ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्न निकै कठिन हुन सक्छः कप्तान मल्ल-Sutra News

ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्न निकै कठिन हुन सक्छः कप्तान मल्ल

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमानमा घरेलु टिम र अमेरिकासँग खेल्ने निकै कठिन हुन सक्ने बताएका छन् । टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुन सक्ने बताएका हुन् ।



आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । ओमानले पछिल्लो समय धेरै राम्रो गरिरहेको र अमेरिका क्रिकेटको पावर हाउस बनेर आएको उनले बताए ।

नेपालसँग अनुभव प्राप्त खेलाडी कम भएकाले गार्हो हुन्छ जस्तो लागेको उनको भनाई छ । ओमानमा गर्मी बढी रहेको र डे नाइट खेल्ने भएकाले पनि केहि कठिन हुने उनले बताए । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोरले सिरिज अघि पपुवा न्युगिनीसंग हुने खेल पनि महत्वपूर्ण रहेको बताए ।

सिरिजका लागि नेपाली टिम मंगलबार ओमान प्रस्थान गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । यस अघि लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट