भारतीय नाकाबन्दीविरुद्ध नवयुगको त्यो गोल-Sutra News

भारतीय नाकाबन्दीविरुद्ध नवयुगको त्यो गोल

शनिबार, २७ भाद्र २०७७

शनिबार, २७ भाद्र २०७७

काठमाडौं- नवयुग श्रेष्ठका फुटबलर नै बन्छु भन्ने न कुनै लक्ष्य थियो, न त चाहना नै । अरुको जस्तै उनको पनि बचपनमा छँदा गाउँघरमा रम्ने तरिका त्यही ढुङ्गा, माटो, उकाली–ओराली, उफ्राई, लडाईं- झगडा आदि आदि थिए ।



कहिलेकाहीँ पैसा भएको बेला १० रुपैयाँको ‘ट्याक् ट्याक्’ बज्ने प्लाष्टिकको बल किनेर धेरै जना साथीहरु जम्मा भएर खेलेको दिनहरु उनलाई अहिले पनि झलझली याद आउँछ।

‘यस्तो बल खेल्न न कुनै मैदान चाहिन्थ्यो, न कुनै रेफ्री,न जर्सी, न त जुत्ता नै’ नवयुग बालापन सम्झन्छन्, ‘तर पनि बलको पछि पछि यतिकै दौडिने र उफ्रीने गरिन्थ्यो, सायद त्यसबेलाको ठूलो प्रतिष्पर्धा भनेकै यही थियो ।’

त्यसरी मुठ्ठीभरिको बलको पछि पछि दौडिँदादौडिँदै फुटबलको नसा चढेको नवयुगलाई थाहै भएन। खाली खुट्टाले बललाई हान्दा त्यति सानो बलमा सधैं खुट्टा पर्दैनथ्यो । भुँइमा खुट्टा जोतिएर बनेका घाउहरु, उप्किएका नङका खाटाहरु त सबै निको भइसके । तर अहिले सम्झिँदा ती घाउहरु चसक्क दुखे जस्तो अनुभव हुन्छ उनलाई।

खुट्टाबाट नङ उप्केको, अनि रगत बगेको देखेपछि उनलाई घरबाट प्लाष्टिकको बल किन्ने पैसा पनि आउन छोड्यो। उनलाई भने बल खेल्ने बानी परिसकेको थियो । बल नछोई बस्न नसक्ने जस्तै भइसकेका थिए ।

उनलाई त राम्रै गरेको जस्तो लाग्थ्यो। तर पटक पटक प्रयास गर्दा पनि टिममा नपर्दा ‘अब प्रयासै नगरौँ’ भन्ने लाग्न थाल्यो । ‘नेपाली राष्ट्रिय टिममा पर्न नातावाद कृपावादले प्रभाव पार्छ’ भन्ने हल्लाको प्रभाव उनमा पनि परेको थियो।

त्यसैले, कागज र कपडाका झुम्राहरुलाई मोजामा हालेर आफैंले बल बनाउन थाले । त्यसपछि उनलाई प्लाष्टिकको बलको जरुरत कहिल्यै परेन। ११–१२ वर्षको उमेरसम्मको उनको बालापन त्यही १० रुपैयाँको ‘ट्याक ट्याक’ बज्ने प्लाष्टिकको बल, अनि झुम्रो कोचेर बनाएको मोजाको बल खेलेरै बित्यो।

बढ्दो उमेरसँगै विद्यालयमा कक्षोन्नति हुँदै गएपछि उनलाई मोजाको बल खेल्न अप्ठेरो महसुस हुन थाल्यो । विद्यालयको मैदानमा अग्रजहरुले साँच्चिकै भकुन्डो खेलेको देख्दा उनी पनि खुब जोसिन्थे। पछि कक्षा–कक्षामा फुटबल खेल्नेहरुको नाम टिपाउन आउँदा नवयुगले पनि आफ्नो नाम टिपाए।

विद्यालयबाट २०६० सालको ‘जिविस कप’ खेल्ने सूचीमा उनको पनि नाम थियो। उनको पहिलो उपस्थितिमै विद्यालयले जिविस कपको उपाधि जित्न सफल भयो । अर्को साल पनि उनीरुले सोही उपाधि जिते । खेलाडी बनेर खेलेको दुई वटै प्रतियोगिता जितेपछि उनले फुटबलका अरु धेरै प्रतियोगिताहरुबारे जानकारी पाए ।

जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका प्रतियोगिताको बारेमा उनलाई ज्ञान हुन थालिसकेको थियो। त्यसपछि नवयुगले आफूलाई अब फुटबलर नै बनाउने तर्फ सोच्न थाले। तर सोचे जस्तो सबै सजिलो थिएन।

दुई पटक जिविस कप जितेपछि विद्यालयमा पनि खेलाडीको रुपमा सबैले हौस्याउन थालेका थिए। दोस्रो जिविस कप जितेकै समय उनलाई इलाम जिल्लाको तर्फबाट ‘अन्डर १४ राष्ट्रिय टिम’ को छनोट खेल्न बोलाइएको थियो। तर उनी छनोटमा पर्न सफल भएनन्।

तर जिल्लाकै तर्फबाट छनोटका लागि बोलाएपछि ‘अब जसरी पनि फुटबल खेलाडी नै बन्छु’ भन्ने दृढ योजना बनाए । नवयुगले अब जिल्ला तथा क्षेत्रीय स्तरमा हुने खुकुरी कप, कोकाकोला कप, रमपम कप, मेयर कप, माइभ्याली कप जस्ता प्रतियोगितामा भाग लिन थाले र आफूलाई प्रमाणित गर्दै पनि गए ।

मोजाको बल खेल्ने नवयुगको परिचय अब फेरिइसकेको थियो । उनी जिल्ला र क्षेत्रीय स्तरको खेलाडीका रुपमा स्थापित भइसकेका थिए । इलाममा कक्षा १२ सम्मको अध्ययन सकेर उनी काठमाडौं आए ।

काठमाडौंमा बेरोजगार भएर बाँच्न एकदम कठिन थियो । काम पनि हत्तपत्त पाइहाल्ने स्थिति थिएन । एकदिन पत्रिकामा सेनामा भर्ति खुलेको विज्ञापन छापिएको थियो । अब उनको सोचाई सैनिक पेशातिर जाने बन्यो ।

राष्ट्रिय टिममा नवयुग श्रेष्ठको प्रवेशपछि नेपाली फुटबलमा साँच्चै नै नयाँ युग अर्थात् ‘नव युग’ कै सुरुवात भयो।

पहिलो प्रयासमा नै उनी सफल भए । २०६५ सालमा उनी नेपाली सेनामा प्रवेश गरे। ९ महिनाको आधारभूत तालिम सकिएपछि उनले सेनाको जागिरसँगै फुटबल खेल्ने मौका फेरि पनि पाए।

२०६७ सम्म आइपुग्दासम्म उनले ए डिभिजन लिगसम्म खेल्न भ्याइसकेका थिए । लिग नियमित रुपमा नहुँदा चाहे जति फुटबल खेल्न नपाएको उनको गुनासो छ।

त्रिभुवन आर्मी क्लबमै पर्न पनि उनले धेरै दुख र मेहेनत गर्नुपरेको थियो। सिनियर खेलाडीलाई प्रतिस्थापन गरेर टिममा पर्नु एकदम कठिन भएको सम्झिन्छन् उनी । यद्यपि, उनले कहिल्यै हिम्मत हारेनन् । बरु आफ्नो मेहेनतलाई निरन्तरता दिँदै गए । राष्ट्रिय टिममा परेपछि देशको स्थितिलाई नजिकबाट नियाँल्न पाएको उनको अनुभव छ।

नेपाली सेनामा आन्तरिक रुपमा हुने गुल्म कप, ब्यारेक कप, पृतनापति कप र सेनापति कप जस्ता प्रतियोगितामा खेल्दा उनले आफ्नो सीप र कौशललाई अझ बढाउँदै गए । र, त्रिभुवन आर्मी क्लबको नियमित खेलाडीको रुपमा आफूलाई स्थापित गराउन सफल भए ।

क्लबबाट निरन्तर उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टिमको छनोटको लागि बोलाइएको थियो । ६ चोटिसम्म प्रयास गर्दा पनि उनी अन्तिम २३ को लागि छ्नोट हुन सकेनन् । उनी कहिले २५ औं नम्बरमा पर्थे, त कहिले २७ औं नम्बरमा ।

उनलाई त राम्रै गरेको जस्तो लाग्थ्यो। तर पटक पटक प्रयास गर्दा पनि टिममा नपर्दा ‘अब प्रयासै नगरौँ’ भन्ने लाग्न थाल्यो । ‘नेपाली राष्ट्रिय टिममा पर्न नातावाद कृपावादले प्रभाव पार्छ’ भन्ने हल्लाको प्रभाव उनमा पनि परेको थियो।

पछिल्लो पटक पनि नवयुगलाई छनोटको लागि बोलाइयो। ‘अब अन्तिम चोटि प्रयास गर्छु’ भनेर गएका उनी सफल भए । २०७२ मा राष्ट्रिय टिमका लागि छनोट हुन सफल भए। उनले नेपालको जर्सी लगाएर २०७२ सालमै राष्ट्रिय टिमका लागि डेब्यु गरे । भारत विरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका उनी त्यसयता राष्ट्रिय टिममा पर्दै आएका छन् ।

राष्ट्रिय टिममा नवयुग श्रेष्ठको प्रवेशपछि नेपाली फुटबलमा साँच्चै नै नयाँ युग अर्थात् ‘नव युग’ कै सुरुवात भयो।

नेपालले सन् १९९३ मा साग फुटबल जितेपछि लामो समयसम्म उपाधि जित्न नसकेर उपाधिको खडेरी बेहोरिरहेको थियो। त्यति मात्रै होइन, राष्ट्रिय टिमबाट गोल गर्न नसकेको पनि धेरै भएको थियो । सन् २०१६ मा नेपाली टिम ‘बंगबन्धु कप’ खेल्न बंगलादेश पुगेको थियो । उक्त प्रतियोगितामा नवयुगको उत्कृष्ट प्रदर्शनको प्रेरणामा नेपालले उपाधि जितेको थियो । नवयुग प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्ता बन्न सफल भएका थिए। त्यो प्रतियोगितामा उनले चार गोल गरेका थिए।

बंगबन्धु कप खेलेको ठीक दुई सातापछि नेपाली टिम साग फुटबल खेल्न भारत प्रस्थान गरेको थियो । उक्त प्रतियोगिता पनि नेपालले नै जित्न सफल भयो । यस प्रतियोगितामा नवयुगले गरेको प्रदर्शनले एक चोटि सिङ्गो दक्षिण एसियाली फुटबलमै एक हिसाबको हलचल आएको थियो। यस प्रतियोगितामा उनी सात गोल गरेर उच्च गोलकर्ता चुनिएका थिए भने सर्वोत्कृष्ट खेलाडी पनि उनी नै घोषित भए ।

साग फुटबल जित्नु र फाइनलमा भारतलाई उसकै घरमा हराउनुलाई उनी जीवनको सबैभन्दा अविष्मरणीय क्षणको रुपमा व्याख्या गर्छन् ।

फाइनलमा भेट पक्का भएपछि नेपाली टिमले भारतलाई जसरी पनि हराउनुपर्छ भनेर दृढ अठोट गरेको थियो । २०१५ मा नेपालमाथि गरेको नाकाबन्दीको बदला भारतीय टिमलाई पराजित गरेर लिनुपर्ने भन्दै सबै खेलाडी जोसिएका थिए।

फाइनल खेल सुरु भयो । तर खेलमा भारतले पहिलो गोल गर्यो। ‘जसरी पनि भारतलाई जित्नु पर्छ, गोर्खालीपन देखाउनु पर्छ भन्दै कोही पनि नआत्तिकन खेल्यौँ’ उनी सम्झन्छन्, ‘खेल अन्तिमतिर पुग्ने बेलापनि हामी १–० ले पछि थियौँ, तर त्यो स्थितिलाई उल्ट्याएर नेपाललाई २–१ को जीत दिलाउँदै हामी नै विजयी भयौँ ।’

फाइनल खेलमा दोस्रो एवं बिजयी गोल नवयुगले नै गरेका थिए। अहिले पनि उनी भारत विरुद्धको फाइनल खेलमा उसकै घरमा उसैलाई हराएर उचालेको उपाधि, अनि गरेको गोललाई ‘नाकाबन्दीको बदला’ को रुपमा परिभाषित गर्छन् ।

पछि जब ट्रफी र मेडल वितरण गर्ने समय आयो, ‘प्राविधिक गडबडी’ भन्दै नेपाली राष्ट्रिय गान रोकियो । उनकै भनाईमा, त्यो बेला आफूहरुले नै राष्ट्रिय गान गाएर भारतीय रंगाशाला गुन्जयमान गरेको क्षण उनको जीवनको सबै भन्दा प्रिय क्षण हो ।

‘सकिन्जेल खेल्ने र खेल्ने ऊर्जा सकेपछि पेट पाल्न पलायन हुनैपर्ने बाध्यता छ। हरेक खेलाडी सुरुमा देशको लागि खुसी भएर मैदानमा प्रवेश गर्छ। मैदान छाड्ने बेलाचाहिँ खिन्न हुँदै बिदा हुनुपर्ने स्थिति छ’

त्यसपछि २०१६ को अन्त्यतिर नेपाल एएफसी सोलिडारिटी कप खेल्न मलेसिया पुगेको थियो । यस प्रतियोगिता पनि नेपालले नै जितेको थियो। यससँगै नेपालले सन् २०१६ का लागि लगातार तीन उपाधि जितेको थियो । लामो समयसम्म उपाधि खडेरीबाट गुज्रिरहेको नेपालले त्यसबेला उपाधि वर्षा नै गर्न सफल भएको थियो । यसरी नेपालले लगातार तीन उपाधी जितेका बेला टिममा महत्वपूर्ण सदस्यको रुपमा रहन पाउँदा आफूलाई सबै भन्दा गर्व लाग्ने बताउँछन् उनी ।

यद्यपि राज्यको तर्फबाट फुटबललाई मात्र नभई हरेक खेललाई नै उचित वातावरण प्रदान नगरिएको गुनासो छ नवयुगको । ‘आधारभूत आवश्यकता पूरा गर्ने नाममा रंगाशाला निर्माणले मात्रै खेलाडीको क्षमता वृद्धि हुँदैन’ उनी भन्छन्, ‘यसका लागि नियमित प्रशिक्षण र प्रतियोगिता समेत आवश्यक छ।’

खेलाडीले खेल क्षेत्रमै लागेर आफ्नो भविष्य सुनिश्चित हुने आधार तयार गरेमात्रै नेपालले खेल क्षेत्रमा फड्को मार्न सक्ने उनको धारणा छ ।

एउटा खेलाडी भएर व्यवस्थापन निकायको खराब व्यवहार र आचरणविरुद्ध कुनै आवज उठाउन नसकेर आफूहरु पटक पटक निरीह बन्नु परेको दुखेसो उनी सुनाउँछन् ।

कसैले व्यवस्थापन निकायको कमी–कमजोरी र खेलाडीहरुको दुख–अभावको बारेमा बोल्दा टिममा नपार्नेसम्मको चलखेल देखेका छन् उनले। त्यसैले, जे–जस्तो छ, त्यसैमा चित्त बुझाउने बानी परेको बताउँछन् उनी ।

‘भ्रष्टाचारको मतलब घुसखोरी चल्नु मात्रै होइन, कुनै पद धारण गरेपछि त्यस पदको भूमिकालाई न्याय नगर्नु पनि भ्रष्टाचार हो, खेलकुदको माथिल्लो निकायमा बसेर खेल क्षेत्र र खेलाडीको आवश्यकता अनुसार काम नगर्नु र समस्याको सुनुवाइ नगर्नु अनि समाधान नगर्नु पनि एक खालको भ्रष्टाचार हो’ उनी भन्छन्, ‘खेलाडीहरु पलायन हुनुको मुख्य कारण पनि यही हो ।’

देशको लागि एउटा खेलाडीले जीवनको उर्जाशील समय फुटबल खेलेर बिताउने भएपनि फुटबल व्यावसायिक बन्न नसक्दा र अन्य कुनै ढंगबाट खेलाडीको लागि उचित व्यवस्था नहुँदा खेलाडीहरु हतोत्साही बन्न पुगेको बताउँछन् ।

‘सकिन्जेल खेल्ने र खेल्ने ऊर्जा सकेपछि पेट पाल्न पलायन हुनैपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘हरेक खेलाडी सुरुमा देशको लागि खुसी भएर मैदानमा प्रवेश गर्छ’ नवयुग भन्छन्, ‘मैदान छाड्ने बेला चाहिँ खिन्न हुँदै बिदा हुनुपर्ने स्थिति छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट