Logo

बिहे नगरी बिए उत्तीर्ण गर्ने छात्रालाई एक लाख



सिन्धुली । मरिण गाउँपालिका सिन्धुलीले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहन स्वरूप एक लाख प्रदान गर्न थालेको छ । मरिणका स्थानीय विद्यालय र क्याम्पसमा अध्ययन गर्नेहरू यसका लाभग्राही हुन् ।
विद्यार्थीलाई प्रोत्साहन गर्नाका साथै स्थानीय विद्यालयलाई ‘प्रमोट’ गर्ने उद्देश्य यस कार्यक्रमको रहेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ बताउँछन् । उनका अनुसार गाउँपालिकाको शिक्षा सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले बालविवाह न्यूनीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । स्थानीय विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र महिलालाई उच्चशिक्षा पढ्नका लागि प्रोत्साहन हुने गाउँपालिकाले जनाएको छ ।

सोही कार्यक्रमअन्तर्गत शनिबार गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक लाख हस्तान्तरण गरेको छ । मरिण–७ का चारजना र वडा नं ६ की एकजना छात्रालाई उक्त रकम प्रदान गरिएको हो ।

सङ्घीय सांसद लेखनाथ दाहालका अनुसार मरिण सरकारले ल्याएको सामाजिक उद्देश्यसहितको यो कार्यक्रम मौलिक र सृजनशील छ । यस्तो कार्यक्रमले सामाजिक जागरण ल्याउने उनी बताउँछन् ।

यता, अभिभावक रमेश नेपालीको तर्क भने फरक छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई एक लाख दिनुभन्दा पहिला घरायसी तथा पारिवारिक समस्याका कारण बीचैमा पढाइ छोड्न बाध्य भएका/हुने विद्यार्थीका लागि सहयोग पुग्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उनको धारणा छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार २१:२१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113