डान्सिङ विथ द स्टार कोरोनाले जन्माएको अवसर : हरि खड्का-Sutra News

डान्सिङ विथ द स्टार कोरोनाले जन्माएको अवसर : हरि खड्का

मंगलबार, १३ असोज २०७७

मंगलबार, १३ असोज २०७७

काठमाडौं- फुटबल खेलमा एउटा स्ट्राइकरलाई ल्याएर मिड्फिल्डमा राखेर खेल्न लगाइयो भने कस्तो हुन्छ होला? अवस्य पनि उसले जति मात्रामा स्ट्राइकरको भूमिकामा न्याय गर्नसक्थे, त्यति मात्रैमा उसले मिड्फिल्डरको भूमिकामा न्याय गर्न सक्दैन।



एकै खेल नै भए पनि भूमिका फरक हुँदा गाह्रो हुन्छ भने, सधैं मैदानमा फुटबल खेल्न, फुटबल सिकाउन अनि फुट्बल् सिक्न व्यस्त कोही मान्छेलाई स्टेजमा ल्याएर नाच्न लगाइयो भने त्यो फुटबलरलाई कति कठिनाई हुँदो रहेछ भन्ने कुरा हरि खड्कालाई रामैसँग थाहा छ। किनभने उनी हिमालयन टेलिभिजनले सुरु गरेको ‘डान्सिङ विथ द स्टार’को स्टेजमा नाच्नमा व्यस्त छन्।

फुटबल खेल्नु र डान्स गर्नु एकदम फरक कुरा थाहा हुँदाहुँदै पनि उनले त्यो जोखिम मोल्ने साहस गरे। यसरी साहस निकाल्न आफूलाई दुई कुराले प्रेरित गरेको उनी बताउँछन्। ‘म जहिले पनि चुनौति र नयाँ कुरा सिक्न मन पराउने मान्छे हुँ। पहिलो त मेरो लागि यो नयाँ चुनौति र नयाँ कुरा सिक्ने अवसर हो। त्यसैले म डान्सिङ विथ द स्टार्समा भाग लिन तयार भएँ। अर्को कुरा डान्सिङ विथ द स्टार्सको टिमले नेपालमा अरु धेरै स्पोर्टस सेलिब्रेटी हुँदा-हुँदै मलाई नै बोलाउनुभयो। यो एक हिसाबले मेरो लागि सम्मान हो भन्ने लाग्यो।’

अर्कातिर फुटबल खेल्ने हरिका लागि डान्सिङ कहिले पनि प्यासन बनेन। कोरोना भाइरस महामारीले गर्दा सन २०१९ का लागि बनेका सम्पूर्ण फुटबल गतिविधिहरु ठप्प भएपछि उनी फुर्सदमा थिए। करिब आधा वर्ष लामो बन्दाबन्दीले केही न केही सिर्जनात्मक कार्यहरु गरिरहनुपर्ने हरिलाई एक हिसाबले अपाङ्गजस्तै बनाएको थियो। यस्तो बेलामा डान्सिङ विथ द स्टार्सले गरेको आग्रह स्वीकार्न उनले धेरै समय लगाएनन्। फुर्सदको समय सदुपयोग पनि हुने र नयाँ कुरा पनि सिक्न पाइने लालशाले उनलाई डान्सिङ विथ द स्टार्स टिमको आग्रह स्वीकार गरिहाले।

उनी अहिलेसम्म डान्स सिक्नलाई कुनै ट्रेनिङ सेन्टर गएका छैनन्, न उनले अहिलेसम्म कुनै डान्सिङ प्रतियोगितामा भाग नै लिएका छन्। डान्सलाई नजिकबाट नियाल्ने चेस्टासमेत नगरेको उनी सुनाउँछन्। उनले कुनै सभा-समारोहबाहेक टेलिभिजनमा आउने डान्स शोहरु छमछमी, बुगिउगी, डान्स इन्डिया डान्स, झलखदिखलाजाजस्ता रियालिटी शोलाई मनोरन्जनका लागि कहिलेकाँही हेर्ने गर्थे। 

‘कम्पिटिसन नै त जित्न नसकिएला। वाह कस्तो राम्रो नाच्यो भन्ने बनाउन नि नसकिएला। तर छ्या हरि खड्काले कस्तो नाचेको भन्ने नि बनाँउदिनँ।’

तर, जब आफैँले त्यो स्टेजमा गएर नाच्नुपर्ने भयो, तब उनलाई एकदम कठिनाई भयो। राष्ट्रिय महिला टिमको हेड कोचसमेत भएका उनी सुरुका केही समय सिक्ने प्रक्रियामा शरीरिकरुपमा भन्दा पनि मानसिकरुपमा तयार हुन सकेनन्।

उनी सम्झन्छन, ‘राष्ट्रिय महिला टिमको हेड कोच भइसकेको मान्छे फेरि स्टुडेन्ट हुनुपर्दा ‘अनकम्फर्टेबल फिल’ भएको थियो। तर, नयाँ ‘प्लाटफर्म’ र ‘च्यालेन्ज’ स्वीकार्ने मानसिकताले चाँडै नै तयार भएँ। अहिले ‘कम्फरटेबल फिल’ गरेको छु।’

सुरुमा डान्सिङ विथ स्टार्सको अफर आँउदा उनले डान्स र फुटबल एकदम फरक हुन्छ भन्नेमात्रै बुझेका थिए। जब उनी डान्स गर्नका लागि तयार भए, त्यसपछि उनलाई फुटबल र डान्सबीच समानता पनि रहेछ भन्ने थाहा भयो। ‘फुटबलमा एउटा टाइमिङ हुन्छ। राइट टाइममा राइट डिसिजन लिन सक्नुपर्छ। डान्समा पनि राइट टाइममा राइट टर्न गर्ने राइट स्टेप लिने,  मुभमेन्ट गर्ने हुन्छ,’ उनी सुनाँउछन्, ‘यो कुराहरु मिल्छन् तर एकदम नै फरक छन्। म फुटबल खेलेको मान्छेको लागि डान्सको टाइमिङ र मुभमेन्ट त धेरै फरक कुरा हो।’ स्टेजमा नाच्दा जति आनन्द र उत्साह आउँछ, त्योभन्दा बढी दर्शकको अगाडि रंगाशालामा फुटबल खेल्दा मिल्ने उनको अनुभव छ।

अहिले उनी आफ्ना कोरियोग्राफरले सिकाएको बाहेक पनि सिक्नका लागि विभिन्न डान्सरहरुको डान्सलाई नियाल्ने प्रयत्न गर्छन्। ‘कुन स्टेपलाई कसरी गर्छन्, बडी मुभमेन्ट कसरी गर्छन् भन्ने कुरा अरुबाट पनि सिक्न सकिन्छ,’ उनी भन्छन्, ‘मेरो त फिल्ड नै फरक हो, त्यसैले जोसुकैबाट पनि म डान्स सिक्न खोज्छु।’

यसरी अरुबाट सिक्नका लागि उनी युट्युबमा भिडियोहरु खोजेर हेर्ने गर्छन्। प्रायजसो अन्य प्रतियोगीहरु कम्तीमा पनि कलाकारिता क्षेत्रकै छन्। हरि थापा कलाकारिताभन्दा बाहिर फुटबल क्षेत्रको रहँदा उनको लागि यो नौलो  अभ्यास भएकाले पनि आफूलाई अरु प्रतियोगीहरुलाई भन्दा अलि कठिनाई भएको उनको बुझाइ छ।

नेपाली राष्ट्रिय टिमका लागि ४९ खेल खेलेर १३ गोल गरेका हरि खड्का नेपाली राष्ट्रिय टिमका सर्वाधिक गोलकर्ता हुन्। नेपाल तथा भारत र बंगलादेशमा समेत व्यावसायिक फुटबल खेलिसकेका र नेपालका वर्तमाण फुटबल पुस्ताले समेत मान्ने एक आइकनिक फुटबलरको नाम हो हरि खड्का। राष्ट्रिय टिमबाट सन्याश लिए पनि उनी नेपाली फुटबलसँगै जोडिरहेका छन्। उनले नेपाली महिला राष्ट्रीय टिमलाई समेत प्रशिक्षण गरिसकेका छन।

सहिदस्मारक ए डिभिजन लिग र उत्कृष्ट राष्ट्रिय खेलाडीको अवार्डसमेत जितिसकेका हरि खडका अहिले डान्सको कम्पिटिसनमा रहे पनि आफ्नो जीवनमा फुटबलभन्दा अर्को प्यारो कुरा नै नरहेको बताँउछन्। युरोपेली फुटबलमा ब्राजिली रोनाल्डो, जिनेदिन जिदान, थिएरी हेन्रीहरुले तहल्का मच्चाइरहँदा उनले नेपाली फुटबल तथा भारतीय र बंगलादेशी फुटबलमा तहल्का मचाँउदै थिए।

उनी याद गर्छन्, ‘इन्डियामा त्यति बेला कलकत्ता लिग हुन्थ्यो। कलकत्ता टिमलाई कसैले टक्कर दिन सक्दैनथ्यो। मैले मोहन बगानबाट खेलेँ। हामी मात्रै उनीहरुको बलियो राइभल भयौँ। नेपालमा जागिर हुनाले वर्षभरि नै इन्डिया बसेर खेल्न सकिएन। त्यसैले त्यति लामो समय इन्डियामा खेल्न सकिनँ।’

हरि खड्का फुटबल र फुट्बललाई प्रेम गर्नेहरुलाई सबैभन्दा धेरै माया गर्छन्। यतिसम्म कि उनले आफ्ना छोराको नाम नै चर्चित खेलाडी उनका समकालीन थिएरी हेन्रीको नामबाट राखेका छन् `हेन्री´। समयअनुसार सबैको चर्चा परिचर्चा घट्दै जाने उनको बुझाइ छ। उनी भन्छन्, ‘पहिला पेले, म्यारोडोनाहरुको चर्चा हुन्थ्यो। पछि रोनाल्डो, रोनाल्डिन्हो, हेन्रीको भयो। अहिले मेस्सी, रोनाल्डोको हुन्छ। म पनि पहिला धेरै रुचाइएकोथेँ। अब फेरि अरु नै आउँछ। त्यसैले फुटबलमा को उत्कृष्ट भनेर भन्न सकिँदैन।´

फुटबलमा को उत्कृष्ट भनेर गरिने प्रश्नले अप्ठ्यारोमा पर्ने उनको बुझाइ छ। उनलाई कुनै खेलाडी रोज्न बाध्य बनाँइदा उनी मेस्सीलाई रोज्छन्।

डान्सिङ विथ द स्टार्सको स्टेजमा उनले पहिलो चरणको आफ्नो प्रस्तुति दिइसकेका छन्। आफ्नो अभ्यास र पहिलो चरणको प्रस्तुतिपछि उनलाई छुट्टै किसिमको ऊर्जा मिलेको छ। पहिला सिक्नै पो सक्दिन कि नाच्नै पो सक्दिन कि भन्ने सोच आएको हरि खड्कालाई अब आफूले अर्कोचोटि अझ राम्रो नाच्नसक्ने हिम्मत आएको छ।

उनी सुनाउँछन्, ‘कम्पिटिसन नै त जित्न नसकिएला। वाह कस्तो राम्रो नाच्यो भन्ने बनाउन नि नसकिएला। तर छ्या हरि खड्काले कस्तो नाचेको भन्ने नि बनाँउदिनँ। फुटबलमा आफूलाई दर्शकहरुले जति माया र प्रेम गर्नुभयो अहिले मेरो नयाँ अभ्यासलाई पनि माया गर्नु हुन्छ भन्ने आशा गरेको छु।´

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट