फेरि माओवादी धाराबीच एकताको चर्चा, सम्भावना कति ?-Sutra News

फेरि माओवादी धाराबीच एकताको चर्चा, सम्भावना कति ?

बिहिबार, २९ चैत्र २०८०

बिहिबार, २९ चैत्र २०८०

काठमाडौं । पछिल्लो समय १० वर्षे जनयुद्ध लडेका माओवादी धाराका दलहरुबीच एकताको कुरा चल्न थालेको छ । विशेषगरी सत्तारुढ माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहकार्य चलिरहेको बेला माओवादी धाराका अन्य शक्तिबीच पनि एकताको कुरा चल्न थालेको हो । एकताको पक्षमा देखिएका नेताहरु तत्कालै एकता गर्नुपर्ने बताउन थालेका छन् ।



हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा अभियान चलिरहेको बेला माओवादी धाराका शक्तिहरुबीच एकताको बहस छेडिएको हो । नेताहरुले माओवादी धाराका शक्तिबीच बाध्यात्मक एकताको अवस्था बनिरहेको बताउन थालेका छन् ।

बिहीबार पार्टीको प्रदेश स्तरीय बैठकका लागि विराटनगर पुगेका प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छिट्टै माओवादी धाराका शक्तिहरु एक ठाउँमा आउने बताएका छन् । उनले माओवादीहरु एक हुनुको विकल्प समयले नदिएको बताए ।

“माओवादी आन्दोलनमा सहभागीहरु सबै एकताबद्ध हुनैपर्छ, एकताको विकल्प छैन भन्नेमा पनि समीक्षा भएको छ”, अध्यक्ष प्रचण्डले भनेका छन्, “छिट्टै हामी सबै एकै ठाउँमा हुनेछौं ।”

प्रचण्डले छिट्टै विप्लव नेतृत्वको नेकपाबीच एकता हुने पनि बताएका छन् । उनले विप्लवसँगै क्रमशः अन्य शक्तिहरु एक ठाउँमा आउने बताए ।

अहिले विप्लव नेतृत्वको पार्टी माआवादी केन्द्रसँगै समाजवादी मोर्चामा छ । विप्लव स्वयम्ले पनि पार्टी एकताको पक्षमा अभियान चलाइरहेका छन् । उनले पनि माओवादी धाराका शक्तिहरु मिल्नुको विकल्प नभएको बताइरहेका छन् ।

यद्यपि, माओवादी केन्द्र र विप्लव नेकपाबीच एकताको सन्दर्भमा छलफल चलेको भने झण्डै वर्ष दिनभन्दा बढी भएको छ । तर, दलहरुबीच निष्कर्षमा पुग्नेगरी भने वार्ता हुन सकेको छैन ।

जसरी अहिले नेताहरुका अभिव्यक्ति बाहिर आएका छन्, यसले एकातिर एकताको माहोल सिर्जना भएको देखाएको छ भने अर्कोतिर यसअघिजस्तै सेन्टिमेन्टको राजनीति पनि हाबी हुँदै गएको देखाउँछ । प्रायः नेताहरुले आफू अप्ठ्यारोमा परेका बेला माओवादी धाराका शक्तिहरु एकता हुनुपर्ने बताएको पाइन्छ ।

यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको नेकपा माआवादीलगायतबीच एकताको चर्चा चलेको थियो । माओवादी केन्द्रसँग एकताको चर्चाकै बीच बाबुराम नेतृत्वको नेसपा विभाजित भएको छ भने वैद्य नेतृत्वको पार्टीले माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई ‘गद्दार’को ट्याग लगाइदिएको छ । किराँतीलगायतले पनि उसैगरी उछितो काढिरहेका छन् ।

राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई केही वामपन्थी शक्तिबीच एकताको सम्भावना भएपनि माओवादीहरुबीच मात्रै एकताको अवस्था नरहेको बताउँछन् । “राजनीतिक हिसाबले नै कोही निकै जड खालका छन् भने कोही निकै संशोधनवादी ढर्रामा गइसके, यसले पार्टी एकता होला भन्ने आधार कमजोर देखाउँछ, सँगै व्यक्तिगत टकराव पनि अर्को कारण हो”, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट