अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोको सय गोल पूरा, पछ्याउँदै मेस्सी-Sutra News

अन्तर्राष्ट्रिय खेलमा रोनाल्डोको सय गोल पूरा, पछ्याउँदै मेस्सी

बुधबार, २४ भाद्र २०७७

बुधबार, २४ भाद्र २०७७

काठमाडौं- पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गरेका छन्। यससँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा सय गोलको पार गर्ने दोस्रो खेलाडी बनेका छन्।



उनीभन्दा पहिला इरानका अलि दाइले १ सय ९ गोलसहित यो रेकर्ड कायम गरेका थिए। ‘गोल मेसिन’ रोनाल्डो अब अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता बन्नलाई अब ९ गोलले टाढा छन्।

बुधबार बिहान भएको युइएफए नेसन्स लिगअन्तर्गत स्विडेन विरुद्धको खेलमा रोनाल्डोले ४५ औँ मिनेटमा फ्रि किकबाट सुन्दर गोल गर्दै सय गोलको आँकडा पूरा गरेका थिए। उनको उक्त गोल करिअरकै ५७ औँ फ्रि किक गोल रहेको थियो भने पोर्चुगलका लागि १० औँ फ्रि किक गोल हो।

रोनाल्डोले दोस्रो हाफको ७२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सय गोलको ऐतिहासिक कोसेढुंङ्गा पार गरेका थिए। उनी सक्रिय फुटबल खेलाडीहरूमध्ये सय गोलको आँकडा पूरा गर्ने एक्ला खेलाडी हुन्। रोनाल्डोका खास प्रतिद्वन्द्वी मानिने अर्जिन्टिनी लियोनल मेस्सीले हालसम्म जम्मा ७० गोल गरेका छन्।

सन २००४ मा आफ्नो अन्तर्राष्ट्रिय गोलका खाता खोलेका रोनाल्डोले १ सय ६० खेल सय गोल पार गर्न सफल भएका हुन्। पोर्चुगल एवं सिंगो युरोपका सर्वाधिक गोलकर्ता रोनाल्डोले करिब १० महिनापछि खेलेको अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्दै सानदार रेकर्ड राख्न सफल भए।

३५ वर्षीय रोनाल्डोले सन् २०१९ मा लग्जेमबर्गबिरुद्ध ९९ औँ गोल गरेपछि उनको यात्रा रोकिएको थियो। र, बिचमा कोरोना महामारीले गर्दा उनलाई यो रेकर्ड पार गर्न १० महिनाको समय कुर्नु पर्यो।

गत साता मौरीले खुट्टामा टोकेर घाइते भएका रोनाल्डोले नेसन्स लिगअन्तर्गत क्रोयशिया विरुद्धको खेल गुमाएका थिए भने १० महिनापछि मैदान फर्किएका कीर्तिमानका भोका रोनाल्डोले लामो समयपछि मैदान फर्केर आफ्नो कीर्तिमानको भोक मेटाएरै छाडे।रोनाल्डोको टिम पोर्चुगलले गत वर्षको नेसन्स लिग जितेको थियो।

फाइनलमा नेदरल्यान्डसलाई हराँउदै यो उपाछि जितेको पोर्चुगल यसपालि आफ्ना कीर्तिमानी खेलाडी रोनाल्डोको उत्कृष्ट प्रदर्शनको प्रेरणामा उपाधि रक्षा गर्ने दाउमा छ।

रोनाल्डोले आफ्नो १ सय गोलको आँकडा पार गर्ने क्रममा ४१ राष्ट्रविरुद्ध गोल र ९ राष्ट्र विरुद्ध ह्याट्रीक गोल गरेका छन्।

कुनै समय पोर्चुगलका उच्च गोलकर्ता पाउलेताको ४७ गोलको रेकर्ड भङ्ग गर्न मुस्किल हुने बताइन्थ्यो। तर, कीर्तिमानी रोनाल्डोले पोर्चुगलका लागि खेल्न थालेपछि उक्त रेकर्ड चाँडै भङ्ग मात्रै भएनन त्यो रेकर्ड भन्दा दोब्बर संख्यामा रोनाल्डोले रेकर्ड काय गर्न सफल भएका छन्। 

सन २००४ जुन १२ मा ग्रिसविरुद्ध युरोकपअन्तर्गतको खेलमा गोल गरेर खाता खोलेका रोनाल्डोको १ सयौँ गोलको सिकार पनि अर्का युरोपेली राष्ट्र नै बन्न पुग्यो। उनले स्विडेनविरुद्ध गोल गरेर यो रेकर्ड कायम गरेका हुन्।

रोनाल्डोले १ सय गोलको आँकडा पार गर्ने क्रममा ५५ गोल दाहिने खुट्टाले, २२ देब्रे खुट्टाले र २४ गोल हेडिङ मार्फत गरेका छन् भने उनले हालसम्म फ्री किकबाट १०, पेनाल्टीबाट ११ र खुला ढंगले ८० गोल गरेका छन्। र, ४० गोलका लागि पास मिलाइदिएका छन्। हालसम्म अन्तर्राष्ट्रिय खेलमा एउटा पनि रातो कार्ड नखाएका रोनाल्डोले पहेंलो कार्ड भने २३ वटा खाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट