सहकारी प्रकरणले थिचिँदा इलाममा मिलनको ‘कन्तबिजोग’-Sutra News

सहकारी प्रकरणले थिचिँदा इलाममा मिलनको ‘कन्तबिजोग’

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभाअन्तर्गतको इलाम–२ र प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)मा गत शनिबार उपनिर्वाचन गरायो । आम निर्वाचन सम्पन्न भएको साढे एक वर्षपछि भएको यस उपनिर्वाचनलाई दलहरुले निकै प्रतिष्ठाको विषय बनाए । पुरानादेखि नयाँ दलसम्मले आफ्ना उम्मेदवारलाई विजयी बनाउनका लागि चुनावी अभियानमा कुनै कसर बाँकी राखेनन् ।



यसमध्ये चुनावको प्रमुख केन्द्र इलाम–२ बन्न पुग्यो । जसलाई ‘राइजिङ’ पावरको रुपमा बुझिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि निकै प्रतिष्ठाको विषय बनायो । जहाँ रास्वपाले चर्चित पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनायो ।

यसअघिका उपनिर्वाचनमा निकै बलियो देखिएको रास्वपाले यसपटकको उपनिर्वाचनमा पनि बलियो धक्का दिने अनुमान धेरैले गरेका थिए । गत वर्ष वैशाखमा सम्पन्न तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनमा दुई स्थानमा रास्वपाका उम्मेदवारले गठबन्धनबिनै अन्य दलका उम्मेदवारलाई नराम्रोसँग पराजित गरेका थिए । रास्वपाले तनहुँ–१ र चितवन–२ मा भारी मतान्तरसहित जित हात पार्दा बारा–२ मा भने हार व्यहोरेको थियो ।

आम निर्वाचन हुनुभन्दा ६ महिनाअघि मात्रै पार्टी स्थापना भएर चुनावमा होमिएको रास्वपाले २० स्थानमा जित हात पारेको थियो । छोटो समयमा राम्रो प्रतिफल पाएको रास्वपाको क्रेज बढिरहँदा इलाम–२ को उपनिर्वाचनमा पनि जित निकाल्ने आकंलन स्वभाविक थियो ।

तर, ‘मिसन २०८४’ भनेर चुनावी अभियान होमिएको रास्वपाको लागि इलाम–२ को चुनावी परिणाम भने निकै अत्यासलाग्दो बन्न पुगेको छ । रास्वपाका उम्मेदवार लिम्बुले आफ्नै वडाका मतदाताबाट समेत मत पाउन सकेनन् ।

रास्वपाका उम्मेदवार लिम्बुले आफ्नै घर रहेको स्थान माङ्सेबुङ गाउँपालिका २ बाट जम्मा ९६ मत मात्रै पाए । उनले आफ्नै वडाका मतदाताको मत जोगाउन नसक्दा एमालेका सुहाङ नेम्वाङले ५८६, कांग्रेसका डम्बरबहादुर खड्काले ३५१ र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ३१७ मत पाए ।

यस्तै, सोही गाउँपालिका वडा नम्बर ५ बाट लिम्बुले जम्मा तीन मत मात्रै पाए । उक्त वडामा स्वतन्त्र उम्मेदवारले एक हजारभन्दा बढी मत पाएका छन् । आफ्नै वडा र पालिकाबाट मत पाउन नसकेर प्रतिस्पर्धामा छुटेका रास्वाका लिम्बुले जमानत जोगाउन संघर्ष गरिरहेका छन् ।

रविको प्रश्नले थिचिएका मिलन

देशका ठूला सहकारीबाट अवैध ढंगले रकम लिएर हिनामिना गरेको आरोप लागेका रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीमा आसिन छन् । पछिल्लो समय उनी सार्वजनिक कार्यक्रममा हिँड्दा सहकारीको प्रश्नले निकै सकसमा पर्ने गर्दछन् । इलामको चुनावी अभियानमा पुग्दा पनि लामिछाने निकै समस्यामा परेका थिए ।

सहकारी प्रकरणले घेरिएका लामिछानेले चुनावी सभामा धेरै विषय सहकारीकै विषयमा बोल्न खर्चिए । एक चुनावी सभालाई सम्बोधन क्रममा लामिछानेले सहकारी ठगेर भाग्ने सबै सञ्चालकको सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गर्नेसम्मको आश्वासन बाँडेका थिए । तर, आफैसँग सहकार्य गरी सहकारीको अर्बौं ठगेर भाग्ने जीबी राईबारे भने उनले कुनै पनि फोरममा जवाफ दिन माननेन् ।

चुनावी सभालाई सम्बोधनका क्रममा जीबीबारे भागिरहेका लामिछानेलाई सञ्चारकर्मीले भने मुक्त हुन दिएनन् । इलामको चुनावी सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनलाई स्थानीय सञ्चारकर्मीले घेरेरै “जीबी राईलाई कहिले फर्काइन्छ ?” भन्दै प्रश्न तेस्र्याएका थिए ।

जीबीको प्रश्नमा अत्तालिएका लामिछानेले “चाँडै थाहा पाउने हुनेछ, अहिले भनिहाल्नु हुँदैन, मलाई थाहा छ राम्रोसँग, तपाईंले समाचार लेख्ने अवसर पाउनु हुन्छ चिन्ता नगर्नुस्” भन्दै जबरजस्त तर्किएका थिए ।

जीबीको बारेमा झारा टार्ने जवाफ दिएका लामिछानेलाई मात्रै होइन उपसभापति स्वर्णीम वाग्लेलाई समेत चुनावी अभियानमा निकै कठिन परेको थियो । कतिपय ठाउँमा वाग्ले मौन रहनुपर्ने बाध्यतामा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट