Logo

कांग्रेसलाई मात्र होइन एमालेलाई पनि ‘धक्का’ दिने पक्षमा प्रचण्ड र माधव



काठमाडौं – अहिले राजनितिक दलहरु प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारीतर्फ लम्किन लागेको देखिन थालेको छ । गएको स्थानीय तहको निर्वाचनमा राम्रो सिट ल्याएको कांग्रेस अहिले आफ्नै नेतृत्वमा गठबन्धनका दलहरुको साथमा ५ बर्ष सरकार चलाउने कसरतमा लागेको छ ।

यता, गठबन्धन भित्रका कांग्रेस बाहेकका दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरु भने अर्को गठबन्धनको तयारीमा लागेको देखिएको छ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेपछि गठबन्धनका अन्य दलहरु झस्किएका छन् ।

अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरुले आफूहरुलाई ‘सम्मानजनक’ सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी पनि दिएका छन् । किनकी गएको स्थानीय तहको निर्वाचनमा भनेजस्तो सिट नपाएको भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले असन्तुटि पनि जनाउँदै आइरहेको छ ।

कांग्रेसले आफ्नो मात्र बहुमत बनाउन खोजेको भन्दै असन्तुष्ट रहेका गठबन्धनभित्रका अन्य दलहरु छुट्टै मोर्चाबन्दी गर्ने कसरत गरेको देखाइरहेका छन् । गत शनिबार जनकपुर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाबाट छुटिटएका बाबुराम भट्टराई, माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताएका थिए ।

‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ’ प्रचण्डले भनेका थिए ‘त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन ।’ बामपन्थी एकता वा समाजवादी केन्द्र बनाउनका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच केही चरणमा छलफल भइरहेको छ । तर यसबारे औपचारिक टुंगो लाग्न बाँकी रहेको नेताहरुको भनाइ छ ।

त्यति मात्र होइन अहिले प्रचण्ड र माधव वामपन्थी गठबन्धन र मोर्चाबन्दी गरेर कांग्रेसलाई मात्र नभई नेकपा एमालेलाई पनि ‘धक्का’ दिने पक्षमा रहेको देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले आउँदो चुनावसम्ममा सत्ता गठबन्धन टुट्ने दाबी पनि गरेका छन् । स्वार्थका लागि बनेको गठबन्धन आफै टुट्ने उनले बताएका छन् । तर, गठबन्धनभित्रका दलका नेताहरु भने चुनावसम्ममा नै आफूहरुको गठबन्धन कायम रहने बताउँदै आइरहेका पनि छन् । माधव भने गठबन्धन भए पनि कांग्रेसले आफूहरुलाई प्रयोग गर्न खोजेको बताइरहेका छन् ।

गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने र आफ्नै बलमा निर्वाचन लड्ने चेतावनी दिएका माधव माओवादीका अध्यक्ष प्रचण्ड जता भन्छन् त्यतै जान तयार रहेको पनि देखिन्छ । माओवादीमा पनि नेताहरुले कांग्रेसहरुले आफूहरुलाई पेलिरहेको बताइरहेदा भने प्रचण्ड यसबारे केही भनेका छैनन् । उनको गठबन्धन कायम रहने मात्र धारणा देखिन्छ । कांग्रेससँगै गठबन्धनमा बस्नेकी सम्मानजनक सिट नपाए मर्चाबन्दी तर्फ लाग्ने प्रचण्ड र माधव दोधारमा परेको पनि देखिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १०:५५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट