एमएस धोनी : द अनटोल्ड स्टोरी, यो फिल्म समीक्षा होइन-Sutra News

एमएस धोनी : द अनटोल्ड स्टोरी, यो फिल्म समीक्षा होइन

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- भारतीय सुपरस्टार क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमाथि चलचित्र नै बनेको थियो,`एमएस धोनी: द अनटोल्ड स्टोरी।´ उक्त चलचित्र धोनीकै क्रिकेट जीवनमा आधारित रहेको छ। चलचित्रमा भारतले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय क्रिकेटको उपाधि जितेकोसम्म देखाएर सकिन्छ। चलचित्रले उनको जीवनको महत्वपूर्ण कुराहरु देखाएको छ। तर अझै महत्वपूर्ण केही कुराहरु `अनटोल्ड´ अर्थात् नभनीकनै छोडिदिएको छ।



चलचित्रले अनटोल्ड राखिदिएको उनको जीवनको ‘अनटोल्ड स्टोरी’को पाटो हो उनको `आइपिएल´  अर्थात् इन्डियन प्रिमियर लिग यात्रा। पहिलो कुरो त आइपिएल सुरुवात गर्नमै धोनीको अमूल्य योगदान रहेको छ। त्यसैले जबदेखि आइपिएल सुरु भयो, त्यही सिजन आर्थात् सन् २००८ बाटै धोनीको आइपिएल यात्रा सुरु भयो।

धोनी आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान हुन्। चेन्नइ सुपर किङ्ग्सलाई कप्तानी गरिरहेका धोनीले आफ्नो कप्तानीमा हालसम्म सर्वाधिक ६३.३५ प्रतिशत खेल जिताउन सफल भएका छन्। उनले हालसम्म आफ्नो कप्तानीमा कूल १ सय ६३ मध्ये १ सय खेल जिताएका छन्। `क्याप्टेन कुल´का नामले परिचित धोनीलाई अन्तराष्ट्रिय क्रिकेटमा समेत छुट्टै र उत्कृष्ट रणनीति भएको कप्तानको रुपमा लिइन्छ। कुन टाइम र ब्याट्सम्यानका लागि फास्ट बलर, स्पिनर, मिडियम पेस बलरहरुलाई बलिङ गर्न लगाउने भन्ने उनको रणनीतिले विपक्षी ब्याट्सम्यानलाई सधैं हम्मेहम्मे पार्ने गर्छ।

bating1.jpg

उमेरले चार दशक छोइसकेका धोनी अझै पनि युवावस्थाको जस्तै खटेर अनि डटेर खेल्छन्। यो नै दर्शकको लागि आनन्द र उत्साहको विषय हो। रन लिनलाई दौडिन होस् वा बल क्याच गर्न हावामा उड्न होस्, अझ विपक्षी ब्याट्सम्यानलाई पत्तै नदिइ स्टम्पिङ गर्न नै किन नहोस्, उनी युवा अवस्थाको जस्तै जोश, जाँगर र चलाखी देखाउँछन्। उनको स्टम्पिङ कलालाई त कसैले नक्कल गर्नै नसकिने समेत बताइन्छ। अझ उनको ‘हेलिकप्टर सट’को के कुरा गर्नु। उनको हेलिकप्टर सटको भिडियो आफूले दसौंपटक हेर्दा पनि आफू नअघाएको बताउने उनका समर्थकहरु सामाजिक सञ्जालमा कैयौँ छन्।

धोनीले जति खेल जितेका छन्, त्यति नै दर्शकका मन पनि जितेका छन्। र, आइपिएलको उपाधि पनि। उनले आइपिएलको १२ वर्षे इतिहासमा सात पटक त फाइनल नै खेलेका छन्। उनले चेन्नइ सुपर  किङ्ग्सबाट छ पटक र राइजिङ पुनेबाट एउटा आइपिएल फाइनल खेलेका छन्। चेन्नइ सुपर किङ्ग्सलाई सन् २०१६/१७ को वर्ष आइपिएलमा प्रतिबन्ध लगाइएको थियो। जसले गर्दा उनलाई पुनेले अनुबन्ध गरेको थियो। उनले खेलेका सात फाइनलमध्ये तीन वटा उपाधि जित्न सफलसमेत भएका छन्। 

आफ्नो खेल जीवनभरि धोनीले ३ सय २१  क्याच गरेका छन् भने १२३ पल्ट त सट्म्पिङ नै गरेका छन्। यो कुनै साधरण तथ्यांक होइन, यो `धोनी क्लास´ हो।

धोनी आइपिएललगायत सम्पूर्ण टी-२० क्रिकेटमै युवा प्रतिभालाई स्थान दिनुपर्छ भन्ने मान्यता राख्छ्न। त्यसैले उनी माथिल्लो क्रममा ब्याटिङ गर्ने अवसर अरुलाई नै दिन्छन्। आफूले तल्लो क्रमममा ब्याटिङ गर्छन्। यस्तो अवस्थामा टिमले जित्दा धोनीको कप्तानीको वाहवाही र हार्दा डराएर धोनीले माथिल्लो क्रममा ब्याटिङ नगरेको आरोप लगाउनेहरुको ठूलै जमात छ। तर उनले तल्लो क्रममा ब्याटिङ गरेर खेल जिताएका धेरै उदाहरणहरु छन्। तल्लो क्रममा ब्याटिङ गरेर अन्तिम बलमा चौका र छक्का हानेर खेल जिताउनु धोनीको विशेषता नै हो। उनले आइपिएलमा छक्का र चौका करिब उही अनुपातमा हिर्काएका छन्। अहिलेसम्म आइपिएलमा उनले कूल २ सय ९९ चौका र २ सय १२ छक्का प्रहार गरेका छन्।

stump dhoni.jpg

धोनी आइपिएल इतिहासमा रन बनाउने मामिलामा एकरुपता राख्ने विरल खेलाडी हुन्। सन् २००८ को सुरुवाती सिजनमा उनले ४ सय १४ रन प्रहार गरेका थिए। त्यसपछिका सिजनहरुमा पनि उनले त्यही हाराहारीमा रन बनाएका छन्। आइपिएलमा १३औं सिजन खेलिरहेका धोनीले हालसम्म तेस्रो सर्वाधिक १ सय ६३ खेलबाट ४ हजार ४ सय ७६ रन बनाएका छन्। सन् २००९ को सिजन ३ सय ३२ रन बनाएका धोनीले तेस्रो सिजन २ सय ८७ रन बनाएका थिए। चौथो सिजन ३ सय ९२ रन बनाएका उनले पाँचौं सिजन ३ सय ५८, छैटौं सिजन ४ सय ६१, सातौं सिजन ३ सय ७१, आठौं सिजन ३ सय ७२ र क्रमशः हालसम्म २८४, २९०, ४५५, ४१६ र ४४ रन बनाएका छन्। हालः जारी आइपिएल भर्खरै सुरु भएको हो।

उमेर धेरै भए पनि क्याप्टेन कुल धोनी भारतमा सबैभन्दा सर्वाधिक कमाउने खेलाडीमा पर्छन्। उनलाई सबैभन्दा धेरै ब्रान्डहरुले समर्थन र स्पोन्सर गरेका छन्। यस मामलामा उनलाई साहरुख खानले मात्रै उछिनेका छन्। अझै पनि उनको ब्रान्ड भ्यालु संसारका उत्कृष्ट १० खेलाडीभित्र पर्छ, यो सबैका पछाडि उनको खेल कौशल र कलाकै हात रहेको छ। आइपिएलजस्तो उच्च व्यावसायिक उद्देश्यले सञ्चालन हुने लिगले धोनीको खेल कौशल साथसाथै व्यावसायिकतामा ठूलो सहयोग गरिरहेको छ।

dhoni tryuphy.jpg

आइपिएलको पहिलो सिजनमा धोनी नै सबैभन्दा महँगो खेलाडीको रुपमा किनिएका थिए। चेन्नइ सुपर किङ्ग्सले उनलाई तत्कालीन समयमा साढे १२ करोड भारुमा किनेको थियो। अहिले पनि धोनीको उक्त मूल्य आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्यको शीर्ष पाँचभित्र पर्छ। धोनीलाई मूल्यअनुसारको टिमलाई उपलब्धि दिलाउने खेलाडिको भनी प्रसंसा गरिन्छ। उनले आफ्नो कप्तानीमा चेन्नइलाई तीन वटा आइपिएल उपाधि जिताएका छन्।

आइपिएल त एमएस धोनीको खेल जीवनको केही किस्सामात्रै हो। उनको सिङ्गो क्रिकेट करिअरलाई हेर्ने हो भने लोभलाग्दो छ। उनीमात्रै क्रिकेट जगतका यस्ता कप्तान हुन्, जसले आफ्नो कप्तानीमा देशका लागि टी-२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी जिताएका छन्। उनले भारतलाई यी उपाधिहरु क्रमशः सन् २००७, २०११ र २०१३ मा जिताएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा सफलताका अपार गाथा कोरेकै कारणले उनलाई क्रिकेटमा भगवान मान्नेहरुको जमात ठूलै छ। धोनी आइपिएलमा मात्रै होइन सिङ्गो अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सबैभन्दा धेरै खेल जिताउने कप्तान हुन्।

दुई पटकका `ओडिआई प्लेयर अफ द इयर´ विजेता धोनीले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा १७ हजार २ सय ७७ रन बनाएका छन्। जसमा उनले एकदिवसीयमा १० हजार ७ सय ७३, टी-२० मा १ हजार ६ सय १७ र टेस्टमा ४ हजार ८ सय ७६ रन प्रहार गरेका छन्। आफ्नो खेल जीवनभरि धोनीले ३ सय २१  क्याच गरेका छन् भने १२३ पल्ट त सट्म्पिङ नै गरेका छन्। यो कुनै साधरण तथ्यांक होइन, यो `धोनी क्लास´ हो।

क्याप्टेन कुल धोनीले भारतलाई जित्न सम्भवप्राय सबै उपाधि जिताएका छन्। आफूले दिनसक्ने सम्पूर्ण उनले क्रिकेटलाई नै दिएका छन्। क्रिकेटलाई माया गर्ने धेरैका लागि भगवानका रुपमा परिचित धोनीलाई अब अन्तर्राष्ट्रिय क्रिकेट खेलेको भने देख्न पाइने छैन। किनभने उनले गत अगस्टमा मात्रै सम्पूर्ण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरिसकेका छन्। तर क्लब क्रिकेटमा भने उनलाई अझ देख्न पाइनेछ। उमेरले ४० पुगेका धोनीले क्लब क्रिकेटमामा पनि कहिलेसम्म हातमा ब्याट र टाउकोमा हेलमेट लगाउलान् सबैको चिन्ताको विषय बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट