Logo

नारायणहिटी लगिएको जहाजको शरीर छिर्‍यो, पुच्छर अड्कियो [भिडियो] 



काठमाडौं- अप्ठेरो खालको ठूलो समस्याचाहिँ सहजै समाधान भयो, तर सानो व्यवधानका कारण समस्या जस्ताको तस्तै रह्यो भने, त्यसलाई सटिक रुपमा बुझाउने उखान छ, ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो।’

नारायणहिटी दरवार संग्रहालयमा प्रदर्शनीका लागि नेपाली सेनाले प्रदान गरेको एभ्रो जहाजको हकमा पनि यतिबेला यही उखान लागू भएको छ।

संग्रहालयको प्रदर्शनीमा राख्न नेपाली सेनाले प्रदान गरेको सो जहाज शनिबार (२७ भदौ) साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालय लगिएको थियो। नारायणहिटी पुर्‍याइएपछि जहाजलाई मुख्य प्रवेशद्वारबाट प्रवेश गराएर निर्धारित स्थानमा राख्ने योजना संग्रहालयको थियो।

तर, जहाजको आकारभन्दा गेटको आकार सानो भएपछि संग्रहालयले मुख्य प्रवेशद्वारबाट नारायणहिटीभित्र जहाजलाई लैजाने योजना परिमार्जन गर्‍यो। स्रोतका अनुसार नारायणहिटीको गेटको उचाइका कारण जहाज नछिर्ने भएपछि योजना परिमार्जन गरिएको थियो।

त्यसपछि दोस्रो विकल्पको रुपमा नारायणहिटीको ‘दक्षिणी गेट’को रुपमा चिनिने जय नेपाल चलचित्र घर नजिकैको गेटबाट जहाजलाई छिराउने योजना बनाइयो। त्यसका लागि राष्ट्रिय पुनर्निर्माण संग्रहालयले निर्माण गर्दै गरेका कतिपय संरचनासमेत भत्काइएको थियो।

वीर शमशेरको पालामा निर्माण गरिएको पुरानो दरवार राजा महेन्द्रको पालामा भत्काएर हालको नारायणहिटी दरबार बनाइएको हो। वीर शमशेरकालीन नारायणहिटी दरवार भत्काए पनि दक्षिणी गेटचाहिँ राजा महेन्द्रले भत्काएनन्। महेन्द्रको निजी निवासको रुपमा रहेको महेन्द्र मञ्जिल प्रवेश गर्ने द्वार त्यही थियो।

तर, २०७२ को भूकम्पले सोही द्वारमा पनि क्षति पुर्‍यायो। क्षति पुर्‍याएकाले राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्यसको पुनर्निर्माण गरिरहेको थियो। पुनर्निर्माणको क्रममा त्यहाँ नयाँ पिलर निर्माण गरिएका थिए। त्यसैले, ती पिलर आफैँले बनाइदिने शर्तमा जहाज प्रवेश गर्नसक्ने गरी ती पिलर भत्काउने प्रस्ताव संग्रहालयले गर्‍यो।

प्राधिकरणले स्वीकृति दिएपछि पिलरहरु भत्काइए। र, सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगिएको जहाज त्यहाँबाट प्रवेश गराउने योजना बन्यो। तर, जहाजको मुख्य भाग त छिर्‍यो। पुच्छरचाहिँ छिर्न सकेन। 

सो जहाज नारायणहिटीमा लैजाने तयारी दुई महिनादेखि गरिएको थियो। त्यसका लागि विभिन्न रुटहरु विकल्पमा राखिएका थिए। पहिलो विकल्प गौशालाबाट रातो पुल, कमलपोखरी हुँदै ल्याउने थियो। तर, कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्र अगाडिबीच भागमा रहेको मन्दिरका कारण जहाज छिर्न नसक्ने भयो।

त्यसपछि सिनामङ्गल, तीनकुने, बानेश्वर, माइतिघर हुँदै नारायणहिटी दरवारतिर लैजाने योजना बन्यो। ‘कुन रुट उपयुक्त होला भनेर सेनाले सबै ठाउँको नाप निकालेको थियो,’ स्रोतले भन्यो, ‘सोहीअनुसार बानेश्वर हुँदै सहजरुपमा जहाज नारायणहिटी लैजान सहज हुने देखियो। र, त्यही रुटबाट जहाज नारायणहिटी पुर्‍याइयो।

तर, ठूलो पंखाका कारण पछिल्लो भागचाहिँ कत्ति गर्दापनि नारायणहिटीबाट छिर्न सकेन। नारायणहिटी भित्र सोही भाग छिराउन नसकिएपछि अहिले सो प्रवेशद्वार अघिल्तिर आँपको रुख छेवैमा राखिएको छ। त्यसलाई कसरी नारायणहिटीभित्र लैजाने भन्ने विकल्पको खोजीमा नेपाली सेना र संग्रहालयका अधिकारीहरु लागेका छन्।

भिडियो हेर्नुस्:

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १८:५६


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला