अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने तयारी, सर्वसाधरण गरे विरोध-Sutra News

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने तयारी, सर्वसाधरण गरे विरोध

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नु पर्ने कानूनलाई अमेरिकी सिनेटले अनुमोदन गरेको छ ।



यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सैन्य सहायता पनि समावेश थियो । यसलाई अहिले कांग्रेसले अनुमोदन गरेको छ । प्रमाणीकरणका लागि राष्ट्रपति जो बाइडेनको डेस्कमा पुगेको छ ।

अमेरिका र अन्य पश्चिमी अधिकारीले युवामाझ टिकटकको लोकप्रियताप्रति चिन्ता व्यक्त गर्दै यसले बेइजिङलाई डाटा संकलन गर्न र प्रयोगकर्तामाथि जासुसी गर्ने अनुमति दिने आरोप लगाएका छन् । अमेरिकामा मात्र यसको प्रयोगकर्ताको संख्या १७ करोड रहेको छ ।

आलोचकले टिकटक बेइजिङको अधीनमा रहेको र गलत प्रचार फैलाउने माध्यम भएको बताएका छन् । चीन र कम्पनीले ती दाबीहरूको कडा रूपमा खण्डन गरेका छन् ।

कुनै पनि कम्पनीलाई अमेरिकी बजारमा सञ्चालन गर्नबाट रोक लगाउन दुर्लभ कदम चाल्न सक्ने उक्त विधेयक प्रतिनिधिसभाले बलियो द्विदलीय (डेमोक्रेट र रिपब्लिकन) समर्थनका साथ पारित गरेको तीन दिनपछि सिनेटले १८ विरुद्ध ७९ मतले पारित गरेको थियो ।

राष्ट्रपति बाइडेनले कानूनमा हस्ताक्षर गर्ने बताएका छन् । उनले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकका बारेमा आफ्नो चिन्तालाई दोहोर्याएका थिए ।

शनिबार सदनमा मतदान भएपछि टिकटकले गुनासो गर्दै कानून निर्माताले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने, ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म बन्द गर्ने प्रतिबन्धित विधेयकलाई अवरोध पार्ने कोसिस गर्नु ‘दुर्भाग्यपूर्ण’ हो भनेको छ ।

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरहरूबाट बाहिरिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट