रवि र समृद्धि भन्छन्- पहिलो फिल्ममै चर्चित कलाकारसँग देखिन पाउँदा खुसी छौँ-Sutra News

रवि र समृद्धि भन्छन्- पहिलो फिल्ममै चर्चित कलाकारसँग देखिन पाउँदा खुसी छौँ

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । फिल्म ‘फर्की फर्की’ यही बिहीबारबाट प्रदर्शनमा आउन लागेको छ । यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले र समृद्धि अर्याल प्रमुख भूमिकामा छन् ।



यही फिल्मबाट रवि र समृद्धिले डेब्यू गर्दै छन् । रवि पेशाले इञ्जिनियर हुन् भने समृद्धि भारतमा अभिनयको अध्ययनसँगै हल्काफूल्का मोडलिङ र केही छोटा फिल्ममा काम गरेकी हुन् । ‘फर्की फर्की’बाट नेपाली फिल्ममा पाइला चाल्न लागेका उनीहरु फिल्मलाई लिएर निकै उत्साहित छन् ।

रवि ‘फर्की फर्की’मा अभिनेता अनमोल केसीको साथी सुबास’को भूमिकामा देखिँदै छन् । उनी भन्छन्, ‘फिल्ममा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । फिल्ममा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । फिल्ममा अभिनय गर्ने इच्छा थियो । तर, सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु ।’

‘हाम्रो फिल्म विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ । मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ । आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पूरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको’, उनी बताउँछन् ।

रविको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो । मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो फिल्म रहेको रवीको भनाइ छ । ‘फिल्म हेर्न आउने दर्शकले मेरो क्यारेक्टर मात्र नभई हरेक क्यारेक्टर रिलेट गर्न सक्नुहुन्छ । किनकी उहाँहरुको जीवनमा साथी र परिवार हुन्छ । उहाँहरुसँग हाम्रो आ-आफ्नो सम्बन्ध हुन्छ । त्यो सम्बन्धभित्रको उतारचढावहरु छन् । उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा फिल्ममा देखाइएको छ’, उनी भन्छन् ।

यता, समृद्धि आफ्नो कामबाट खुशी रहेको बताउँछिन् । नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् । उनी भन्छिन्, ‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदै छु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु ।’

समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक रहेको बताउँछिन् । निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए । ‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाइ अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो । म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन । मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ, अनि छानिएँ’, उनले भनिन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको फिल्म ‘फर्की फर्की’ मा सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको छ । रोहित अधिकारी फिल्मका प्रस्तुतकर्ता हुन् । फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, मनोज वली र अरुण रिजाल र सह–निर्माता रामु न्यौपाने हुन् । यो फिल्मले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट