ज्लाटानको फुटबल यात्रा : स्वीडेनको सडकमा लुटपाटदेखि अमेरिकाको लसएन्जल्ससम्म-Sutra News

ज्लाटानको फुटबल यात्रा : स्वीडेनको सडकमा लुटपाटदेखि अमेरिकाको लसएन्जल्ससम्म

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- ‘मैले हिजोमात्रै कोभिड-१९ नकरात्मक परीक्षण गरेँ, आज सकारात्मक। मलाई केही लक्षण नै थिएन। कोभिडले मलाई चुनौति दिन खोज्यो। गलत आइडिया,’ केही दिन पहिले ज्लाटान इब्राहिमोविचले ट्वीटरमा लेखेका थिए।



उनको यो ठट्टा फुटबल बजारमा गतिलो जोक बनेर चर्चित भयो। ज्लाटान इब्राहिमोविच फुट्बलमा सधैं चर्चामा आइरहने नाम हो, चाहे खेल जितोस् वा हारोस्। किनभने उनको खेल कलाबाट जति मानिस प्रभावित हुन्छन, त्यति नै मात्रामा उनको हक्की बोल्ने र ठट्टा गर्ने स्वभावले फ्यान बनेका छन्।

कुनै पनि फुटबलरमाथि धेरै जोक र मिम बनेका छन् भने त्यो ज्लाटान नै हुन्। तर उनीमाथि बन्ने जोक र मिमहरुले कहिले पनि उनलाई होच्याएको वा खसालेको कतै भेटिँदैन। नेपालमा राजेश हमालमाथि जसरी जोक र मिम बनाइन्छन्, ठीक त्यसरी नै उनीमाथि जोक र मिमहरु बनाइन्छन्। जोक र मिमसमेत सम्मानसाथ बनाइन्छन् भने यति बुझ्न जरुरी छ कि उनले फुटबलमा केही न केही अमूल्य योगदान पक्कै गरेका छन्।

ज्लाटान इब्राहिमोविच फुटबल इतिहासमा कहिल्यै नमेटिने नाम हो। उमेरले उनी ठीक ३९ वर्ष पुगेका छन्। आजकै दिन अर्थात् सन् १९८१ अक्टोबर ३ मा उनको जन्म भएको थियो। यो उमेरमा पनि उनी सक्रिय फुटबल खेल्दैछन्। ३९ वर्षको उमेरसम्म सक्रिय फुटबल खेलिरहेका लेजेन्ड खेलाडीको जन्मदिनमा उनले पुर्‍याएको फुटबल योगदानलाई सम्झनु अनिवार्य नै हुन आँउछ। किनभने आफ्नो जीवनको ऊर्जाशिल समयहरु फुटबललाई समर्पित गरेर फुटबलका ज्युँदा इतिहासका रुपमा रहेका खेलाडीलाई जतिले चिन्छन्, त्योभन्दा बढीले चिन्न सक्नुपर्छ।

बोस्नियन बुबा र क्रोयशियाली आमाबाट जन्मेका ज्लाटानले सानै उमेरमा परिवारको पूर्ण माया पाउन सकेनन्। उनी दुई वर्षको हुँदा उनको बुबा र आमाले सम्बन्ध विच्छेद गरेका थिए। त्यसपछि उनले आफ्नो बाल्यकाल प्रवासीहरु बस्ने रोसेनगार्ड जिल्लामा बिताएका थिए। उनले कुनै समय मिडियालाई भनेका थिए कि स्वीडेनको कानुनअनुसार उनले आमासँग बस्ने अवसर पाएका थिए, तर सौतेला बुबासँग बस्न परेको थियो। त्यो नै उनको जीवनको सबैभन्दा पीडादायी अनुभव थियो। उनले बुबाबिनाको बाल्यकाल नै आफ्नो जीवनको खराब समय रहेको बताँउदै आएका छन्।

निकै कष्टकर बालापन बिताएका उनले किशोर अवस्थामा आइपुग्दासम्म आफ्नो गुजारा चलाऊनको लागि चोरी र डकैतिसम्म गर्न थालिसकेका थिए। बाँच्नका लागि बाध्यताले मोटरसाइकल र मिठाइ पसलहरुमा चोरी गरेका कुराहरु अहिले पनि उनी खुलेरै भन्छन्। उनी त्यति हुँदाहुँदै आफूले कहिले पनि मादक र लागू पदार्थ सेवन नगरेकाले आफूमा गर्व रहेको बताँउछन्। उनी अरु पनि बुबाविहीन बालबालिकाहरुलाई कुलतमा नफस्न र आफैँमा विश्वास गर्न सन्देश दिन्छन्।

बाँच्नका लागि संघर्ष गरिरहेका ज्लाटानले छ वर्षको उनेरदेखि नै सडक फुटबल खेल्न थालेका थिए। उनले आफ्नी आमाको घर बाहिरको ग्राभेल गरिएको मैदानमा फुटबल खेल्न थालेका थिए। फोहोरले भरिएको सानो मैदान उनी साथीहरुसँग फुटबलका विभिन्न ट्रिकहरुलाई सिक्ने र देखाउने प्रयास गर्ने गर्थे। उनी प्रोफेसनल फुटबलर भएपछि उनले फुटबल खेल्ने ग्राभेल मैदानलाई उनको स्पोन्सर नाइक कम्पनीले रबरको मैदानमा परिणत गरेको थियो।

उनले १७ वर्षको उमेरमा माल्मो सिटी क्लबबाट खेल्ने अवसर पाएका थिए। सानैदेखि रिसाहा स्वभावका ज्लाटानले सानो विवादमै आफ्नो साथीलाई टाउकोले हानेपछि झन्डैले उनको फुटबल करिअर सुरुवात नहुँदै सकिएको थियो। त्यसपछि उनले आफैँले मनन गर्न थाले कि ‘फुटबलले मलाई धेरै कुरा दिन सक्छ, अब म अनुशासित हुनुपर्छ।´ उनले माल्मो क्लबका लागि १९९९ मा डेब्यु गरेका थिए। उनले उक्त क्लबमा दुई वर्ष बिताउने क्रममा ३६ खेलमा १६ गोल गरेका थिए।

दुई वर्षे माल्मो बसाइ सकाएर उनी नेदरल्यान्डसको आयाक्स क्लबमा अनुबन्ध भएका थिए। तीन वर्षे आयाक्स बसाइमा उनले १ सय १० खेलमा ४८ गोल गर्न सफल भएका थिए। यसपछि भने उनलाई युरोपका ठूला क्लबहरुका आँखा पर्न थालेको थियो। यसै क्रममा उनी आयाक्स छोडेर युभेन्टस पुगेका थिए। युभेन्टस बसाइमा उनले आयाक्समा जतिको सफलता हात पार्न सकेनन्। ९२ खेलमा मात्रै २६ गोल गरेका ज्लाटान यसपछि युभेन्टस छाडेर सिरी ए क्लब इन्टर मिलानतिर लागे।

तीन वर्षे इन्टर बसाइमा उनले लगातार तीन वटा सिरी ए सहित पाँच उपाधि जित्न सफल भएका थिए। इन्टरका लागि १ सय १७ खेलमा ६६ गोल गरेर इटालीमा तहल्का मच्चाएका ज्लाटानको यात्रा त्यस्पछि बार्सिलोनाको लागि तय भयो। उनी सन २००९ को समरमा बार्सिलोना आएका थिए।

बार्सिलोनामा पर्याप्त समय खेल्न नपाएका ज्लाटानले बार्सिलोनाका लागि ४६ खेलमा २२ गोल गरेर चार उपाधि जिताउन सफल भएका थिए। तत्कालीन समयमा महँगी खेलाडी बनेर बार्सिलोना पुगेका उनी दुई सिजन नबित्दै फेरि इटाली नै फर्किए। यसपल्ट उनी एसी मिलानमा आबद्ध भए र फेरि सिरी ए को उपाधि जित्न सफल भए।

यसपछि एसी मिलान छाडेर सन् २०१२ मा फ्रान्सेली क्लब पिएसजी पुगेपछि झन् उनको फुटबल यात्राले तीव्र वेग समातेको थियो। चार वर्षे फ्रान्स बसाइमा उनले चार वटा लिगवान उपाधिसहित १३ उपाधि जित्न सफल भए। तत्कालीन समयका लागि पीएसजीको इतिहासकै सर्वाधिक गोलकर्ता बनेका उनले यस समयमा पूरा पुरोपियन फुटबलमा आफ्नो रवाफ नै जमाएका थिए। १ सय ८० खेलमा १ सय ५६ गोल गरेर उनले आफूलाई गोल मेसिनका रुपमा स्थापित नै गरेका थिए।

फरक-फरक क्लबबाट खेल्दै उपाधि जित्न माहिर बनेका ज्लाटान पीएसजी छाडेर सन् २०१६ मा इंगलिस क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए। दुई सिजन पूरा नखेलेका उनले म्यान्चेस्टरका लागि ५३ खेलमा २९ गोल गर्दै तीन महत्वपूर्ण उपाधि जित्न सफल भए।

अब ज्लाटानको यात्रा युरोप छोडेर अमेरिका बन्न पुग्छ। मिलान छाडेर उनी अमेरिकन क्लब एलए ग्यालेक्सी पुगेका थिए। डेब्यु खेलमै मैदानबीच भागबाटै गोल गरेर संसारलाई चकित बनाएका ज्लाटानको अमेरिका बसाइ सुखद नै रह्यो।

उमेरले ३५ वर्ष नाघिसक्दा पनि उनको गोल गर्ने रफ्तार रोकेन। ग्यालेक्सिका लागि ५८ खेलमा ५३ गोल गरेपछि उनको पुरानो क्लब एसी मिलान उनलाई बोलाउन बाध्य नै भयो। उनले मिलानका लागि हालसम्म १ सय ७ खेलमा ७० गोल गरिसकेका छन्। हालः उनी एसी मिलानकै लागि खेल्दैछन्। राष्ट्रिय टिमका लागि उनले सर्वाधिक ६१ गोल गरेका छन्।

हालसम्म ज्लाटानले क्लब फुटबलमा ७ सय ६३ खेलमा ४ सय ७० गोल गरेर १ सय ८४ गोलका लागि पास मिलाइदिएका छन्। खेल जीवनमा कूल ३३ वटा उपाधि जितिसकेका ज्लाटानलाई फुटबलका लेजेन्ड मान्नेहरुको ठूलो जमात छ भने क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग नजितेको भनेर आलोचना गर्नेहरु पनि धेरै रहेका छन्।

१३औं पटकका फुटबलर अफ दी इयर विजेता खेलाडी ज्लाटान उमेरले चार दशक छोइसके पनि अझै सक्रिया फुटबल खेलिरहेका छन्। कसैलाई थाहा छैन जोक, मिम र गोलका भन्डार ज्लाटानलाई कहिलेसम्मा मैदानमा देख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट