काठमाडौं । उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्टार खेलाडी सन्दीप लामिछानेलाई भोलि साँझसम्म अमेरिका पठाउने तयारी भएको छ ।
आसन्न टी २० विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझदेखि प्रक्रिया अगाडि बढाएको थियो । टी २० विश्वकपका लागि सबै प्रक्रिया पूरा गरेर सन्दीपलाई शुक्रबार साँझसम्म नेपाली टोलीमा समेट्ने तयारी भएको हो ।
बुधबार गौशाला २६ विरुद्धको बलात्कार मुद्दामा सफाइ पाएलगत्तै क्यानले निलम्बन फुकुवा गरिसकेको छ । ‘सम्मानित उच्च अदालत पाटनको २०८१ जेठ २ को फैसला बमोजिम सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेटबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँद छौँ,’ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने ।
अहिले सन्दीपको फिटनेस टेष्टलगायत प्राविधिक प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग छलफल भइरहेको छ । उनको बारेमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक र कप्तानसँग परामर्श गरेपछि राष्ट्रिय टिममा समावेश गराउने क्यानको तयारी छ ।
क्यानले आईसीसीको समयसीमा अनुसार टी २० विश्वकप खेल्ने नेपाली सदस्यको सूची पठाइसकेको छ । तर, आगामी मे २५ तारिखसम्म उपयुक्त कारण देखाएर टोलीमा परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ ।
गौशाला २६ विरुद्ध जिल्ला अदालत काठमाडौंले गएको पुस १३ गते दोषी ठहर गर्दै पुस २६ गते सजाय निर्धारण गरेको थियो । क्यानले सन्दीपलाई २०८० पुस २६ गते घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
उच्च अदालत पाटनबाट सफाइ पाएसँगै करिब चार महिनापछि क्रिकेट गतिविधिमा फर्किन लागेका सन्दीप एक्लै अभ्यास गर्दै आएका छन् ।