ओलीको एजेण्डा बोल्दै प्रचण्डले भने- अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो-Sutra News

ओलीको एजेण्डा बोल्दै प्रचण्डले भने- अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूको अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ भएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले आफूहरूको मुख्य गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’बाहेक केही नभएको उल्लेख गरेका हुन् ।



यसअघि नेपाली कांग्रेसलाई प्रतिपक्षी बनाएर नेकपा एमालेसँग सत्ता साझेदारी गरेसँगै प्रधानमन्त्री प्रचण्डले केपी शर्मा ओलीको तारिफ गर्दै आएका थिए । पछिल्लो समयमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग नजिक बनेका प्रचण्डले ओलीकै भाषा बोल्न थालेका छन् ।

प्रचण्डले गत सोमबार एमालेको ७५ वर्ष पूरा भएको अवसरमा मनाइएको हीरक महोत्सवमा सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीको तारिफ गरेका थिए । ‘कमरेड केपी शर्मा ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रिएका थियौँ,’ प्रचण्डले भनेका थिए, ‘अब विश्वास गर्न चाहन्छु ।’

केपी ओलीलाई विश्वास गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रचण्डले तीन दिनपछि अर्थात आज ओलीकै भाषा बोलेका हुन् । यस क्रममा उनले भने, ‘हाम्रो अल्टिमेट गोल भनेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो, त्यसमा विमति हुनु पर्ने कारण छैन, त्यसमा पुग्नका लागि सुशासन र सामाजिक न्यान अनिवार्य शर्त हो ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हरेक भाषणामा आफ्नो मुख्य गोल सुखी नेपाली र समृद्ध नेपाल भएको बताउँदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीकै एजेण्डा बोल्दै बिहीबार आफूहरूको अल्टिमेट गोल ‘सुखी नेपाली र समृद्ध नेपाल’ भएको बताएका हुन् ।

यस्तै, प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनु पर्ने बताउँदै अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबै निकायको समन्वयमा तयार गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट