रियल मड्रिडमा सर्जियो रामोसको १५ वर्ष कति सफल ?-Sutra News

रियल मड्रिडमा सर्जियो रामोसको १५ वर्ष कति सफल ?

मंगलबार, २३ भाद्र २०७७

मंगलबार, २३ भाद्र २०७७

खेल पत्रकार रिचार्ड जोलिले भनेका थिए- र्‍यान गिग्सले १ हजार ३१ खेलमा जम्मा एउटा रातो कार्ड पाएका थिए। सर्जियो रामोसले रियल मड्रिडका लागि पाएको रेड कार्ड संख्यासँग बराबरी गर्नका लागि उनले २८ हजार ८ सय ६ खेल खेल्नुपर्छ।



कुनै समय यस्तो थियो जुन बेला सर्जियो रामोस र रातो कार्ड पर्यायावाची जस्तै थिए। फुटबल इतिहासमै धेरै रातो कार्ड पाउने खेलाडीको सूचीमा उनको नाम धेरै अगाडि आँउछ। उनले हालसम्म कुल २६ वटा रातो कार्ड र २ सय २२ ओटा पहेंलो कार्ड पाइसकेका छन्। उनले २६ मध्ये ८ वटा रातो कार्ड सीधै पाएका थिए भने बाँकी दोहोरो पहेंलो कार्ड थिए।

यिनै रामोसले ठीक १५ वर्ष पहिले आजकै दिनमा रियल मड्रिडको लागि डेब्यू गरेका थिए। उनी सेभिल्लाको एकेडेमीबाट उत्पादित खेलाडी हुन्। दुई सिजन सेभिल्लामा बिताएर उनी सन २००५ मा रियल मड्रिड आएका थिए। डेढ दशक लामो समय रियल मड्रिडमा बिताएका रामोसका खराब रेकर्डहरु सबै छायामा परिसकेका छन्। किनभने अहिले उनको नाममा अनगिन्ती उत्साहित फुटबल रेकर्डहरु बनिसकेका छन्।

स्पेनको राष्ट्रिय टिमका लागि सबैभन्दा धेरै खेल खेल्ने उनी एक्ला खेलाडी हुन्। उनले हालसम्म स्पेनको जर्सिमा कुल १ सय ७३ खेल खेलिसकेका छन्। क्लब फुटबलमा कुल ६ सय ९५ खेल खेलेका रामोस रियल मड्रिडका लागि सबैभन्दा धेरै खेल खेल्ने चौंथो खेलाडी हुन्।

खराब रेकर्डबाट गुज्रिएका रामोसलाई अहिले फुटबल इतिहासकै एक सर्वोत्कृष्ट डिफेन्डरको रूपमा परिभाषित गरिन्छ। खेल जीवनका सुरुवाती दिनमा राइटब्याकको भूमिकाबाट करिअर सुरु गरेका रामोस अहिले रियल मड्रिड तथा स्पेनका लागि विकल्पहीन डिफेन्डरको रूपमा स्थापित छन्। अहिले रामोसलाई छलाएर गोल गर्नु कुनै पनि फर्वार्डको लागि कठिन कार्य हो।

फुटबल जगतमा रामोस कहिल्यै हार नमान्ने खेलडीको हुन्। बरू उनी पहेंलो कार्ड अथवा रातो कार्ड खान तयार हुन्छन् तर विपक्षी खेलाडीको खुट्टमा बल स्वतन्त्ररूपमा छोड्न तयार हुँदैनन्। उनी आफू लडेर वा विपक्षीलाई लडाएर होस् जसरी पनि बललाई आफ्नो वसमा पार्न चाहन्छन्। उनको यही प्रवृत्तिले पनि उनलाई कटाएर बल लैजानलाई विपक्षी फरवार्डले सोच्नै पर्ने हुन्छ।

रामोस राष्ट्रिय टिम अथवा क्लव दुबैका लागि पर्फेक्ट डिफेन्डर हुन्। यसमा कसैको पनि दुई मत छैन। तर, पछिल्ला समय उनले आफ्नो गोल कौशललाई निखारेर लगिरहेका छन्। उनी उत्कृष्ट डिफेन्डरका साथै उत्कृष्ट गोलकर्ताका रूपमा पनि स्थापित भइरहेका छन्। हिजो भएको युइएफए नेसन्स लिगअन्तर्गतको खेलमा उनले दुई गोल गरेका थिए। उनले खेलको तेस्रो र २९ औँ मिनेटमा गरेको गोलका मद्धतले स्पेनले युक्रेनमाथि ४–० को प्रभावशाली जित दर्ता गरेको थियो।

पछिल्ला समय फरवार्डहरू स्वयं लगातार पेनाल्टी गोल गर्न चुकिरहेको अवस्थामा उनले लामो समयदेखि पेनाल्टीमा निशाना चुकाएका छैनन्। हालसम्म उनले लगातार २२ वटा पेनाल्टिमा लगातार गोल गरेका छन्। डिफेन्फर भएपनि उनी सन् २०१४ को क्लब वर्ल्ड कपको सर्वाधिक गोलकर्ता बनेर सबैलाई आश्चर्य चकित बनाएका थिए।

रामोस स्पेनिस गरेलु लिग लालिगाको सर्वाधिक गोल गर्ने डिफेन्डर हुन् भने सक्रिय फुटबल खेलिरहेकामध्ये सबैभन्दा धेरै गोल गर्ने डिफेन्डर पनि हुन्। उनले हालसम्म क्लबका लागि कुल एक सय गोलको आंकडा पूरा गरेका छन् भने ३९ गोलका लागि पास मिलाइदिएका छन्। यता राष्ट्रिय टिमका लागि पनि उनले कुल २१ गोल गरिसकेका छन्। डिफेन्डर नै भएता पनि उनी स्पेनिस राष्ट्रिय टिमका आठौँ सर्वाधिक गोल कर्ता हुन्। उनी सबै भन्दा कम उमेरमा स्पेनका लागि एक सय खेल खेल्ने पहिलो खेलाडी समेत हुन्।

३४ वर्षीय रामोसका नाममा अरू पनि व्यक्तिगत रेकर्डहरु छन्। उनी फिफाको टिम अफ दि इयरअर्थात् फिफा प्रो–११ मा डिफेन्डरको तर्फबाट इतिहासकै सर्वाधिक १० चोटि र युइएफए टिम अफ दि इयरमा ८ चोटि पर्न सफल भएका छन्। लालिगामा उत्कृष्ट डिफेन्डरको ५ उपाधि जितेका यिनले क्लव वर्ल्ड कपमा एउटा गोल्डेन बल पनि जितेका थिए भने फिफा वर्ल्ड कप ड«मटिम। २०१० मा समेत पर्न सफल भएका थिए। त्यस्तै युइएफए टिम अफ दि टुर्नामेन्ट २०१२ मा पर्न सफल उनी फिफा केन्फेडेरेशन कप ड्रीम टिम २०१३ मा समेत पर्न सफल भएका थिए।

उनले स्पेनका लागि सन् २००८ को युरोकप, सन् २०१० को विश्वकप र पुनः सन २०१२ को युरोकप जित्न सफल भएका थिए।स्पेनलाई ऐतिहासिक पहिलो विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेका रामोसमा यी उपाधिका सेरोफेरोबाट नै अनुशासन र परिपक्वता देखिन थालिएको थियो। उनले फुटबलमा अब जित्न बाँकी उपाीध् सायदै होलान। देशलाई विश्वकप र युरोकप जस्ता महान् उपाधि जिताउन सफल यी खेलाडीले १५ वर्षमा रियल मड्रीडका लागि कुल २२ वटा उपाधि जितिसकेका छन्।

उनले हालसम्म ४ वटा च्याम्पियन्स लिग, ५ वटा लालिगा, २ वटा कोपा डेल रे, ४ वटा स्पेनिस सुपरकप, ४ वटा क्लब वर्ल्ड कप र ३ वटा युइएफए सुपरकप उपाधि जितेका छन्। डेढ दशक लामो समयसम्म पनि राष्ट्रिय टिममा लगातार पर्नुले पनि सजिलै अनुमान गर्न सकिन्छ कि उनी राष्ट्रिय टिमका लागि कति महत्वपूर्ण खेलाडी हुन्। यति लामो समयसम्म खेलिसकेका रामोसको विकल्पमा अझै पनि मड्रीड र स्पेनीस टिमले नै सोच्नु परेको छैन। उमेर बढे पनि अझै सक्रिय रूपमा उत्कृष्ट फुटबल खेलिरहेका छन्।

रियल मड्रिड तथा स्पेनिस टिम दुबैका कप्तानसमेत रहेका रामोस पछिल्ला समय टिममा आफ्नो उत्कृष्ट नेतृत्व कलालाई पनि देखाइरहेका छन्। स्पेनले युरो कप तथा विश्वकप जस्ता उपाधि जित्नेबेलाका अधिकांश खेलाडीहरू कोहीले सन्यास लिइसकेका छन्। त्यसैगरी कतिपय क्लब फुटबलमा मात्रै सक्रिय छन्। उमेरले ३४ पुगिसकेका रामोसको न गतिमा कमी आएको छ न फुटबल खेल्ने लय मा नै।उनी अझै पनि युवा अवस्थाकोझैँ विपक्षी फर्वार्डसँग दौडिन, ट्याकल गर्न, बल जित्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट