अर्टुरो भिडाल इन्टरमिलानमा अनुबन्धित, किन छाडे बार्सिलोना ?-Sutra News

अर्टुरो भिडाल इन्टरमिलानमा अनुबन्धित, किन छाडे बार्सिलोना ?

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडाल इटालियन क्लब इन्टरमिलानमा अनुबन्ध भएका छन्। सोमबार मिलानले औपचारिक रूपमा चिलियन मिडफिल्डर अनुबन्धको घोषणा गरेको हो।  इन्टरमिलानले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सन्जालमार्फत् भिडाललाई बार्सिलोनाबाट भित्र्याएको जानकारी दिएको छ।



दुई वर्षअघि जर्मन क्लब बार्यन म्युनिखबाट बार्सिलोना पुगेका भिडाललाई नयाँ प्रशिक्षक रोनाल्ड कोमनले आफ्नो योजनामा नराखेपछि उनले क्लब छाडेका हुन्। लोनमा गएका फिलिपे कोउटिन्हो एलेना बार्सिलोना फर्किएपछि अन्य खेलाडीको स्थान संकटमा पर्न थालेको हो।

बार्सिलोनाले यसअघि नै इभान राकिटिकलाई उनकै पूर्वक्लबलाई बेचिसकेको छ। स्पेनिस मिडियाले गरेका दाबी अनुसार कोमनले बार्सिलोना एकेडेमिका ग्र्याजुयट रिकि पुचलाई बेच्ने तयारी गरिरहेका छन्। समर विन्डो खुल्नासाथ बार्सिलोनाले इटालियन युभेन्टसबाट मिरालेम पियानिच भित्र्याएर आफ्ना युवा खेलाडी अर्थुर मेलोलाई युभेन्टसमै बेचेको थियो।

रिपोर्टअनुसार ३३ वर्षका भिडाललाई मिलानले मात्रै १ मिलियन युरोमा अनुबन्ध गरेको हो। यसअघि बार्यन म्युनिखबाट बार्सिलोनाले भिडाललाई १८ मिलियन युरोमा किनेको थियो। अझै पनि अन्तर्राष्ट्रिय सरुवा बजारको तथ्यांक अनुसार भिडालको बजार मूल्य अझै ११ मिलियन युरो बराबर रहेको छ।

मिलानले भिडालसँग पहिलो चरणमा दुई सिजनका लागि सम्झौता गरेको छ। बार्सिलोनामा दुई सिजन बिताउनेक्रममा भिडालले कूल ९६ खेल खेल्दै ११ गोल गरे। भिडालले अहिलेसम्म खेलेको जुनसुकै लिगमा लिग उपाधि जित्ने रेकर्ड कायम गर्न सफल खेलाडी हुन्। दुई वर्षे बार्सिलोना बसाइमा उनले एक ला लिगा र एक सुपर कप जितेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट