कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मका लागि संसद बैठक स्थगित-Sutra News

कांग्रेसको अवरोधपछि जेठ १ गतेसम्मका लागि संसद बैठक स्थगित

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार बसेको दोस्रो चरणको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।



शुक्रबार बसेको बैठक बजेट अधिवेशनको पहिलो बैठक थियो । तर, कांग्रेसको अवरोधपछि बैठकको औपचारिक उद्घाटन नै हुन पाएन ।

यसअघि सभामुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट पठाएको पत्रलाई बाचन गर्दै बैठकलाई औपचारिकरुपमा उद्घाटन गर्ने तयारी गरेका थिए । तर, कांग्रेसको अवरोधपछि बैठक स्थगित गर्न बाध्य बने ।

यद्यपि, दोस्रो पटक बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि सभामुखले दिन नै तोकेर बैठक स्थगित गरेका हुन् ।

आजको दोस्रो बैठकमा सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए । तर, कांग्रेसले बेल घेराउ गर्दै सम्बोधन गर्न अवरोध गरेको थियो ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । कांग्रेसले स्पष्ट रुपमा छानबिन समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने बताएको छ ।

यसअघिको हिउँदे अधिवेशनका तीन वटा बैठकहरु पनि कांग्रेसको अवरोधका कारण स्थगित भएका थिए । सरकारले अवरोधलाई छिचोल्न नसकेपछि अधिवेशन नै अन्त्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट