माछापालनमा रम्दै पूर्ववडाध्यक्ष : वार्षिक करोडभन्दा बढी आम्दानी-Sutra News

माछापालनमा रम्दै पूर्ववडाध्यक्ष : वार्षिक करोडभन्दा बढी आम्दानी

बुधबार, ६ असार २०८०

बुधबार, ६ असार २०८०

‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,
किन जानु साइलो दाइ हङकङ र मलाय’



आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौं युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक एक करोड ३० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

२१ वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले आफूसहित अन्य चार जना स्थानीयको सामूहिक लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेका हुन् ।

मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै ३० रोपनी क्षेत्रफलमा तीन करोड लगानीमा सञ्चालित फार्मबाट वार्षिक रुपमा एक करोड ३० लाख भन्दा बढी आम्दानी हुने गरेको उनले बताए । जनप्रतिनिधि बनेसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको दैनिकी माछापालनमा बित्ने गरेको छ ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मा लगायत व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्णरुपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाको सामूहिक लगानीमा पुनः नयाँ फार्म सञ्चालन गरिएको थियो । फर्म व्यवस्थापनको सबै जिम्मा तिमिल्सिनाले लिएका छन् ।

उनका अनुसार फार्ममा अस्थायी र स्थायी गरी कूल ३७ पोखरी छन् । “फार्म सञ्चालनका लागि सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । पछिल्लो समयमा कृषि ज्ञान केन्द्र पर्वतले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ”, उनले भने ।

केही महिनाअघि मात्रै मत्स्य विकास केन्द्रले फार्मको थप स्तरोन्नति गरी पोखरी निर्माणका लागि पाँच लाख सहयोग गरेको थियो । हाल रेम्बो ट्राउट माछा प्रतिकेजी एक हजारमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट