बार्सिलोनालाई ओरालो लगाउँदै प्रशिक्षक कोमन-Sutra News

बार्सिलोनालाई ओरालो लगाउँदै प्रशिक्षक कोमन

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- बार्सिलोनाले च्याम्पियन्स लिग सेमिफाइनल खेलमा बार्यनम्युनिखसँग लज्जास्पद ८-२ को हार बेहोरेपछि टोलीको स्थिति सुधार्नुपर्ने देख्यो। अर्को सिजनमा जसरी पनि उपाधि जित्ने ठूलो महोत्वाकांक्षाका साथ क्लबका पूर्व खेलाडी रोनाल्ड कोमनलाई नियुक्त गरेको थियो। 



हालसम्म बार्सिलोनाका तर्फबाट एउटा पनि खेल नखेलाएका कोमनका सुरुकै दिनबाट निर्णयहरु विवादमा फस्दै आइरहेका छन्।

टिमका लेजेण्ड खेलाडी लुइस सुवारेज लगायत आक्रमक शैलीका मिडफिल्डरद्वय आर्टुरो भिडाल र इभान राकिटिचलाई टिममा स्थान नदिएदेखि नै उनको आलोचना सुरु भएको थियो। उनीहरुको स्थानमा डच प्रशिक्षकले नेदरल्याण्डकै खेलाडीहरु भित्र्याउने भनेपछि झनै आलोचना भइरहेको छ।

उनलाई बार्सिलोनामा नेदरल्याण्डको पूरा टिम उतारेर  सन् २०२२ को कतार विश्वकप जित्ने महत्वाकांक्षा पूरा गर्न लागेको आरोप फूटबल पण्डितहरुले लगाइरहेका छन्।

उनी बार्सिलोना आउनुपूर्व नेदरल्याण्डको राष्ट्रिय टिममा प्रशिक्षक थिए।

उनले मेस्सीलाई क्लबमा पहिलेजस्तो हालीमुहाली नचल्ने भन्दै अब मात्रै फुटबल खेल्नु भन्ने खालका आशयसम्म दिएका थिए। मेस्सीले बार्सिलोना छोड्ने निर्णय लिनुको पछाडि रोनाल्ड कोमनको योजना र प्रवृत्तिलाई पनि प्रमुख कारण मानिन्छ। यद्यपि, मेस्सी आफ्नो निर्णयबाट पछाडि हटिसकेका छन्।

कोमनले मेस्सीलाई टिममा बस्ने भएपछि मैदानमा झनै जिम्मेवारी थप्ने खालको योजना सार्वजनिक गरेका थिए। उनका अनुसार मेस्सीले बल खोस्ने, बल दौडाउने मौका सिर्जना गर्ने र गोल गर्नु पर्नेसम्मको भूमिका थपेका थिए। उमेर ढल्किसकेका मेस्सीलाई झन थकाउने योजना ल्याएको भन्दै यसपछि नव नियुक्त प्रशिक्षकको आलोचना उत्कर्षमै पुगेको थियो।

तर रोनाल्ड कोमनको निरंकुशता र विवादस्पद निर्णयको लहर सकिइसकेको छैन। स्पेनिस सञ्चारमाध्यम एवं बार्सिलोना निकटका पत्रकारहरुले गरेका दाबी अनुसार अब उनले छोटो समयमै बार्सिलोना टिममा तहल्का मच्चाउन सफल युवा मिडफिल्डर रिकी पुचलाई टिममा नराख्ने र उनलाई आफ्नो गन्तव्य खोज्न भन्दै डच कोचले क्लबलाई औपचारिक रूपमा जानकारी गराइसकेका छन्।

उनी बार्सिलोनाको एकेडेमीबाट हुर्किएका खेलाडी हुन्। पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भर्डेले ला मासियाका प्रतिभालाई टोलीमा डेब्यु गराएर स्थान दिँदा पुचले पनि त्यसैबेला सिनियर टोलीमा डेब्यु गरेका थिए।

बार्सिलोनामा उनलाई भविष्यका ठूला स्टार खेलाडीका रूपमा हेरिएको थियो। उनलाई धेरैले क्लबका मानक खेलाडी तथा पूर्वकप्तानहरू जाभी हर्नान्डेज र आन्द्रेस इनिएस्टासँग तुलना गर्ने गर्छन्। धेरैले उनलाई बार्सिलोनामा जाभी र इनिएस्टाका ‘उत्तराधिकारी’का रूपमा हेर्ने गर्छन्। र उनले हालसम्म खेलेका खेलहरुमा आफूलाई अब्बल रहेको भनी प्रमाणित समेत गरिसकेका छन्।

भाल्भर्डेको पालामा सिनियर टोलीमा डेब्यु पाएर उच्च प्रभाव छाडेका पुचलाई बार्सिलोनाका पूर्व प्रशिक्षक क्विके सेटिनले अर्थुर मेलो र इभान राकिटिकजस्ता खेलाडीलाई बेन्चमा राखेर सुरुआती टोलीमा खेलाउँदै आएका थिए।

नयाँ सिजन २०२०–२१ मा प्राथमिकतासाथ खेलाउने क्लबको योजना रहे पनि कोमनले क्लबले नै नसोचेको निर्णय गरेपछि पुचको भविष्य क्याम्प नोउमा संकटमा परेको छ। कोमनले ‘पुच आफ्नो योजना र फर्मेसनमा फिट नहुने’ कुरा क्लबलाई जानकारी गराएको स्पेनिस मिडिया तथा बार्सिलोना निकट पत्रकारहरुले दाबी गरिरहेका छन्।

रिकी पुचको भविष्यबारे प्रशिक्षक कोमनले अप्रत्याशित निर्णय लिएपछि अहिले केही सयमदेखि स्पेनमा सो विषय ‘हट केक’ नै बनिरहेको छ। कोमनको यस योजनाप्रति समर्थकहरुले सामाजिक सञ्जालहरुमा चर्को विरोध गरिरहेका छन्।

बार्सिलोनाका समर्थकहरूले ‘रिकी पुचलाई नछोऊ’ भन्दै सामाजिक सञ्जालमा ट्रेन्डिङ नै चलाइरहेका छन्। त्यहाँका अधिकांश खेल मिडियाले पुचको विषयमा खबर प्रकाशित गरेका छन्। रिपोर्टहरूका अनुसार कोमनले ‘रिकी पुचलाई अपमानका साथ नयाँ सिजनका लागि नयाँ क्लब खोज्न’ भनेका छन्।

भर्खरै सिनियर टोलीमा डेब्यु पाएर पनि मिडफिल्डरमा उच्च प्रभाव जमाउँदै आएका पुच कप्तान लिओनल मेस्सीको समेत मन जितेका खेलाडी हुन्। केही समयअघि एक अन्तर्वार्तामा कुरा गर्दै मेस्सीले पुचसँग ‘भविष्यका ठूला स्टार’ खेलाडी बन्ने क्षमता रहेको बताएका थिए। मेस्सीसँग पुचले गत सिजन थुप्रै खेल खेलेका थिए।

बार्सिलोना खराब अवस्थामा पुगेका बेला टोली सम्हाल्न आइपुगेका कोमनले अप्रत्याशित निर्णय लिएपछि समर्थकहरूले उनको आलोचना चर्को रूपमा गर्नु स्वभाविक हो। एकपछि अर्को अप्रत्याशित एवं खराब निर्णय लिनुले उनलाई बार्सिलोनालाई कुन दिशामा लैजाँदै छन् भन्ने बहस अब चर्किन थालेको छ।

बार्सिलोनाले यसअघि युवा मिडफिल्डर अर्थुर मेलालाई बेचिसकेको छ। पुचलाई सिजन २०२०–२१ मा सिनियर टोलीमा प्रमुख भूमिका दिनकै लागि बार्सिलोनाले अनुभवी मिडफिल्डर इभान राकिटिकलाई कोमनकै कुरा सुनेर सजिलै बेचिसकेको छ भने अर्का मिडफिल्डर अर्टुरो भिडाल बेच्ने अन्तिम तयारीमा छ।

तर, कोम्नले ठूलो भविष्य बोकेका क्षमतावान युवा खेलाडीलाई आफ्नो योजनामा नराख्ने भएपछि बार्सिलोनाको एकेडेमीबाट उत्पादन भएका अन्य खेलाडीकासमेत भविष्य क्याम्प नोउमा सुनिश्चित नदेखिने भएको छ।

रिपोर्टअनुसार कोमनले पुचलाई बेचेर वा लोनमा बाहिर पठाएर अर्का युवा मिडफिल्डर कार्लेस एलेनालाई योजनामा राखेका छन्। एलेना गत सिजन लोन अवधि सकेर बार्सिलोना फर्किएका हुन्। युवा प्रतिभालाई विकल्पमा प्रयोग गर्नुका सट्टा बेच्न चाहनुले बार्सिलोना बुढा खेलाडीहरुको जम्बो टोली बन्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट