विश्व नै खोप विभेदको जोखिममा छः डब्लुएचओ प्रमुख-Sutra News

विश्व नै खोप विभेदको जोखिममा छः डब्लुएचओ प्रमुख

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

पेरिस- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवम् न्यून आय भएका मुलुकबीच कोभिड-१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताका छन् । उनले सोमबार भने, ‘पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीव्र विभेद छ ।’



‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ र यो रंगभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ, पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘न्यून र न्यून–मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’

उनले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर यो खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए । खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

महासचिव घेब्रेससले भने, ‘कतिपय उच्च आय भएका मुलुकहरुले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्, जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।’

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार आगामी छ हप्ताभित्रै आफूसँग रहेको आठ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट