आइपिएलः कोलकाताको दोस्रो जित-Sutra News

आइपिएलः कोलकाताको दोस्रो जित

बिहिबार, १५ असोज २०७७

बिहिबार, १५ असोज २०७७

काठमाडौं- युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ।



गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो। दुबई अन्तर्राष्ट्रिय  क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।

राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २/२ विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो।

कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे। नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए। इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए।

यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए। जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ। कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ। कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो। कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो।

अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो। तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ। राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो। यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो।

यसअघिको खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो। यसैबीच प्रतियोगिताअन्तर्गत आज किंग्स इलेभेन पञ्जाव र मुम्बई इन्डियन्स भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट