गगनलाई गिरफ्तार नगरे रवि लामिछाने देशद्रोही ठहरिन्छन्- भीम रावल-Sutra News

गगनलाई गिरफ्तार नगरे रवि लामिछाने देशद्रोही ठहरिन्छन्- भीम रावल

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा एमाले नेता डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनु पर्ने बताएका छन् ।



उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिमा केन्द्रीत भएर नेता रावलले गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका हुन् ।

नेता रावलले देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाए गृहमन्त्री लामिछानेलाई बरखास्त गर्नु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘राज्यका सूचना बेच्नु देशद्रोह हो, यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्, यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकाले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस्, यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन्, निजलाई प्रधानमन्त्री प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नु पर्छ ।’

गृहमन्त्री लामिछानेले थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसदमा प्रस्तुत गरेको बताउँदै उनले ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट