ओली–प्रचण्डलाई उपेन्द्रको शालीन चेतावनी !-Sutra News

ओली–प्रचण्डलाई उपेन्द्रको शालीन चेतावनी !

सिसाका घर सुरक्षित मान्नु भ्रम हो, जुनसुकै बेला फुट्न सक्छ

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । नेपालमा पार्टी विभाजन भइरहँदा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा थिए । उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका उनी सरकारको प्रतिनिधित्व गर्दै राष्ट्रसंघीय विश्व जनसंख्या तथा विकास सम्मेलनमा सहभागि हुन् अमेरिका पुगेका थिए । 



तर, यादव अमेरिकामै रहेको बखत नेपालमा उनी नेतृत्वको पार्टी विभाजित बन्यो । अनौठो विषय, उनी नेपाल नआइपुग्दै दुई दिनको बीचमा विभाजित समूहले नयाँ पार्टीको मान्यता पनि पायो । 

आइतबार साँझ अशोक राईको नेतृत्वमा जनता समाजवादी (जसपा) नेपालको तर्फबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसद नयाँ दल दर्ताको निवेदन बोकेर आयोग पुगेका थिए । जुन निवेदनमाथि सोमबार नै आयोगले निर्णय सुनायो । 

आयोगले राईको निवेदनअनुसार नै जनता समाजवादी पार्टी (जसपा)लाई मान्यता दियो । आयोगले राईलाई सोमबार नै बोलाएर दल दर्ताको प्रमाणपत्र पनि दिएको छ । 

यो सबै घटना घटेपछि मूल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव मंगलबार मात्रै काठमाडौं आइपुगेका थिए । मंगलबार काठमाडौं आएका यादवले बुधबार पत्रकार सम्मेलन राखी पार्टी विभाजनबारे बोले । 

झण्डै १३ मिनेट एकोहोरो सम्बोधन र १२ मिनेट प्रश्नोत्तर गरेका यादवले निकै शालिन भाषामा जवाफ दिए । मुसुमुसु हाँसेर बोलेका यादवले शालिन सम्बोधन गरेपनि शालीन सम्बोधनभित्र निकै आक्रामक चेतावनी दिएका छन् ।

उनले मुख्यगरी सत्ता नेतृत्वकर्ता नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई आफू सुरक्षित छु भन्ने भ्रम नपाल्न स्पष्टरुपमा सुझाएका छन् । “अब भ्रमबाट मुक्त हुनुस्, सिसाको घरमा बसेर अर्काको घरभित्र ढुंगा हान्नु हुँदैन, त्यो ढुंगा फर्केर कहिलेकाहीँ आफ्नै घर चकनाचुर पारिदिन्छ”, पत्रकारको प्रश्नका साहारा लिँदै सत्ता नेतृत्वकर्ता एमाले–माओवादीलाई उपेन्द्रको चेतावनी छ ।

पार्टी विभाजन गराउने र विभाजित समूहलाई दल दर्ताको मान्यता दिने कुरा जसरी विद्युतीय गतिमा भयो, उक्त विषय सुनुयोजित भएको उनको भनाई छ । “जसरी पार्टी विभाजन गराइयो, जसरी विभाजित समूहलाई पार्टीको मान्यता दिइयो, यी सबै घटनालाई हेर्दा सुनियोजित भइरहेको देखिन्छ, तर यो सुनियोजित षडयन्त्रले कसैलाई फाइदा गर्दैन”, उनले भनेका छन् । 

वर्तमान सत्ता समीकरणकै पक्षमा उभिएको बताएका यादवले घुमाउरो शैलीमा कुनै पनि बेला सत्ता समीकरण ढल्ने सक्ने पनि संकेत गरेका छन् । “राजनीतिक अस्थिरता र गलत कारणको पात्र हामी बन्दैनौ, तर अन्यको कारणको जिम्मा हामी लिन सक्दैनौ”, यादवले भनेका छन्, “आजसम्म हाम्रो समर्थन यथावत नै छ, त्यसमा फेरबदल भएको छैन, बाँकी कोर्ष कसरी जान्छ, एक हातले ताली बज्दैन ।”

पैसा खर्चेर पार्टी विभाजन गराएको आरोप

जसपा विभाजन गराउन पैसा र पद बाँडिएको आरोप पनि यादवले लगाएका छन् । सत्ता नेतृत्वकर्तालाई लक्षित गरी उनले यस्तो आरोप लगाएका हुन् । 

“५/७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो, खर्च गरेरै भए पनि पार्टी फुटाए भनेर जुन किसिमको प्रचार गरिएको छ”, उनले भनेका छन् ।

आयोगबाट मान्यता दिलाएपनि पार्टी विभाजन जनताबाट अनुमोदित नहुने कुरा यादवले प्रष्ट्याएका छन् । “ लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्, केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्, कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ, त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छन्”, यादवले भनेका छन् ।

सरकार नछाड्ने, कानुनी उपचार खोज्ने

पार्टी विभाजन गराएकोमा सत्ता नेतृत्वकर्ताविरुद्ध शालीन आक्रामक देखिएका यादवले सरकार भने तत्कालै नछाड्ने बताएका छन् । उनले चुनौति दिने शैलीमा सरकारमा रहिरहने स्पष्ट पारेका छन् । 

“सरकारप्रति जसपाको समर्थन कायमै छ, समर्थन फिर्ता लिने विषयमा सोंचेका छैनौं”, उनले भनेका छन्, “यद्यपि, पछिका परिस्थिति के हुन्छन्, त्यसमा निर्भर हुन्छ ।”

दल विभाजनलाई मान्यता दिने कार्यलाई असंवैधानिक भनेका यादवले कानुनी उपचारमा जाने प्रष्ट्याएका छन् । “नयाँ दल दर्ता असंवैधानिक छ, त्यसको कानुनी हैसियत छैन। त्यसविरुद्ध हामी अदालत जान्छौँ। कानुनी र राजनीतिक लडाइ लड्छौँ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट