अमेरिका पुगेका अर्थमन्त्रीले भने- जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनु पर्छ-Sutra News

अमेरिका पुगेका अर्थमन्त्रीले भने- जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनु पर्छ

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनु पर्ने बताएका छन् ।



जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी-२०)का अर्थमन्त्रीहरूको बुधबार अमेरिकाको वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनु पर्ने बताएका हुन् ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनु पर्नेमा जोड दिएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अर्थमन्त्रीले विकसित देशहरूलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गरे । उनले नेपालजस्ता देशले सामना गर्नु परेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्व समूदायको साथ र सहयोग अपरिहार्य भएको बताएका हुन् ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नु परेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको दोहोर्‍याए ।

उनले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिए । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट