सरकारविरुद्ध आक्रामक बालेन साहः बिहान ओलीमाथि खनिए, साँझ गृहमन्त्री लामिछानेलाई चेतावनी-Sutra News

सरकारविरुद्ध आक्रामक बालेन साहः बिहान ओलीमाथि खनिए, साँझ गृहमन्त्री लामिछानेलाई चेतावनी

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । संसदमा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी छानविनको विषयलाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता पक्षलाई आछुआछु बनाइरहेका बेला काठमाडौं महानगरका मेयर बालेन साह पनि सरकारविरुद्ध खनिएका छन् ।



सोमबार बिहान केपी ओलीमाथि खनिएका उनी साँझ गृहमन्त्री लामिछानेमाथि सोसियल मिडिया अट्याकमा उत्रिएका हुन् । सरकारले महानगरका फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेपछि मेयर साहले फेरि सिंहदरबारसहित पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका हुन् ।

‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ बालेनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर उठ्दैन, को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन ।’

ट्राफिक नियम उल्लंघनको विषयलाई लिएर प्रहरीले चार जना चालकलाई पक्राउ गरेको महानगर श्रोतको भनाइ छ । यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसँग सम्पर्क गर्न खोज्दा प्रवक्तासँग सोध्नु पर्ने भन्दै पन्छिए ।

बालेनले यसअघि ०७९ चैत २५ गते पनि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । त्यतिबेला आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनु परेको उनको भनाइ थियो । त्यतिबेला आफूले गरेका सुधारका प्रयास र सरकारी निकायबाट भएका बेवास्ताका १४ उदाहरण नै सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।

त्यसो त सोमबार बिहान मात्रै बालेनले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजे त्यसरी नै १०१ कम्पनीको नाम सार्वजनिक गर्दै सरकार र यो प्रकरणमा मुछिएका सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर बालेनले गिरिबन्धुलाई जग्गा सट्टा भर्ना गर्दै बेच्न दिने भनेपछि अरू १०० भन्दा बढी कम्पनीले गिरिबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनु पर्ने भन्दै निवेदन हालेको बताएका हुन् ।

‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आंकलन गरिएको छ, सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ, तर बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्, उनीहरूको स्वर घटेको छैन,’ उनले भनेका छन् ।

बिचौलियाहरू कानून नै परिवर्तन गर्न कुरेर बसेको बालेनका दाबी छ । ‘यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ, जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बीमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमिटर रेलको लिक बन्ला, देशले ऋण नै लिन नपर्न सक्ला,’ मेयर बालेनले लेखेका छन् ।

दायाँबायाँ नसोची र सरकार भत्केला कि भन्ने विषयमा नडराइकन तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता रहेको बालेनको भनाइ छ ।

‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ, त्यो गरीहालौँ, अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ, त्यो रकम करोडौं हुन सक्छ, ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरूविरुद्ध ठगी उजुरी सुरू गरौँ,’ उनले भनेका छन् ।

गिरिबन्धुजस्तै सट्टा भर्नाका लागि निवेदन दिनेमा केपी ओली ट्रस्ट, पाँचथरको रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट, पाँचथरकै केशरी चिया बगान, इलामको ओमटी गार्डेन प्रालि रहेको मेयर बालेनले स्टाटसमार्फत दाबी गरेका छन् ।

बालेन सरकारमाथि खनिएको यो पहिलोपटक होइन । उनी बेलाबेला सरकारमाथि आक्रोशित रुपमा प्रस्तुत गरेका छन् । यसअघि आफ्नो श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबारमै आगो लगाइदिने धम्की दिएका थिए ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु,’ ०८० भदौ १६ गते उनले फेसबुकमा स्टाटस लेखेका थिए ।

सार्वजनिक बिदाको दिन सरकारी नम्बरको प्लेट भएको सवारी साधन चलेको देखेपछि काठमाडौं महानगरको गाडी कोटेश्वर ट्राफिक प्रहरीले रोकेको थियो । त्यतिबेला मेयर शाहकी गर्भवती श्रीमती अस्पताल गइरहेको अवस्थामा गाडी रोकिएपछि साह आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट