१३ खर्बको आयात हुँदा एक खर्ब २६ अर्बको सामान निर्यात-Sutra News

१३ खर्बको आयात हुँदा एक खर्ब २६ अर्बको सामान निर्यात

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।



भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कूल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ ।

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट