एकीकृत समाजवादीले मुख फेर्दा संघ र प्रदेशमा कस्तो पर्छ प्रभाव ?-Sutra News

एकीकृत समाजवादीले मुख फेर्दा संघ र प्रदेशमा कस्तो पर्छ प्रभाव ?

सोमबार, ३ बैशाख २०८१

सोमबार, ३ बैशाख २०८१

काठमाडौं । बालुवाटारमा भएको सहमतिलाई तोड्दै एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षलाई सघाएसँगै सत्ता गठबन्धनभित्र अर्को चिसो पसेको छ । एकीकृत समाजवादीको यो कदमपछि गठबन्धनकै भविष्य के हुने अन्योल पनि सतहमा देखिएको छ ।



सुदूरपश्चिमको घटनापछि एकीकृत समाजवादीले अन्य प्रदेशमा पनि खतराको घण्टी बजेको चुनौतिपूर्ण प्रतिक्रिया दिएको छ । एमाले र माओवादी केन्द्रको निरन्तरको पेलाईको जवाफको रुपमा पनि पछिल्लो कदम चालिएको एसको भनाई छ ।

“संघीय सरकारबारे हामीले सोचिसकेका छैनौ, प्रचण्डजी र ओलीजीले कस्तो व्यवहार गर्नुहुन्छ, त्यसमा भर पर्छ, हामी पर्ख र हेरको अवस्थामा छौं”, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै भनेका छन्, “अन्ततिर पनि खतराको घण्टी बजेको छ ।”

एकीकृत समाजवादीको पछिल्लो कदमलाई लिएर एमाले आक्रोशित देखिएको छ । एमालेले एकीकृत समाजवादीको कदमलाई ‘अराजनीतिक’ भनी टिप्पणी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट चरम अवसरवादी चरित्र प्रदर्शन भएको आरोप लगाएका छन् । “विपक्षीहरुको आशा पलाउने गरी र जनतामा निराशा जगाउने गरी त्यस पार्टीले कदम चाल्यो”, सोमबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका छन्, “दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगे प्रकट भयो ।”

यद्यपि, अध्यक्ष ओलीले एकीकृत समाजवादीको कदमले केही फरक नपर्ने पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, “जे–जस्ता गतिविधि देखिएका छन्, यसले फरक पार्नेवाला छैन ।”

तर, केन्द्रसम्मै पर्नसक्छ प्रभाव

एकीकृत समाजवादीको पछिल्लो कदमले केही फरक नपर्ने दाबी एमाले अध्यक्ष ओलीले गरेपनि अंकगणितलाई हेर्दा केही प्रदेश र केन्द्रसम्मै सकस पार्ने स्पष्ट देखिन्छ । सुदूरपश्चिममा जस्तै अन्य प्रदेशमा पनि एकीकृत समाजवादीले कित्ता फेर्दा तत्कालै सरकारहरु फेरबदलको अर्को कोर्ष सुरु हुने अनुमान लगाउन गाह्रो छैन ।

११० सदस्यीय बागमती प्रदेशसभामा ७ सांसदसहित एकीकृत समाजवादी निर्णायक पोजिसनमा छ । एकीकृत समाजवादीले कित्ता फेरेमा तत्काल माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

समीकरण परिवर्तनसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिएका थिए । जहाँ उनले टुपुक्क ५६ सांसदको मत पाएका थिए । यस्तोमा ७ सांसद भएको एकीकृत समाजवादीले हात झिक्दा स्वतः जम्कट्टेल नेतृत्वको सरकार ढल्छ ।

यता, मधेश प्रदेशमा पनि एकीकृत समाजवादी सत्ता पक्षमा छ । यदि मधेशमा एकीकृत समाजवादीले कित्ता फेरेको खण्डमा जसपा नेतृत्वको सरकार ढल्न बेर लाग्दैन ।

१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको मत आवश्यक पर्छ । यदि कांग्रेस, जनमत, लोसपा, एकीकृत समाजवादी र केही स्वतन्त्र सांसदले बेग्लै गठबन्धन बनाएमा सरकार निर्माण हुनसक्छ ।

बागमती र मधेशसँगै जटिल अंकगणितको सकसमा गण्डकी प्रदेश छ । जहाँ एकीकृत समाजवादीका एक सांसद छन् । यदि स्वतन्त्र हुँदै एकीकृत समाजवादी बनेका मनाङ्गेले एमाले नेतृत्वको सरकारलाई नसघाएमा सरकार अप्ठ्यारोमा पर्न समय लाग्दैन ।

प्रदेश तहसँगै संघमा पनि एकीकृत समाजवादी निर्णायक पोजिसनमा छ । १० सांसद भएको एकीकृत समाजवादीले मुख फर्काए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सकसमा पर्ने निश्चित छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको मत चाहिन्छ । यस्तोमा प्रचण्डले पछिल्लो पटक फागुन ३० मा विश्वासको मत माग्दा १५७ सांसदको मत पाएका थिए । यदि एकीकृत समाजवादीले मत झिक्दा प्रचण्डको पक्षमा १४७ सांसदको मत हुनेछ ।

यस्तोमा जसपा र नाउपाले पनि मुख फेरेमा प्रचण्ड स्वतः अल्पमतमा पुग्नेछन् । जसपाले पनि बेला–बेला असन्तुष्टिको भाषा बोलिरहेको छ भने नाउपा आफैं आन्तरिक विवादले सकसमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट