Logo

अन्मिएपछि गाडी चढ्न नसकेको त्यो दिन, पैताला कारमा चढ्न उठ्दै उठेनन्



शशी तिमल्सिना थापा / प्राकृतिक विविधता र सौन्दर्यले भरिएको बेथाञ्चोक-२ ढुंर्खक जहाँ चोरन्डेडाँडा, मूलडाँडा, आहालडाँडालगायतका डाँडाहरूमा हरियाली र स्वच्छ वातावरण छ । अनि दुर्लुङ् खोला, गोरेगैरो खोला, पाट्ने खोला र बागने खोलाको सफा र सङ्लो कलकल पानी बगिरहन्छ ।

त्यो बेथाञ्चोक न त फोहोरको दुर्गन्धले प्रदूषित छ, न त बस गाडीको हरनको आवाजले कान नै थुन्न पर्छ । त्यहाँ त चिरविर चिरविर चरीको आवाज, सङ्लो अनि कलकल बगेको पानी, स्वच्छ र स्वस्थकर हावा बगिरहन्छ । यो त्यो ठाउँ हो जहाँ सामाजिक, सांस्कृतिक र धार्मिक आस्थाका धरोहर जो सबैलाई आफन्त ठान्नुहुन्छ, सबैलाई बराबर माया गर्नुहुन्छ र आफूसँग जे छ सबैलाई बाँडिचुँडी खानुहुन्छ । त्यस्ता हजुरबुबा, हजुरआमा, आमाबुबा, काकाकाकी तथा दाजुभाइ दिदीबहिनी बस्नुहुन्छ ।

हो म त्यही बेथाञ्चोक-२ ढुंर्खकमा जन्मी हुर्केकी छोरी । मैले बाल्यकाल र विद्यालय शिक्षा त्यहीँ पूरा गरेँ । मेरो बुबा डा.बलराम तिमल्सिना श्री पार्वती माविको प्रधानाध्यापक हुँदा नै २०४९ सालमा कक्षा १ मा भर्ना गरिदिनुभयो । मैले २०५९ सालमा त्यसै विद्यालयबाट एसएलसी पास गरँ । २०५० सालमा बुबा प्रधानाध्यापक छाडेर निजामती सेवामा प्रवेश गर्नुभयो र काठमाडौँ जानुभयो । बुबा काठमाडौँ गएपछि मलाई पढ्नका लागि पटक पटक काठमाडौँ जाउँ भन्नु भयो । तर मैले हजुरबुबा र हजुरआमालाई छोड्न सकिनँ । म जन्मिएको हुर्किएको स्वच्छ, सफा र हराभरा बेथाञ्चोक । त्यसैले मैले विद्यालय शिक्षा पार्वती मावि बेथाञ्चोकबाटै पूरा गरें ।

कक्षा ६÷७ तिर पुगेपछि मैले छोरा र छोरीबीचको फरक, छोरी अन्मिएर अर्को घरमा जानुपर्ने, उसले आफ्नो थर फेर्नुपर्ने आदि बारे अलिअलि बुझ्न थालेँ । मेरा छरछिमेकका दिदीहरू रुँदैरुँदै डोलीमा चढेर अन्मिएको अनि कति दिदीहरू परिवार र समाजको अनुशासन तोडेर, बुबाआमाको स्वीकृत बेगर आफैँ दुलाहा रोजेर हिँडेको पनि म देखिरहन्थे । अनि म भित्रभित्र प्रतिज्ञा गर्थँे कि म भने परिवार र समाजको अनुशासन तोड्दिन र बुबाआमाको मन पनि दुःखाउँदिन र उहाँहरूको सपना चकनाचुर पनि पार्दिन भनेर ।

आखिर भयो पनि त्यही । मेरो जिन्दगीमा धेरै साथीहरू भए र छन् महिला र पुरुष दुबै । तर विवाहभन्दा पहिले मैले जीवन बिताउने साथीे बनाइन र प्रयास पनि गरिनँ । हजुरबुबा, बुबा र आमाले हेरेको, उहाँहरूले छानेको र मेरोसमेत चित्तले खाएको वरसँग विवाह गरें । यहाँमैले यो भन्न खोजेको हैन कि आफूले प्रेम गर्नु हुँदैन, केटा छान्नु हुँदैन आदि । मेरो सोचाइ यति मात्रै हो कि उमेर नपुगी, पढाइ नसकाई बाबुआमाको जानकारीबिना विवाह गरेर हिँड्दा सायद जिन्दगीको यात्रामा समस्या आउन सक्छन् ।

मेरो स्नातकसम्मको पढाइ पूरा नहुञ्जेल न बुबाले मेरो विवाहको कुरा उठाउनुभयो, न हजुरबुबाले नै । कहिलेकाहीँ हजुरआमा र आमाले छोरीको अब त बिहे गर्न पर्छ है, तेरो केटो भए भन हामी उसैलाई दिन्छौं भन्नुहुन्थ्यो । म भने फिस्स हाँसेर सबै टारिदिन्थे‌ ।

जब म स्नातकोत्तर तहमा पढ्न थालेँ बुबा र हजुरबुबा दुबैजनाले मेरो विवाहको चासो राखेको थाहा पाएँ । घरमा माग्न आएको पनि थाहा पाएँ । बुबा र हजुरबुबा दुबैलाई मन परेको र मनले खाएको घरपरिवारको छोरा इन्जिनियर उत्तमकुमार थापासँग मेरो भेट गराउने चाँजोपाँजो मिलाउनुभएछ बुबाले । बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा दुबैका परिवारसहित हामीले भेट्याँै, जिन्दगीका यात्राको बारेमा छोटो तर सटिक छलफल ग¥यौँ र एकले अर्कालाई जिन्दगीभर साथ दिने स्वीकृति दिएर उठ्यौँ । सोही कुरा दुवै पक्षका अभिभावकलाई जानकारी गराइयो र हामी दुईबीच विवाह हुने निश्चित भयो । २०६९ असार १० गते मेरो विवाह महेन्द्र पुलिस क्लबमा भयो ।

मलाई लिन बाजागाजाका साथ जन्ती लिएर आउनुभयो थापा परिवार । मलाई बाजागाजा बजेको एकदम मन पर्ने, बाजा बजेको सुन्नेबित्तिकै नाच्न मन लाग्ने म त्यो दिन त के भयो खै, त्यो बाजाको आवाज कानमा पर्नेबित्तिकै हातखुट्टा कामे जस्तो भयो । एकाएक आँखाबाट आँसुका धारा बग्न थाले, बल्लतल्ल आफूलाई सम्हाल्दै दुलाहाको स्वागत गर्दै जग्गेमा बसँे । र, परम्पराअनुसार विवाह सम्पन भयो ।

बाहिर झमझम पानी परिरहेको थियो, जसरी बाहिर पानीको झमझम आवाज आइरहेको थियो त्यसरी नै भित्रमेरो मन आत्तिरहेको थियो । अब अन्माउने बेला भइसकेको थियो । म सकीनसकी जग्गे घुम्दै थिएँ । एकछिन त बुबालाई अगाडि देख्दै थिएँ, तर केही क्षणमा बुबा हराउनुभयो, हजुरबुबा पनि देखिनुभएन । हजुरआमालाई काकी र भाउजुहरूले घेरेका थिए । म भने सम्हालिन सकिनँ, आमा र शारदा काकी भक्कानिँदै मलाई समाउँदै हुनुहुन्थ्यो । ज्वाइँलाई बुबाले डोर्‍याएर अन्माउनुपर्ने, तर रामशरण ठूलोबुबा र विष्णु ठूलोबुबाले डोर्‍याउनु भएको थियो ।

सोचेको थिएँ अन्मिने बेलामा हाँसीहाँसी अन्मिन्छु भनेर तर जति कोसिस गर्दा पनि आफूलाई रोक्न सकिनँ ह्वाँह्वाँ रुन आयो । म जिन्दगीमा दुईपटक त्यसरी रोएको छु, एकपटक जन्म घर छाडेर कर्म घर जान अन्मिदा र अर्कोपटक हजुरबुबाको निधन हुँदा । सिंगारिएको कारमा मलाई जबर्जस्ती रामशरण ठूलोबुबाले घुमाउनु भयो । जब तीनपटक जग्गे र कार घुमेर कारभित्र पस्न पर्ने बेला भयो मेरो पैताला कारमा चढ्न उठ्दै उठेनन्, मेरो सम्पूर्ण शरीर लुलो भयो । मलाई लाग्यो मैले टेकेको धर्ती भासिँदै छ, तर के गर्ने आखिर जानै पर्दथ्यो । रामशरण ठूलोबुबा र विष्णु ठूलोबुबाले कारमा राखिदिनुभयो । मलाई गाडीमा चढ्ने बहुत रहर लाग्थ्यो, बुबालाई अफिस लिन र घर पुर्‍याउन आउने गाडी चढ्न रहर गर्थेँ, तर बुबाले अफिसको गाडीमा कतै घुमाउन लानु हुन्नथ्यो । कहिलेकाहीँ अफिस जाने बेलामा बाटो एउटै पर्‍याे भने मात्र ल बस म बाटोमा छोडिदिन्छु भन्नुहुन्थ्यो म रमाएर गाडी चढ्थेँ । तर त्यसदिन न गाडी चढ्ने रहर आयो, न जाँगर नै ।

भोलिपल्ट दुल्हन फर्काउन माइतीघर आयौँ । मलाई भने मनमा खुल्दुली चलिरहेको थियो कि हिजो मलाई अन्माउन बुबा र हजुरबुबा किन आउनु भएन ? हजुरआमालाई किन घेरे अनि मेरा दुवै भाइहरू र बहिनी सिर्जना कता गए जस्ता कुराहरू । उहाँहरूले मेरो हात समातेर दुई–चार शब्द भनेर मलाई गाडीमा चढाउनु भएको भए मेरो मन त्यति धेरै रुँदैन थियो कि, त्यति धेरै छटपटी हँुदैन थियो कि भन्ने भइरह्यो । माइतीघर पुग्दा मेरो बुबा तल गेटमै कुरिरहनुभएको रहेछ । बुबालाई देखेर न त हाँस्न नै सकें, न त रुन नै एकोहोरो हेरिरहें । बुबाले स्वागत गर्दै माथि लैजानुभयो ।

माथि गएपछि दुल्हन फर्काउने साइतको सबै परम्परा सकिएपछि आमाले हिजोको त्यो सब के भएको थियो, स–विस्तार बताउनुभयो । बुबा मलाई अन्माउन नसकेर भित्र कोठामा मुर्छित हुनु भएछ, हजुरबुबा बसेको कुर्सीमै डाँको छोडेर रोएर बस्नु भएको थियो रे अनि हजुरआमा बेहोस भएको कारण कोही पानी छम्कने त कोही बर्कोले हम्कँदै थिए रे । सानोबुबा, भाइहरू र बहिनी कुनातिर बसेर रुँदै थिए रे । त्यसैले मलाई अन्माउन सकिनसकी मेरो आमा, काकीआमा र ठूलोबुबाहरू आउनु भएको रहेछ ।

मैले सानोमा गाउँघरमा सुनेको थिएँ, छोरी पराई घरमा जान पर्दछ र छोरीका लागि माइतीघर र कर्मघर दुबै पराई घर हुन्छ भनेर तर त्यो होइन रहेछ । मनमा सधैं लागिरहन्थ्यो अब म विवाह भएर घर गएपछि मेरो हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाइहरूले पहिलाको जस्तो माया प्रेम गर्दैनन् होला भनेर । त्यस्तो होइन रहेछ, झन् माया त गाढा पो हुँदो रहेछ । विवाहभन्दा पहिले अफिस गएर आउँदा होस् वा कतै बाहिर गएर आउँदा होस्, साँझ ६ बजेसम्म घर नपुगे बुबाले बारबार कहाँ आइपुग्यौ छोरी भन्दै पाँच-पाँच मिनेटमा फोन गर्ने अब नगर्ने पो हो कि भनेर मनभित्र डरैडर थियो । तर बुबाले दैनिक ६ बजेभित्र छोरी घर पुग्यौ भनेर फोन गर्नुहुन्छ । फरक यति रहेछ कि हिजोसम्म कहाँ आइपग्यौ भन्ने बुबा मलाई अन्माएर पठाएको दिनदेखि घरपुग्याै भन्न थाल्नु भयो ।

हिजोसम्म खाना खान छिटो आऊ भन्ने बुबा आजबाट खाना पकायौं ? सबैलाई खुवाएयौं ? अनि तिमीले राम्रोसँग खायौ ? भन्न थाल्नु भयो । सायद यही त होला फरक ।

आज विवाह भएको १० वर्ष भयो, मैले गाउँमा सुनेका ती सब कुरा सत्य होइन भन्नेमा पूर्ण विश्वस्त छु । म भित्रिएको घरमा पनि मेरो बुबाआमा जस्तै मलाई स्वागत गर्न ससुराबुबा र सासूआमा बस्नु भएको थियो । उहाँहरूले छोरी अन्माएर पठाउनुभयो अनि मलाई भित्र्याउनु भयो, फरक के छ र उही त हो नि । त्यहाँ पनि मलाई माइतीमा माया गर्ने दिदीबहिनी जस्तै नन्दआमाजू थिए, जो भाउजू भित्र्याउन पाउँदा अत्यन्तै खुसी र प्रफुल्ल थिए । त्यतिमात्र हैन, त्यहाँ हजुरबुबा हजुरमुआ पनि हुनुहुन्थ्यो, जसले मलाई नातिनीकै व्यवहार गर्नुहुन्छ ।

त्यसैले सामाजिक परम्परा रीतिरिवाज मात्र होइन कि सृष्टिको नियमलाई नियमित राख्न पनि त छोराछोरीको विवाह गर्नैपर््यो । पूर्वीय समाजमा छोरालाई अन्माएर अर्को घरमा पठाएको थाहा छैन, एक न एकजना त अन्मिनै पर्यो । जन्मिएको घर छोड्नै पर्यो । त्यो छोड्ने काम परम्परादेखि छोरीको भागमा पर्यो के गर्ने ? विवाह भएको १० वर्षबीचमा यी सबै अनुभूति भएको हो मलाई पनि ।

तर जतिसुकै बुझेको भए पनि विवाहको दिन माइतीघर छाडेर डोली चढ्न वा कार चढ्न कति कठिन हुन्छ भन्ने कुरा बेहुली भएकालाई मात्र थाहा हुन्छ । मलाई पनि भएको थियो कि यो कारमा नचढी भागौँ कि क्या हो, चिच्याएर जान्न भनाैं कि क्या हो, तर सकिएन भन्न र भाग्न पनि । आज त्यही घरमा रमाएको छु, हजुरबुबा त बित्नुभयो, हजुरआमा, बुबा र आमा असाध्यै खुसी हुनुहुन्छ । भाइहरू मसँग भन्दा भिनाजुसँग गफिन्छन् । ससुराबा, सासूआमा, नन्दहरू र श्रीमान् साह्रै सहयोगी हुनुहुन्छ । छोरी जन्मिएर पारिवारिक फुलबारीमा छुनुमुनु गर्छिन्, झन् अब त मेरो सबैभन्दा मिल्ने प्यारो साथी भएकी छिन्, त्यै घर साह्रै रमाइलो भएको छ । जिन्दगीको यात्रा यस्तै त रहेछ, अझ अगाडि कसरी बढ्ने हो थाहा छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार १४:२५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट