पार्टी विभाजन गराउँदै गरेको हल्लापछि झलनाथलाई प्रष्टीकरणको सकस-Sutra News

पार्टी विभाजन गराउँदै गरेको हल्लापछि झलनाथलाई प्रष्टीकरणको सकस

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँगै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)बारे पनि चर्चा चल्यो । सत्ता समीकरणको पक्षमा उभिएका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजन गराउँदै गरेको चर्चाले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा प्राथमिकता पाए ।



जसपा विभाजन लगत्तै विवादले घेरिएको एकीकृत समाजवादीले बैठक नै बसालेर धारणा सार्वजनिक गरेको थियो । एकीकृत समाजवादीले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताएको थियो । सँगै पार्टीभित्र विभाजनको अवस्था नरहेको पनि दाबी गरेको थियो ।

यद्यपि, पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चुनौति दिने शैलीमा झलनाथ खनालका अभिव्यक्तिहरु सतहमा आए । ‘माधवको इच्छाको पछि लागेर पार्टी सति नजाने’ अभिव्यक्ति दिएका खनालले जसपा विभाजनपछि सत्ता नेतृत्वकर्ता मुख्य दलका नेताहरुसँग संवाद पनि गरे ।

जसपा विभाजनलगत्तै अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनसँग खनालले छलफल गरेका थिए ।

खनालको बढ्दो सक्रियतासँगै सञ्चार माध्यममा चर्चा चुलिएको थियो । चौतर्फी चर्चा र विवाद बढेपछि खनाल प्रष्टीकरण दिन बाध्य भएका छन् । खनालले पार्टीभित्रको दबाबपछि “आफू पार्टी विभाजनको पक्षमा नरहेको” प्रष्टीकरण दिएका छन् ।

“केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ, यही सिलसिलामा केहि दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ”, खनालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।”

यद्यपि, सत्ता समीकरणलाई लिएर एकीकृत समाजवादीभित्र देखिएको दुई धारलाई हेर्दा पार्टी सग्लो देखिन्न । जुनसुकै बेला पनि पार्टी विभाजन हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट