

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका २ घर भई ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्वर साह, सप्तरी अगाइनसाइर कृष्ण शवरण गाउँपालिका ३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका ६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।
पक्राउमध्ये धनेश्वरले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै पीडितबाट एक लाख रूपैयाँ र भविन्द्रनाथले मौरिसस पठाइदिन्छु भन्दै दुई लाख ७२ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले धनेश्वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।