लीका लागि कप्तान ॠषभ पन्तले अविजित ८८ र अक्षर पटेलले ६६ रनको योगदान दिएका थिए । गुजरातविरुद्धको जितसँगै नौ खेलबाट आठ अंक जोडेको दिल्ली गुजरातलाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ । दुई टिमको प्लेअफ सम्भावना भने कायम छ ।

आइपीएलमा आज यो सिजनकै कमजोर टोली रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्ध मजबुत ब्याटिङ प्रदर्शन गर्दै आएको सनराइजर्स हैदरावाद भिड्ने भएको छ । ट्रभिस हेड र अभिशेख शर्माको उत्कृष्ट ओपनिङ जोडी रहेको हैदरावादले यो सिजन आईपीएलमा सर्वाधिक रनको कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट