मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लियो-Sutra News

मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लियो

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं- साविक विजेता मुम्बई इन्डियन्स तेस्रो जीत निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।



आइतबार साँझ सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। जितका लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनमात्रै बनाएको थियो। हैदराबादलाई अन्तिम दुई ओभरमा ४७ रन आवश्यक पर्दा नै उसको लागि जित टाढिसकेको थियो।

मुम्बईका लागि १९औं ओभरमा जस्प्रित बुमराहले २ विकेट लिदै १० रनमात्र खर्चेपछि हैदराबादको जीत झनै टाढिएको थियो। अन्तिम ६ बलमा ३७ रन चाहिएको थियो। तर बलिङ गर्न आएका पोलार्डले २ रनमात्रै दिए। उनले पहिलो बलमा राशिद खानलाई दुई रन दिएका थिए। पोलार्डले अन्य पाँच बल लगातार डट राख्दै जीत पक्का गरे।

हैदराबादका कप्तान डेभिड वार्नरले सर्वाधिक ६० रनको योगदान दिए पनि जीतको लागि पर्याप्त रहेन। जेम्श प्याटिनसनको १६औं ओभरको चौथो बलमा इशान किशनले उत्कृष्ट क्याच लिएपछि हैदराबाद विचलित भएको थियो। वार्नरले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

पाँचौं ओभरको पहिलो बलमा ट्रेन्ट बोल्टले हार्दिक पान्ड्याबाट ओपनर जोनी बेयरस्टो २५ रनमा क्याच आउट गराए। बेयरस्टोले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे। दशौं ओभरको पाँचौ बलमा जेम्श प्याटिनसनले काइरन पोलार्डबाट मनिष पान्डेलाई ३० रनमा क्याच आउट गराए। पान्डेले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

१३औं ओभरको दोस्रो बलमा केन विलियम्सन विकेटकिपर क्विन्टन डी ककबाट ३ रनमा क्याच आउट हुन पुगे। क्रुनाल पान्ड्याको १५औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका प्रियम गर्गलाई राहुल चहलरले उत्कृष्ट क्याच लिँदै ८ रनमा पेभिलिएन फर्काएका थिए। जस्प्रित बुमराहको १९औं ओभरको दोस्रो बलमा अब्दुल सामद २० रनमा रोहित शर्माबाट क्याच आउट भएपछि हैदराबाद जीतविमुख भएको हो। सामदले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे।

बलिङतर्फ मुम्बईका ट्रेंट बोल्ट, जेम्स प्याटिनसन र जसप्रीत बुमराहले समान २/२ विकेट लिएका थिए भने कृणाल पाण्ड्याले १ विकेट लिएका थिए।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर मुम्बईले पहिले ब्याटिङ गरेको थियो। जसअन्तर्गत मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। मुम्बईले उक्त लक्ष्य खडा गर्ने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान क्विन्टन डी कोकले सर्वाधिक ठूलो पारी खेलका थिए। राशिद खानको बलमा तेस्रो विकेटको रुपमा आउट हुनुपूर्व उनले ३९ बलको सामना गर्दै ४ चौका र ४ छक्कासहित ६७ रन बनाएका थिए।

त्यसअघि टिमले कप्तान रोहित शर्मालाई ६ रन र सूर्यकुमार यादवलाई २७ रनको अवस्थामा गुमाएको थियो। अघिल्ला खेलहरुमा राम्रो प्रदर्शन गरिरहेका रोहित यस खेलमा सस्तैमा आउट भए। उनी पहिलो ओभरको पाँचौं बलमा सन्दीप शर्माको बलमा विकेट किपर जोनी बेयरस्टोको हातबाट सिकार हुन् पुगेका थिए।

यी दुई आउट भएपछि टिमको पारीलाई क्विन्टन डी कोक र ईशान किसनले अगाडि बढाएका थिए। त्यस क्रममा उनीहरुले ७८ रनको बलियो साझेदारी गरेका थिए। १३.१ ओभरमा टिमको स्कोर १ सय २६ हुँदा क्विन्टन डी कोक व्यक्तिगत ६७ रनमा आउट हुन् पुगेका थिए।

क्विन्टन डी कोक पभेलियन फर्किएपछि इशान किशनले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले २८ तथा किरोन पोलाण्ड र कुर्नाल पाण्ड्याले अविजित रहदै क्रमश: २५ रन र २० रन बनाएका थिए। बलिङतर्फ हैदराबादका सन्दीप शर्मा र सिद्धार्थ कौलले समान २/२ विकेट लिएका थिए भने राशिद खानले पनि १ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट