आइपिएल इतिहासका अभागी विराट-Sutra News

आइपिएल इतिहासका अभागी विराट

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल)को १३औं संस्करण सुरु भइसकेको छ। कोरोना भाइरस महामारीको कारणले भारतमा लिग सञ्चालन गर्न सम्भव नभएपछि यसपालीको संस्करण अरबी देश युएईमा भइरहेको छ। आज लिगमा सनराइज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ। बैंगलोरले हालसम्म तीनपटक आइपिएलको फाइनल खेलिसकेको छ। तर, उसले कहिल्यै पनि उपाधि आफ्नो पोल्टामा पार्न सकेको छैन।



१२ वर्षको बीचमा पटक-पटक फाइनल खेलेर पनि उपाधि जित्न नसक्दा ऊ अभागी सावित भइरहेको छ। बैंगलोरलाई विगत सात वर्षदेखि संसारकै सर्वोत्कृष्ट क्रिकेटरले कप्तानी गरिरहेको छ। तर पनि उपाधि जित्न नसकेर उनी स्वयं अभागी सावित भइरहेका छन्। यहाँ चर्चा गर्न लागिएको पात्र हुन विराट कोहली।

किङ कोहलीको नामबाट परिचित यो नाम आइपिएल इतिहासमा बलरहरुको लागि पटक-पटक खतरनाक सावित नाम हो। विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा त झनै सर्वाधिक रुचाइएका र धेरै रन र रेकर्डहरुले भरिपूर्ण खेलाडी हुन्। कोहलीले सुरुको संस्करणदेखि नै रोयल च्यालेन्जर्स बैंगलोरका लागि खेल्दै आएका छन्। यस अवधिमा उनले आइपिएल इतिहासकै सर्वाधिक धेरै रन बनाएका छन्। उनले १ सय ७७ खेलमा १ सय ६९ इनिङ्ग्स खेल्दै ५ हजार ४ सय १२ रन जोडेका छन्।

उनले हालसम्म आइपिएलका तीन वटा फाइनल खेलेका छन्। सन् २००९ मा कोहलीले बैंगलोरको तर्फबाट राहुल द्रबिडको कप्तानीमा पहिलोचोटि आइपिएल फाइनल खेलेका थिए। फाइनलमा डेक्कन चार्जरले दिएको १ सय ४४ रनको सामन्य लक्ष्य भेट्टाउन नसक्दा बैंगलोर पहिलोपटक उपाधि विमुख हुनुपरेको थियो। फाइनलमा विराट कोहली जम्मा सात रनमा सीमित रहँदा बैंगलोरले नौ विकेट गुमाएर जम्मा १३७ रनमात्रै बनाउन सक्यो। डेक्कन चेन्जरले सात रनको झिनो अन्तरले उपाधि कब्जा गरेको थियो। पहिलो संस्करणमा १ सय ६५ रन बनाएका कोहलीले दोस्रो सिजन फाइनल खेल्दा सुधारिएको प्रदर्शन गर्दै २ सय ४६ रन बनाउन सफल भए।

दोस्रो संसकरणको फाइनल हारेपछि त्यसपछिका वर्षहरुमा उनले धेरै निखारिएको खेलहरु प्रस्तुत गरे। २०१० को संस्करणमा कूल ३०७ रन बनाएका उनले त्यसको ठीक एक वर्षपछि सन २०११ को संस्करणमा बैंगलोर डेनिल भिट्टोरीको कप्तानीमा फेरि फाइनल खेलेका थिए।

उक्त फाइनल खेलमा चेन्नइ सुपर किङ्गससँग ५८ रनको फराकिलो अन्तरले हार्दै बैंगलोर दोस्रोपल्ट उपाधिबाट बञ्चित हुन परेको थियो। चेन्नइले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दिएको २०६ रनको लक्ष्य बैंगलोरले निर्धारित ओभरमा आठ विकेट गुमाएर पनि भेट्टाउन सकेन। उसले आठ विकेट गुमाएर जम्मा १ सय ४७ रन जोड्न सफल भयो। कोहलीले विगतभन्दा झनै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले यस संस्करणमा कूल ५ सय ५७ रन जोडेका थिए भने फाइनल खेलमा ३५ रनको योगदान दिएका थिए।

उनले त्यसपछिका संसकरणमा पनि आफ्नो उच्च प्रदर्शनलाई कायम राख्दै २०१२ र १३ को संस्करणमा क्रमशः ३ सय ६४ र ६ सय ३४ रन जोड्न सफल भए। २०१३ को संस्करणमा आइपुग्दा कोहली टिमका कप्तान बनिसकेका थिए। उनले कप्तानी सम्हालेकै संस्करणमा ६ सय ३४ रन प्रहार गरी सानदार प्रदर्शन गरे। त्यसपछि दुई सिजनमा पनि उनले क्रमश ३ सय ५९ र ५ सय ५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१६ को संस्करणमा विराट कोहलीको रन गतिलाई कसैले रोक्न सकेनन्। यस संस्करणमा उनले चारवटा सतक प्रहार गर्दै कूल ९ सय ७३ रन बनाएका थिए। त्यस सिजनका सर्वाधिक रनकर्ता कोहलीकै उत्कृष्ट प्रदर्शनको प्रेरणामा बैंगलोर तेस्रोपटक आइपिएलको फाइनलमा पुगेको थियो। तेस्रो फाइनलमा पनि विराट कोहली अभागी सावित भए। फाइनल खेलमा सनराइज हैदरावादले सात विकेट गुमाएर दिएको २ सय ८ रनको लक्ष्य भेट्टाउन सकेन। निर्धारित ओभरमा सातै विकेट गुमाएर २ सय रनमात्रै जोड्दा आठ रनको झिनो अन्तरले हार्दै बैंगलोर तेस्रो पल्ट उपाधि जित्न असफल भएको थियो।

तीनवटा फाइनल खेल्दा पनि उपाधि जित्‍न असफल भएका विराटको हरेक संस्करणको प्रदर्शनहरु उत्कृष्ट रहँदै आएको छ। उनले २०१६ पछिका संस्करणहरुमा हालसम्म क्रमशः ३ सय ८, ५ सय ३० र ४ सय ६४ रन बनाएका छन्। आइपिएल इतिहासमा रन मेसिनका रुपमा परिचित कोहलीले प्रत्यक सिजन कम्तीमा पनि १ सय ३७.७१ भन्दा माथिको स्ट्राइक रेट कायम गर्दै ३७.८४ औसतमा रनहरु बनाएका छन्। उनले हालसम्म आइपिएलमा १ सय ९० छक्का र ४ सय ८० चौका प्रहार गर्फै आइपिएल इतिहासकै सर्वाधिक ५ हजार ४ सय १२ रनको पहाड नै खडा गरेका छन्।

आइपिएलका सबै भन्दा महँगा खेलाडी कोहलीले हालसम्म कूल पाँच सतक र ३६ अर्धसतक प्रहार गरेका छन्। उनले सन् २०१६ को संस्करणमा आफ्नो आइपिएल करिअरकै सर्वाधिक चार टिम किङ्ग ११ पन्जाब, गुजरात लायन्स, राइजिङ पुने र गुजरात लायन्सविरुद्ध सतक प्रहार गरेका थिए। उनले गत सिजन कोलकत्ता नाइट राइडर्सविरुद्ध पनि सतक प्रहार गरी आफ्नो पाँचौं सतक पूरा गर्न सफल भएका थिए। आइपिएलमा उनले सर्वाधिक १ सय १३ रन प्रहार गरेका छन्। माथिल्लो क्रममा ब्याटिङ गर्ने कोहलीले आफ्नो करिअरमा कूल २ सय ५१ पटक बलिङ गरेका छन्। जसमा उनले ३ सय ६८ रन खर्चेर चार विकेटसमेत लिएका छन्।

अन्तर्राष्ट्रिय एकदिवसीय वरियतामा पहिलो, टेस्टमा दोस्रो र टी-ट्वान्टीमा तेस्रो वरियतामा रहेका कोहलीले आइपिएलमा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि कहिल्यै उपाधि जित्न सकेका छैनन्। संसारकै उत्कृष्ट ३१ वर्षीय क्रिकेटर कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा कूल २१ हजार ९ सय १ रन बनाएका छन्। तीमध्ये एक दिवसीयमा मा ११ हजार ८ सय ६७, टी-ट्वान्टीमा २ हजार ७ सय ९४ र टेस्टमा ७ हजार २ सय ४० रन प्रहार गरेका छन्।

विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा रनको पहाडसँगै अनेकौं रेकर्डहरु बनाएका छन्। आइपिएलमा सर्वाधिक रन बनाउँदा पनि अहिलेसम्म उपाधि उचाल्न नसक्नु उनको दुर्भाग्य हो। यसपाली पनि उनको टिमले गतिलो दाबेदारिता प्रस्तुत गर्ने नै छ। उनले उपाधि जित्ला वा नजित्ला भन्ने अग्नि परीक्षा भने आज साँझ सवा ७ बजे हुने सनराइज हैदरावादविरुद्ध हुने खेलबाट सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट