समाजवादी मोर्चामा अब प्रचण्ड र विप्लव मात्रै !-Sutra News

समाजवादी मोर्चामा अब प्रचण्ड र विप्लव मात्रै !

बुधबार, २ जेष्ठ २०८१

बुधबार, २ जेष्ठ २०८१

काठमाडौं । सरकारको नेतृत्वमा पुगेसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा २०८० असार ४ गते चार दल सम्मीलित समाजवादी मोर्चा बन्यो । माओवादी केन्द्रसहित मोर्चामा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहभागिता थियो ।



मोर्चा घोषणा गर्दै गर्दा दलहरूले ‘पार्टी एकतासम्म’को कुरा गरेका थिए । हुन पनि मोर्चाको ४ पृष्ठको प्रस्तावनामा पार्टी संरचनाकै मोडलमा ७ बुँदे कार्यक्रम घोषणा गरिएका थियो । जसमा मोर्चाको संगठनात्मक संरचनादेखि नीति तथा कार्यक्रम निर्माणसम्मको कुरा छ । जसमा पार्टीकै मोडलमा नेतृत्व, सचिवालय, प्रदेश र जिल्ला समन्वय समितिको व्यवस्था गरिएको छ । 

कार्यविधिमा भएको व्यवस्थालाई पालना गर्दै मोर्चाको नेतृत्वमा आलोपालोको नियम पनि चल्यो । अहिले सोही नियमअनुसार नेकपाका महासचिव विप्लव मोर्चाको संयोजकको भूमिका छन् । मोर्चा गठन यता ५५ जिल्लामा संगठन विस्तारदेखि सातै प्रदेशमा संयुक्त कार्यक्रम पनि गरिए ।

तर, विप्लव नेतृत्वमा आएसँगै दुई पटकभन्दा मोर्चाको बैठक बसेको छैन । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार पछिल्लो बैठक फागुन ६ गते बसेको थियो । जुन बैठकमा मोर्चालाई विस्तार गर्ने विषयमा छलफल भएको थियो । जसपश्चात् विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मोर्चामा आबद्ध हुन आग्रह गर्दै भेटेका थिए ।

सत्ता समीकरण परिवर्तनसँगै भने मोर्चा पनि अलपत्र अवस्थामा छ । मोर्चा घटक जसपा नेपाल विभाजित बनेसँगै मोर्चाकै औचित्यमाथि प्रश्न ठडिएको छ ।

प्रचण्डलाई देखाउने दाँत

तत्कालीन समय समाजवादी मोर्चा घोषणासँगै एकातिर प्रचण्ड नेतृत्वको सरकारमाथि भइरहेका अङ्कगणितीय तुलनामा केही कमी आएको थियो भने अर्कोतिर वामपन्थी नयाँ शक्ति निर्माण हुँदै गरेको बुझाई सञ्चार भएको थियो । हुन पनि ३२ सिटलाई अघि सारेर प्रधानमन्त्री बनेका प्रचण्डलाई मोर्चा गठनसँगै थप २२ सिटको आड मिलेको थियो । 

राजनीतिक विश्लेषक मुकुन्द आचार्यका अनुसार तत्कालीन समय कांग्रेसलाई आफू अनुकुल हिँडाउन मोर्चा प्रचण्डका निम्ति निकै सहयोगी बन्यो । उनका अनुसार ‘हात्तिको देखाउने दाँत’ जस्तै प्रचण्डलाई मोर्चा देखाउने दाँत बनेको थियो । 

“प्रचण्डले कांग्रेसलाई दबाबमै राख्न मोर्चा बनाएका थिए, जुन मोर्चा गठनपछि कांग्रेस पनि प्रचण्डसँग केही हच्किने अवस्थामा पुगेको थियो”, आचार्य भन्छन्, “मोर्चाको गतिविधिले नै पुष्टि गर्छ, यो प्रचण्डका निम्ति ‘हात्तिको देखाउने दाँत’ जस्तै बनेको थियो ।”

हुन पनि मोर्चा आबद्ध दलहरूबीच राजनीतिकरूपमा कुनै पनि तालमेल थिएन । सत्ता समीकरण परिवर्तन र उपनिर्वाचनको बेला दलहरू एक्लाएक्लै थिए । विश्लेषक आचार्यका अनुसार दलहरू नाम मात्रको मोर्चामा थिए । 

“यसलाई विशुद्ध नाममात्रैको मोर्चा भन्न सकिन्छ, किनभने सत्ता समीकरण फेरबदल हुँदा न मोर्चाभित्र छलफल बन्यो, न त उपनिर्वाचनमा तालमेल भयो, के मोर्चा भएको भए यस्ता इश्यूमा छलफल हुने थिएन त ?”, आचार्यको प्रश्न छ, “यो मोर्चा होइन, सत्ता बारगेनिङ्ग गर्ने टुल्स मात्रै थियो ।”

उपेन्द्र र माधव मोर्चा बाहिर

अहिले मोर्चालाई लिएर अनौठा विश्लेषकहरू भइरहेका छन् । जसपा नेपाल विभाजन घटनापछि त ‘मोर्चा’ शब्दलाई नै बदनाम गराइएको टिप्पणी हुन थालेका छन् । जसपा नेपालको विभाजन प्रचण्डकै शब्दमा अर्को ‘उथलपुथलकारी घटना’ थियो । 

गत वैशाख ३० मा सिन्धुली पुगेका प्रचण्डले सार्वजनिकरूपमै आफैंले जसपा नेपाल फुटाइदिएको सांकेतिक अभिव्यक्ति दिएका थिए । “अनेक गरिन्छ तर, सरकार पूरै अवधि लगिन्छ, त्यो अनेक गर्नेभित्र हिजोअस्तीका घटनाहरू पनि हुन्”, जसपा विभाजनबारे प्रचण्डको अभिव्यक्ति छ ।

प्रचण्डको यो अभिव्यक्तिपछि जसपा नेपालले बैठक नै बसेर ‘प्रचण्डबाट आपराधिक कदम चालिएको’ बताएको छ । जसपा नेपालका नेता रामकुमार शर्माका अनुसार केन्द्रीय समिति बैठकले डकुमेन्टमै प्रचण्डलाई पार्टी विभाजनमा ‘अपराधी’ करार गरेको छ । 

“एकातिर मोर्चा घटक दल, अर्कोतिर सत्ता साझेदार दल तर, प्रचण्डले आफैंले फुटाएँ भनेर सगर्व घोषणा गरे”, सूत्रसँगको कुराकानीमा शर्माले भनेका छन्, “प्रचण्डबाट आपराधिक काम भएको भन्ने निष्कर्ष हाम्रो केन्द्रीय समितिको बैठकले निकालेको छ ।” 

मोर्चाकै एउटा घटक नै मोर्चाकै अर्को घटकलाई सिध्याउने खेल भएको निष्कर्षसहित मोर्चाको औचित्य नरहेको पनि जसपा नेपालको निष्कर्ष छ । जसपा नेपालले आफू अब माओवादी केन्द्र रहने कुनै पनि मोर्चामा नरहने निर्णय पनि गरेको छ ।

“मोर्चाकै एउटा दलले अर्को दललाई सिध्याउन खेल हुन्छ भने त्यो के मोर्चा हुन्छ र ? हामीले त्यस्तो मोर्चाको औचित्य नरहेको निष्कर्ष निकालेको छौं, सँगै प्रचण्ड आबद्ध हुने मोर्चा पनि नरहने निर्णय गरेका छौं”, बैठकको निर्णयबारे शर्माले भनेका छन् । 

मोर्चालाई जसपा नेपालले मात्रै औचित्यहीन देखेको छैन, अर्को दल एकीकृत समाजवादीले पनि औचित्य सकिएको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीका नेता मेटमणि चौधरी मोर्चाको औचित्य सकिएको भन्ने निष्कर्षमा आफ्नो पार्टी पुगेको बताउँछन् ।

“मन नमिल्ने, कार्यदिशा नमिल्ने, के मोर्चा ?”, सूत्रसँगको कुराकानीमा चौधरीले भनेका छन्, “यो मोर्चाको औचित्य सकिएको भन्ने निष्कर्ष हाम्रो हो, अब यसको अर्थ छैन ।”

जसपा नेपाल र एकीकृत समाजवादीले मोर्चाको अर्थ नरहेको निष्कर्ष निकाल्दै मोर्चाबाट अलग भएको बताइरहँदा मोर्चामा अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा मात्रै बाँकी छन् । पछिल्ला घटनासँगै ११ महिना अगाडि गठन भएको मोर्चा अघोषित विघटन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट