ओलीको ‘भेटौं न’ डिप्लोमेसी-Sutra News

ओलीको ‘भेटौं न’ डिप्लोमेसी

सोमबार, २१ असार २०७८

सोमबार, २१ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओली अहिले धेरै कारण चर्चित छन् । बेलाबेलामा उनले आफ्नै पार्टी मात्र होइन, अरू पार्टीका नेताहरूलाई फोन गरेर ‘भेटौं न’ भन्ने गर्छन् । उनको यो ‘भेटौं न’ डिप्लोमेसीले उनको चर्चा अझ बढी हुने गरेको छ ।



ओलीलाई जब आफू कमजोर छु जस्तो लाग्छ, त्यसपछि उनले नेताहरूलाई फोन गरेर भेटौं न भन्ने गरेको राजनीतिक घटनाक्रमले पुष्टि गरेका छन् । पछिल्लो समय उनले आफ्नै पार्टी नेकपा एमालेका नेता माधवकुमार नेपाललाई फोन गरेर भने, ‘भेटौं न !’

गत बिहीवार साँझ उनले करीब २० मिनेट नेता नेपालसँग फोनमा कुरा गरे । कुराकानीका क्रममा पटक-पटक भेट्ने प्रस्ताव राखेका थिए । शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा उनी आफैंले खुलासा गरे – ‘मैले भेटौं न भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०-२५ मिनेट कुरा गरें । भेटौं भन्दा माधवले मान्नुभएन मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो ।’

उनले नेता नेपाललाई भेट्न खोज्नुको कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका नेताहरूले गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गर्नु थियो । प्रतिनिधि सभा विघटनसमबन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइकै चरणमा छ । केही दिनमा फैसला आउने देखिन्छ ।

एमालेकै २३ निवर्तमान सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा परमादेश माग गरेका थिए । ओलीले अदालतबाट आउने सम्भावित फैसलाको ‘ग्र्याभिटी’ महसुस गरेका छन् । आफू कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन् । त्यसपछि उनले नेता नेपाललाई फोन घुमाए – भेटौं न ।

नेता नेपाललाई सार्वजनिक कार्यक्रममै ‘प्रचण्डको पुच्छर’ भनेर अपमान गरेका ओलीले भेटौं न भनेर राखेको प्रस्ताव अस्वीकृत भयो । फेरि पनि ओली नेपाल समूहका नेताहरूसँग सिधै छलफल भने गरिरहेका छन् । सर्वोच्चको फैसलाअघि हस्ताक्षर फिर्ता नलिने नेता नेपालको अडान अहिलेसम्म कायमै छ ।

नेता नेपालले भेट्ने प्रस्ताव अस्वीकृत गरेपनि कार्यदल भने ब्युँतिएको छ । सोमवार एमाले एकताका लागि भनेर गठन गरिएको दश सदस्यीय कार्यदलको औपचारिक बैठक बसेको छ ।  

गत चैत २ गते पनि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘भेटौं न’ भन्दै फोन गरे । नेता नेपाल समूहले राष्ट्रिय भेला बोलाएको थियो त्यतिबेला । विपक्षी गठबन्धनलाई साथ दिंदै आएका नेता नेपालले एमालेको राष्ट्रिय भेला बोलाएपछि ओलीले दबाब महसुस गरे अनि प्रचण्डलाई फोन गरेर भने – ‘भेटौं न ।’

प्रचण्डले पनि आफू पार्टी काममा व्यस्त रहेको भन्दै केही समयपछि फोन गर्ने बताएर उम्के । प्रतिनिधि सभाको पहिलो विघटन (२०७७ पुस ५)पछि ओली र प्रचण्डको एकाध पटक मात्र फोनमा कुराकानी भएको तर दुवै नेता नभेटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगल बताउँछन् । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा भने समूहमा भेटघाट भएको थियो ।

त्यस्तै ओलीले गत मङ्सिर ७ गते कांग्रेस सभापति देउवालाई फोन लगाए । अनि उही पारामा भने – ‘भेटौं न ।’ देउवा र ओलीको त्यही दिन बालुवाटारमा भेट भयो । त्यतिबेला नेकपाको आन्तरिक विवाद चरमचुलीमा पुगेको थियो । ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिलाई बालुवाटारमै बोलाएर भेट्नुलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको थियो ।

ओलीले त्यतिबेला पार्टीभित्रैबाट निकै अप्ठेरो महसुस गरिरहेका थिए । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल सबैतिर ओली अल्पमतमा थिए । त्यतिबेला प्रचण्डसँग ओलीको दिनहुँ भेट हुने गर्थ्यो । तर देउवासँग भएको भेट चर्चाको विषय बनेको थियो ।  

नेकपा फुटिहालेमा देउवासँग मिलेर सत्तामा निरन्तर रहने चाहना ओलीको थियो । त्यसबाहेक संवैधानिक परिषदमा गरिने नियुक्तिका बारेमा पनि ओली र देउवाबीच कुराकानी भयो ।

सत्ता समीकरणमा साथ दिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई पनि ओलीले पटक-पटक बालुवाटार बोलाएरै भेट्ने गरेका छन् । पछिल्लो समय भने भेटघाट पातलिएको स्रोतको दाबी छ ।

सर्वोच्च अदालतले पछिल्लो पटक संसद विघटन भएपछि बिस्तार भएको मन्त्रिपरिषदलाई असंवैधानिक भनेपछि यतिबेला ठाकुर-महतो पक्षसँग सत्ता र एजेण्डा दुवै छैन ।

गत साल साउनमा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेटौं न भन्दै फोन गरे । गौतमले ल तपाईं नै मेरो घरमा आउनुस् भनेपछि ओली सपरिवार गौतमनिवास भैंसेपाटी पुगे । त्यतिबेला गौतमले नेकपा एकताका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । चौतर्फी दबाबमा परेका ओलीलाई उक्त प्रस्तावले त्राण दिएको थियो ।

बालुवाटारमा बसेर निकै चतुरतापूर्वक रणनीति बनाउन सिपालु ओली बेलाबेलामा सार्वजनिक खपतकै लागि भएपनि आफ्ना ‘राजनीतिक दुश्मन’लाई फोन गर्ने गर्छन् । ‘माधवलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’ भनेकै पर्सीपल्ट उनी नेता नेपाललाई फोन गरेर भेटौं न भनेका थिए ।

ओलीकै आग्रहबमोजिम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतका रूपमा ‘रअ’ चिफ सामन्त गोयललाई पठाएका थिए । उनीहरूबीच गत साल कात्तिक ५ गते मध्यरातमा बालुवाटारमा भेटवार्ता भएको थियो । ओलीले राष्ट्रिय राजनीतिमा मात्र होइन, भारतसँगको सम्बन्धमा पनि ‘भेटौं न’ डिप्लोमेसी प्रयोग गरेर देखाइदिए ।

ओलीनिकट मानिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ ओलीलाई केही अप्ठेरो नपरेको दाबी गर्छन् । ‘आउँ न त, भेटौं न त भनेर उहाँले विभाजनउन्मुख भएका नेतालाई भन्नु आफू कमजोर हुनु हो र ?’ तामाङको प्रतिप्रश्न छ ।

तामाङले नेताहरूसँग निरन्तर छलफल गर्नु ओलीको राजनीतिक स्वाभाव रहेको तर्कसमेत गरे । ‘नेकपा हुँदा पनि ओलीले प्रचण्डलगायत नेताहरूलाई किन विभाजनतर्फ जानुहुन्छ, आउनुस् भेटौं भन्ने गर्नुभएको थियो,’ तामाङले भने, ‘अहिले पनि त्यही भन्नुभएको छ । यसमा ओली दबाबमा परेको या कमजोर भएको प्रश्न कहाँनेर छ ?’

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट