अशोक राई एमालेमा फर्किएलान् ?-Sutra News

अशोक राई एमालेमा फर्किएलान् ?

शुक्रबार, २८ बैशाख २०८१

शुक्रबार, २८ बैशाख २०८१

पछिल्ला राजनीतिक घटनाक्रम र दलहरुको गतिविधि हेर्दा अशोक राई नयाँ गठन भएको पार्टी जनता समाजवादी पार्टी (जसपा) लिएर नेकपा (एमाले)मा समाहित नहोलान् भन्न सकिन्न । साना दलहरुको अस्तित्वको संकट, ठूला दलहरुको ‘८४’ बाट ठूलो शक्ति बन्ने रणनीति, उपनिर्वाचनले दिएको सन्देश आदिले पनि साना दल ठूला दलप्रति आकर्षित हुने सम्भावना छ ।



त्यसो त निर्वाचन आयोगमा दल दर्ता गर्दै गर्दा अशोक राई समूहले गठबन्धन फोड्ने षडयन्त्रविरुद्ध स्थायीत्वको पक्षमा कदम चालेको भनेको थियो । तर पछिल्लो समयसम्म आउँदा उसले बोली फेर्न थालेको छ, पछिल्ला दिनमा उपेन्द्र यादवसहित जसपा नेपालका नेताहरु आउँदो महाधिवेशनमा पार्टी कब्जा गर्ने उद्देश्यले जथाभावी सदस्यता वितरण गरेकोले आफूहरु अलग भएको बताउन थालेको छ । यद्यपि, राई समूहले सार्वजनिकरुपमा भनेका यी मात्र कारण नहुन सक्छन् । धेरै कारणहरुमध्ये निकट भविष्यमा दलहरुबीचको ध्रुविकरणको पूर्वतयारी पनि एउटा कारण हुन सक्ने अनुमान लगाउन गाह्रो छैन ।

सरकारबाट बाहिरिनुपरेको अवस्थामा जसपा जस्तो भर्खर गठन भएको दललाई अस्तित्व धान्नै मुश्किल पर्छ भन्ने कुरा नबुझ्ने नेता होइनन्, अशोक राई । उनीसँग कुनैबेला एमाले जस्तो संगठनको प्रभावशाली नेता भएको मात्र होइन, पार्टी फुटाएर हुँदो रहेनछ भन्दै मालेबाट एमालेमा फर्किएको अनुभव पनि छ । पहिचानको मुद्दा बोकेर फेरि एमालेबाट अलग भई गठन गरेको संघीय समाजवादी पार्टी धान्न नसकेर उपेन्द्रसँग मिल्न गएको पनि दशक कटेको छैन । त्यसैले ८४ सम्म पुग्दा जसपाको भविष्य के होला, उनलाई राम्रोसँग थाहा छ ।

पार्टी विभाजन र पछिल्ला घटनाक्रमहरुमा केन्द्रित रहेर अशोक राईसँग हालै सूत्र न्यूज टिमले सूत्र बहसका लागि कुराकानी गरेको थियो । अन्य प्रकृतिका प्रश्नहरुमा सामान्य रुपमा जवाफ दिइरहेका राई एमालेको सन्दर्भमा आउने बित्तिकै रोमाञ्चित भएका थिए ।

“एमालेमा फर्कन पार्टी फुटाउनुभएको हो ?” भन्ने प्रश्नमा उनले स्पष्ट रुपमा फर्कने कुराको खुलासा त गरेनन् तर, २०७९ को निर्वाचनमा एमालेले नै जिताएको स्मरण गरे । त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको साथ र सुनसरी–१ का एमाले नेता कार्यकर्ताको त्यागको खुलेर प्रशंसा गरे ।

संयोग पनि कस्तो छ भने एमालेमा रहँदा प्रत्यक्ष चुनाव जितेका अशोक राई १९ वर्षपछि एमालेको सहयोग प्राप्त गरेपछि मात्र प्रत्यक्ष चुनाव जित्न सके । बीचमा उनी समानुपातिक सांसद बनेका थिए । ०७४ को चुनावमा कांग्रेसको साथ पाउँदासमेत उनी एमालेका उम्मेद्वार आफ्नै राजनीतिक चेला जयकुमार राईबाट २२ हजार बढीको मतान्तरले पराजित भएका थिए ।

सूत्रसँगको कुराकानीमा उनले आफ्नो पार्टीलाई अगाडि बढाउने नै संकेत गरे । तर, राजनीति भनेको सम्भावना हो भन्न चाहिँ छुटाएनन् ।
एमाले छोड्दा उनलाई साथ दिएका प्रभावशाली नेताहरु हेमराज राई, केशव स्थापित, विजय सुब्बा एमालेमै फर्किसकेका छन् । अजम्बर काडमाड राई माओवादी तिर लागे । अन्य केही नेता अन्य पार्टीतिर गएका छन् । उनले यसको पनि समिक्षा गर्ने बताएका छन् ।

घुमाउरो शैलीमा राईले दिएको जवाफलाई हेर्दा, उनी जुनसुकै बेला समीक्षा गर्ने अवस्थामा छन् । यसको अर्थ छिट्टै एमालेसँग सहकार्यको हात अगाडि नबढाउलान् भन्न सकिन्न । हाल राईलाई साथ दिएर आएका मुख्य नेताहरु पनि कुनै पनि एमालेकै जिम्मेवार नेता थिए ।

अर्कोतर्फ, राईले कट्टर पहिचानको नारालाई त्यागेका छन् । उनले सबैको पहिचानको रक्षा गर्न आवश्यक रहेको भन्दै निश्चित समूहको वकालत छाड्ने संकेत गरेका छन् ।

बदलिएको भाषासँगै कट्टर पहिचानवादी समूहले पनि राईलाई छाडेको छ । राईले बेग्लै पार्टी गठन गरेसँगै डा. महेन्द्र लावतीको नेतृत्वमा पहिचान वादी मोर्चा गठन भएको छ । उनीहरुले पनि राईले पहिचानको एजेन्डालाई तिलाञ्जली दिएको आरोप लगाएका छन् ।

डा. लावती समूहको आरोप राईको लागि नयाँ राजनीतिको बाटो हुनसक्छ । जीवनको उत्तरार्ध र फेरिएको राजनीतिक परिस्थितिको राम्रो मूल्यांकन गरेका राई एमालेको छत्र छायाँमा फर्किन्नन् भन्न सकिन्न । किनकी राईले उपनिर्वाचनको राम्रो समीक्षा गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट