‘मनसरा’लाई विशेष शोमा प्रशंसा, पहिलो सातामा तीन करोड २० लाख कमायो-Sutra News

‘मनसरा’लाई विशेष शोमा प्रशंसा, पहिलो सातामा तीन करोड २० लाख कमायो

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । फिल्म ‘मनसरा’ दोस्रो साता प्रवेश गरेको छ । गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले पहिलो सातामा राम्रो व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ ।



दर्शकबाट पाएको वर्डअफ माउथका कारण फिल्मले राम्रो साथ पाइरहेपनि बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न भने सकेको छैन । यो फिल्मले एक हप्तामा ३ करोड २० लाख कमाएको निर्माण टिमको दाबी छ ।

यसैबीच, फिल्मले दोस्रो सातामा प्रवेश गरेको पूर्वसन्ध्यामा बिहीबार बिशेष शोको आयोजना गरिएको थियो । बिशेष शोमा ‘मनसरा’ हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी लगायत उपस्थित थिए ।

पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष लिङदेनले फिल्म हेरिसकेपछि प्रशंसा गरेका गर्दै ‘मनसरा’ हेर्न लायक भएको बताए ।

अध्यक्ष लिङदेनले भने, ‘निर्देशक उपेन्द्र सुब्बाले मेहनल गर्नु भएको छ । नेपालको जुन जातिय र सांस्कृतिक विभिदता छ, त्यसलाई एउटा सिनेमामा जोड्ने कोसिश गर्नु भएको छ । समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातिय, सांस्कृतिक अनि हाम्रो चाइने प्रचलनहरु थिए भन्ने कुरा समेत मनसराले बुझाउन मदत गरेको छ।’

गायक तथा कलाकार सपुतले फिल्म एउटा किताब पढे जस्तो अनुभव सेयर गर्दै उनले भने,  ‘फिल्म एकदमै स्मुथ र एउटा राम्रो किताब पढे जस्तो लागेको अनुभव गरे । फिल्म हेर्दा मज्जा आयो, मनसरा जस्तो फिल्मले अझबढि जीवन्त बनाउनका साथै जीवनसँग जोड्नको लागि भुमिका खेल्ने छ ।’

अभिनेत्री रेजिना उप्रेती फिल्मको प्रशंसा गर्दै प्रवीण खतिवडाको फ्यान नै भएको बताइन् । उनले भनिन्, ‘फिल्म एकदमै राम्रो छ । समाजकै कथालाई उठाइएको छ । एउटा विषयमा साह्रै राम्रोसँग कथा भनिएको छ, सबैभन्दा बढी मन परेको चाहिँ प्रवीण खतिवडाको अभिनय हो, म त उहाँको फ्यान भएँ ।’

पूर्वमिस नेपाल खड्गीले पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिँदै फिल्मलाई ‘अनपेक्षित’ भनेकी छन् ।

फिल्ममा दयाहाङ, मिरुना मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट