राष्ट्रपतिलाई ओलीको प्रश्न : कसका मान्छेलाई जागिर खुवाएको ?-Sutra News

राष्ट्रपतिलाई ओलीको प्रश्न : कसका मान्छेलाई जागिर खुवाएको ?

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

काठमाडौं । नेकपा (एमाले)को संसदील दलको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिबारे चर्चा भएको छ । दलको बैठकलाई सम्बोधनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका सल्लाहकारको भनाईप्रति आपत्ति जनाएका छन् ।



राष्ट्रपतिको आर्थिक सल्लाहकारको जिम्मेवारीमा रहेको नेपालले सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेकोमा विरोध जनाएका छन् । सरकारको अपरिपक्क निर्णय भन्दै उनले त्यस निर्णयले नेपाल–भारत सम्बन्धमा समस्या ल्याउनसक्ने बताएका थिए ।

सल्लाहकारको उक्त अभिव्यक्तिको विरोध गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिले जवाफ दिनुपर्ने बताएका छन् । “राष्ट्रपतिजीले सुन्नु भएको छ कि छैन ? छैन भन्ने यही भनाइबाट सुन्नुस्”, बैठकलाई सम्बोधनका क्रममा ओलीले भने, “राष्ट्रपतिजी के भन्नुहुन्छ ? राष्ट्रपतिको आवाज हो कि होइन ? हामी सोध्न चाहन्छौं ।”

उनले राष्ट्रपतिले विवादित अभिव्यक्ति दिने सल्लाहकारलाई बर्खास्ती गर्नुपर्ने बताएका छन् । “सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ?”, ओलीले प्रश्न गरेका छन् ।

बैठकलाई सम्बोधनका क्रममा ओलीले हरेक नोट र सिक्कामा नयाँ नक्सा राख्न पनि सरकारलाई सुझाव दिएका छन् । “हात्ती, गैंडा के–के राख्नुपर्छ, राखौं, फ्रन्ट वा पृष्ठभागमा अनिवार्य रुपमा नयाँ नक्सा पनि राख्नुस्”, ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट