राष्ट्रकविलाई प्रतिगामी देख्ने दोषी चश्मा-Sutra News

राष्ट्रकविलाई प्रतिगामी देख्ने दोषी चश्मा

शनिबार, १३ भाद्र २०७७

शनिबार, १३ भाद्र २०७७

२००७ को क्रान्ति। बन्दीपुर (तनहुँ) को मोर्चा। 



माघे संक्रान्ति (१ माघ २००७) आउनुभन्दा २–३ दिनअघि नै राणा शासन विरुद्ध प्रदर्शनका लागि हजारौँ क्रान्तिकारीहरु सातु–सामल बोकेर तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुरमा जम्मा हुन थालिसकेका थिए। उनीहरु दिनभरि बन्दीपुर बजारमा जुलुश लगाउँथे, नाराबाजी गर्थे।

माघेसंक्रान्तिका त्यहाँको परिदृष्यमा एकाएक परिवर्तन आयो। बन्दीपुरको भूमि शहीदको रगतले रङ्गियो। र, नेपाली क्रान्तिका लागि यो भूमिले आफूले गर्नुपर्ने वलिदानको कोटा चुक्ता गर्यो।

लमजुङ सदरमुकाम कुन्छा कब्जा गरेर क्रान्तिकारीहरुको एउटा टोली त्यसदिन बन्दीपुर आइपुगेको थियो। यो टोलीमा धर्मध्वज गुरुङ, गोबर्धन शर्मा, कृष्णदत्त वाग्ले, शिवदत्त पौडेल थिए। टोलीले आफूहरु कुन्छा (लमजुङको तत्कालिन सदरमुकाम) कब्जा गरेर बन्दीपुर आइपुगेको खबर सुनायो।

कुन्छा कब्जा गरेको टोली जब बन्दीपुर पुग्यो, २–३ दिनदेखि बन्दीपुरमा शान्तिपूर्ण रुपमा नाराजुलुश गरिरहेको समूह कुन्छा कब्जाको खबरले एकाएक उत्तेजित भयो। र, बन्दीपुरलाई राणा फौजको नियन्त्रणबाट मुक्त गर्न खड्कदेवी मन्दिरतर्फ अगाडि बढ्यो। मन्दिर नजिकै सेनाको टुकडी मोर्चा कसेर बसेको थियो।

एकाएक ठूलो जनसमूह आफूतिर आएको देखेपछि सेनाले पनि धैर्य गुमायो, अन्धाधुन्ध गोली बर्सायो। हवलदार सन्तबहादुर राना, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, चन्द्रबहादुर सार्की, खड्कबहादुर गोदार (बसन्तपुर) ठाउँका ठाउँ ढले। शहादत प्राप्त गर्नेहरुको पंक्तिमा भर्खरै कुन्छा कब्जा गरेर आएका टोलीका युवा सदस्य धर्मध्वज गुरुङ (तनहुँ, पुलिमराङ) पनि शहादत प्राप्त गरे। अनायसै गोली चलेपछि प्रदर्शनकारीहरु तितरबितर भए। बन्दीपुर बजारमा कर्फ्यू लाग्यो। शहादत प्राप्त गरेका सबैजनाको शव सेनाले उत्तरतिर रहेको भीरमा लगेर खसालिदियो। कर्फ्युको मौका पारेर सेना आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने बाहेकका हतियार ब्यारेकमै छाडेर रातारात पोखरा प्रस्थान गर्यो।

२ असोज १९०३ को कोतपर्वबाट शासन हत्याएपछि जंगबहादुर कुँवर प्रधानमन्त्री त बने नै, केही पछि श्री ३ महाराजको पदवी पनि राजाबाट पाए। श्री ५ त राजेन्द्र विक्रम शाह छँदै थिए, ‘श्री ३’ को उपाधिका लागि उनलाई लमजुङ र कास्कीको ‘महाराज’ बनाइयो।

तिनै जंगबहादुरले जग बसालेको राणा शासनको फौजको अधिनबाट २ दिनअघि लमजुङलाई मुक्त गरेर शहीद धर्मध्वजले बन्दीपुरको जुन भूमिमा शहादत प्राप्त गरे, त्यहाँबाट उत्तरतिर फर्केर हेर्यो भने लमजुङको दक्षिणी भेगका डाँडाकाँडा र सुसाइरहेको मस्र्याङ्दी नदीको किनारस्थित मेरो गाउँ मज्जासँग देखिन्छ।

र, लमजुङका डाँडापाखा र गाउँघरमा शहीद धर्मध्वजको वीरताको कथा निम्न गीतको माध्यमबाट सुनाउने बुढापाका जीवितै छन् :

सुन हे साथी अमर धर्मध्वजको कहानी
देशका लागि कुर्वानी भयो कलिलो जवानी

जुँगाको रेखी बसेको ठिटो बिर्सन्न मनमा
उनको गीत सुनिन्छ अझै कुन्छाको वनमा

आमालाई मेरो सञ्चार लगी ‘सञ्चै छ’ भन्दिनू
‘कहिले आउँछ’ सोध्नेछिन्, ‘भोलि आउँछ’ भन्दिनूू

बाबालाई भन्नू ‘हजुरको छोरो हुँदैन कायर,
हाँसीमा हाँसी छातीमा थाप्यो बन्दुक फायर’

देशका दाजु भाईलाई मेरो आखिरी खबर
म मरेँ, मेरो नेपाली जाति रहिरहोस् अमर

लाखको निम्ति म मर्न पाएँ, यही मलाई सुख छ
नेपाल अझै बनेको छैन, यही मलाई दुख छ

बोल्दामा बोल्दै परेला ढले कोपिला निदायो
साँझमा एउटा हँसिलो तारा स्वर्गमा उदायो

लमजुङ, तनहुँ र वरपर अहिले पनि बुढापाकाहरुको जिब्रोमा झुण्डिएको यो गीतको रचयिता माधवप्रसाद घिमिरे थिए, जसको अघिल्लो हप्ता २ भदौमा १ सय १ वर्षको उमेरमा निधन भयो। (बाल्यकालदेखि मैले सुन्दै आएको यो गीत घिमिरेद्वारा रचित रहेछ भन्ने कुरा २०५९ मा भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको डा सूर्यमणि अधिकारीद्वारा लिखित ‘नेपाली कांग्रेसको इतिहास–पेज ९८) अध्ययन गरेपछि मात्र जानकारी भयो)

साहित्यकर्ममार्फत् मुलुकको सेवा गरेवापत घिमिरेले राज्य र समाजबाट जति सम्मान पाउनुपर्ने हो, त्यो पाए। कवि श्रवण मुकारुङका शब्दमा, सधैँ राज्यसत्ताको सम्मान पाएका भाग्यमानी स्रष्टा रहे उनी। जनस्तरबाट उनले ‘कविवर’को सम्मान पाए भने राज्यबाट राष्ट्रकविको उपाधि। साहित्य र वाङ्गमयसँग सम्बन्धित राजकीय संस्थाहरुको जिम्मेवारी पनि उनले पटक–पटक पाइरहे।

बग्रेल्ती अवसर र सम्मान पाएकाले होला, साहित्य र वाङ्गय क्षेत्रकै एउटा वैचारिक पंक्तिले भने राष्ट्रकवि घिमिरेमाथि निरन्तर घोचपेच गरिरह्यो। यो पंक्तिको आरोप छ, ‘राणाकालदेखि नै सरकारी बेतनभोगी बनेर घिमिरे परिवर्तन र परिवर्तनका लागि हुने आन्दोलनप्रति निरपेक्ष रहे। सदैब शासक वर्गको सेवा गरे र त्यसबापत सम्मान–अवसर पाए। परिवर्तनका लागि भएका आन्दोलनमा पिठ फर्काए र शासकलाई साथ दिए।’

कुनै व्यक्तिको व्यक्तित्व जतिसुकै उचो होस्, आलोचना र प्रश्नको घेराभन्दा बाहिर हुनसक्दैन ऊ। यस हिसाबले घिमिरे पनि आलोचना प्रश्नको घेराभित्र पार्नै नहुने पात्र होइनन्। तर, प्रश्नकर्ताले तयार पारेको प्रश्न सम्बन्धित व्यक्तिबारे गहन अध्ययनपछि तयार गरेको हो वा विचारको ‘दोषी चश्मा’ लगाएर त्यो प्रश्न आफ्नो डायरीमा खेस्रा गरेको हो? भन्ने सवाल निकै महत्वपूर्ण छ।

निश्चय नै, घिमिरेले राणाकालीन नेपाली भाषा प्रकाशिनी समिति र गोर्खापत्रमा जागिर खाएका हुन्। तर, राणकालमा जागिर खाए भन्दैमा के उनी राणा शासनको समर्थक थिए त? निश्चय नै, राजा महेन्द्रको शासनकालमा उनी ‘शाही नेपाल प्रज्ञा प्रतिष्ठान’ मा कहिले प्राज्ञ सदस्य भए, कहिले उपकूलपति रहे। तर, के उनको कलमको नीम र मसी कहिल्यै न्याय र समानताका लागि प्रयोग हुँदै भएन? के उनका साहित्य–रचनामा गरिव–दुखीको आवाज छँदै छैनन्? अनि, के उनका रचनाहरुले क्षितिजमा परिवर्तनको सूर्य उदाउने आकांक्षा कहिल्यै राखेनन्?

जनसरकारका ‘प्रधानमन्त्री’

घिमिरेद्वारा रचित ‘गौरी’ शोककाव्य मैले बालककालदेखि कैयौँ पटक दोहोर्याएर–तेहर्याएर पढेको छु। आफ्नो जीवनमा त्यति धेरै पटक एउटै किताब मैले पढेको छैन, कुनै गीत र कविता गुन्गुनाएको पनि छैन। तर, सँगैसँगै अर्को तथ्य के पनि हो भने, गौरीबाहेक घिमिरेका कुनै एउटा पनि रचना पनि मैले छिचोलेर अध्ययन गरेको छैन। (बुबाले क्याम्पस जीवनमा अध्ययन गरेको घिमिरेको ‘राज–राजेश्वरी’ खण्डकाव्यको २–४ पेज पढ्न सुरु गरेको थिएँ। तर उतिबेला मेरो रुचि पढ्नमा भन्दा चङ्गा उडाउनेमा धेरै भएकाले राज–राजेश्वरीका पाना आफूले उडाउने चङ्गाको पुच्छर बनाउन प्रयोग गरेँ।)

साहित्यको अध्ययन र जानकारी उतिसाह्रो नभए पनि नेपालको राजनीतिक इतिहासको विषयको अध्ययन भने धेरथोर गरेको छु। राजनीतिक इतिहासमध्ये मेरो रुचिको विषय राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन हुन्। नेपालको राजनीतिक इतिहास (र, आन्दोलन) को विद्यार्थीको हैसियतमा म के दाबी गर्न सक्छु भने, घिमिरेको जीवनको अधिकांश समय सरकारी जागिर खाएरै बितेको पक्कै हो। तर, उनले सदैव सत्ताको ताबेदारीमात्रै गरिरहे, परिवर्तनका लागि भएका आन्दोलनमा पिठ मात्र फर्काए, उनको कलम सत्ताको भक्तिगानमा मात्र प्रयोग भयो भनेर भनेर कसैले लेख्छ भने त्यो पूर्वाग्रहको दोषी चश्मा लगाएर लेखिएको निकृष्ठ आरोप मात्र हो। बन्दीपुरको मोर्चामा शहादत प्राप्त गरेका धर्मध्वज गुरुङलाई बिम्ब बनाएर लेखिएको कविताले समेत प्रष्ट पार्छ, उनको कलम उतिबेलै राणा शासनका विरुद्ध हाजिर भइसकेको थियो।

००७ को क्रान्तिमा शहादत प्राप्त गर्ने योद्धाहरुको सम्मानमा उनले आफ्नो कलमलाई हाजिर मात्र गराएनन्, उनी आफैं त्यो आन्दोलनका सक्रिय योद्धा समेत थिए।

उनलाई ‘प्रतिगामी कित्ताको कवि’ करार गर्नेहरुको कमजोरी कहाँनिर छ भने, आफू पनि काठमाडौँमा मात्र सीमित रहँदै उनीहरुले घिमिरेलाई राजधानीमा मात्र खोजे। राणाकालीन गोर्खापत्र र नेपाली भाषा प्रकाशिनी समितिमा जागिरे रहेका घिमिरे प्रतिगामी थिए वा क्रान्तिकारी थिए भन्ने पर्गेल्नका लागि तथ्य संकलन गर्न काठमाडौँ खाल्डो छिचोलेर पोखरा र लमजुङ पुग्ने थोरै कष्टचाहिँ गर्नुपर्छ।

जब पत्नी गौरीको २००४ मा निधन भयो, बिरक्तिएका घिमिरे टुहुरा छोरीहरु शान्ति र कान्तिलाई लिएर लमजुङ पुगे। उनको गन्तव्य गाउँशहर (शाहकालीन राजाहरुको दरवार रहेको स्थान) स्थित खुल्न लागेको ‘आधार हाइस्कूल’ थियो। (हाल लमजुङ उच्च मावि त्यसैको विकसित रुप हो) को स्थापना भयो। उनी सो स्कूलका संस्थापक प्रधानाध्यापक बने। स्कूलमा अध्यापन कार्य थालेपछि तलबका लागि पोखरा आवत–जावत हुन थाल्यो। पोखरामा उनको भेट कांग्रेस कार्यकर्ता मुक्तिनाथ तिमिल्सिनासँग भयो, जो त्यहाँ स्थापित आधार स्कूलका शिक्षक थिए। उनी मार्फत् पोखरामा कांग्रेसका अन्य नेता–कार्यकर्तासँग घिमिरेको घनिष्ठ सम्पर्क स्थापित भयो।

घिमिरे तलब बुझ्न लमजुङबाट पोखरा जाने–आउने गरिरहन्थे। पोखरा पुग्दा उनी गुप्त बैठकहरुमा पनि सहभागी हुने गर्थे। बैठकमा राणा शासन विरोधी आन्दोलनका योजनाबारे छलफल हुन्थ्यो। यस्ता छलफलपछि उनी पार्टीका पर्चा–पम्प्लेट बोकेर लमजुङ फर्कन्थे। पश्चिम नेपालकै शैक्षिक केन्द्र रहेको लमजुङको दुराडाँडा क्षेत्र भएकाले दक्षिणी लमजुङमा कांग्रेसको सम्पर्क पुगिसकेको थियो। उत्तरी क्षेत्रमा कांग्रेसको संगठन, सम्पर्क र प्रभाव विस्तार गर्नमा घिमिरेकै भूमिका रह्यो।

जब कांग्रेसले देशव्यापी रुपमा राणाविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गर्‍यो, पोखराका बडाहाकिम धनशमशेर पनि आन्दोलनकारीहरुको खोजी गर्न थाले। यसैक्रममा पोखरा पुगेका घिमिरे पनि पक्राउ परे। तर, गतिलो प्रमाण फेला नपर्दा ५ दिनपछि रिहा भए। लमजुङ फर्केर उनी फेरि राणा विरोधी क्रान्तिका लागि सक्रिय भइहाले।

उतिबेला पोखरा लगायतको क्षेत्र ‘पश्चिम ३ नम्बर’ का रुपमा चिनिन्थ्यो। र, यसको केन्द्र पोखरा थियो। पोखरामा केन्द्र बनाएर बसेको राणा पक्षलाई कमजोर पार्न वरपरका गौँडाहरु नुवाकोट (स्याङ्जा), कुन्छा (लमजुङ), बन्दीपुर (तनहुँ) पनि कब्जा गर्नु पर्थ्यो। त्यसैले, तनहुँको सीमानामै रहेको कुन्छा कब्जा गरेर धर्मध्वजहरुको टोली बन्दीपुर पुगेको थियो।

कुन्छा गौडा कब्जाको प्रयास खासमा लमजुङकै क्रान्तिकारीहरुले गर्ने तयारी गरेका थिए। त्यसका लागि लमजुङमा जनमुक्ति सेनाको गठन समेत भइसकेको थियो। तर, कुन्छा नजिकैको पुलिमराङ (तनहुँ) घर भएका धर्मध्वज गुरुङ लगायतको टोली कुन्छा कब्जाका लागि कुन्छा पुग्यो। कुन्छा कब्जा गरी स्थानीयको हातमा प्रशासन सुम्पेर उनीहरु बन्दीपुर तर्फ लागे। तर, पोखरामा राणा पक्षकै नियन्त्रण रहेकाले कुन्छा पनि लामो समय क्रान्तिकारीहरुको कब्जामा रहेन।

त्यसैले, लमजुङकै क्रान्तिकारीहरुले कुन्छा कब्जाको योजना बनाउन थाले। यसका लागि सुब्बा डिल्लीजङ गुरुङले भूतपूर्व सैनिक जम्मा गरी जनमुक्ति सेना गठन पनि गरे। कुन्छामाथि पुन कब्जा जमाउनका लागि सुब्बा डिल्लीजङ त्यसतर्फ प्रस्थान गरे, साथै घिमिरेलाई पनि बोलाएका थिए। घिमिरे गाउँशहरबाट दुराडाँडा हुँदै कुन्छातर्फ प्रस्थान गरे। तर, कुन्छाबाट फर्कंदै गरेका सुब्बा डिल्लीजङसँग घिमिरेको भेट दुराडाँडाको चिहानपाटामा भयो। खासमा कुन्छा नपुग्दै डिल्लीजङले सुने कि, नयाँदिल्लीमा राणा–कांग्रेस–राजाबीच भइसक्यो।

२०४९ को मदन पुरस्कार विजेता ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (२००७)’ का लेखक भवेश्वर पंगेनीले पश्चिम क्षेत्रमा भएको प्रजातान्त्रिक आन्दोलनबारे ‘पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन (२००७) मा घिमिरेलाई उद्धृत गर्दै पंगेनीले उल्लेख गरेअनुसार केन्द्रमा सम्झौता भइसकेको स्थितिमा चिहानपाटाको चौतारामा बसेर लमजुङमा स्थानीय प्रशासन सञ्चालनको खाका कोरे। त्यसका लागि ‘कामचलाउ जनसरकार’ जनसरकार गठन गरियो। जनसरकारको प्रधानमन्त्री घिमिरे तय गरिए भने श्रीकान्त अधिकारी (२०१५ को निर्वाचनमा लमजुुङबाट निर्वाचित सांसद) सूचना तथा प्रचार मन्त्री र सुब्बा डिल्लीजङ गुरुङ गृहमन्त्री बनाइए।

‘नवगठित जनसरकारको कार्यालय माधवप्रसाद घिमिरेको डेरा अर्थात् स्कूलमा नै बनाइयो, यस सरकारले खास केही काम गरेन’ पुस्तकमा पंगेनीले उल्लेख गरेका छन्, ‘केही दिनपछि जन सरकार भंग भयो, त्यसमा सामेल व्यक्तिहरु नेपाली कांग्रेसको संगठनमा बसेर काम गर्न थाले।’

यो छुट्टै कुरा हो कि, ०७ को क्रान्तिपछि घिमिरे राजनीतिमा सक्रिय भएनन्, आफू संस्थापक प्रधानाध्यापक बनेर स्थापना गरिएको आधार स्कूलमा केही समय अध्यापन गराएर उनी काठमाडौँ नै फर्के। र, निरन्तर लेखनकर्ममा सक्रिय रहे।

जसरी दुई दुधे बालिकालाई घिमिरेका काखमा छाडेर २००४ मा गौरी परलोकतर्फ लागिन्, त्यसैगरी २००६ भदौमा तत्कालीन युवराज महेन्द्र पत्नी युवराज्ञी इन्द्रराज्यलक्ष्मीको निधन हुन पुगेको थियो। इन्द्रराज्यलक्ष्मी आफ्ना ३ छोरी र ३ छोरालाई महेन्द्रको काखमा छाडेर परलोक भएकी थिइन् । गौरीको निधनको केही वर्षपछि घिमिरेको शोककाव्य ‘गौरी’ प्रकाशित भयो र त्यसले उतिबेलै पनि निकै चर्चा पायो। महेन्द्रले आफूले भोग्नुपरेको नियतिको कथा घिमिरेको ‘गौरी’ मा पाए।

दुई जनाबीच भेट भयो। त्यो भेटमा के के कुराकानी भयो, त्यो त जानकारी छैन। तर, भनिन्छ कि, गौरी शोककाव्यमा आफूलाई परेको पीडाको कथा भेटेका कवि मविवि शाह कवि घिमिरेबाट प्रभावित भए। माधव घिमिरे पनि महेन्द्रको व्यक्तित्वबाट प्रभावित बने। कारण यही हो कि, राजा महेन्द्रको शासनकालभरि (र, त्यसपछि पनि) घिमिरेले विभिन्न जिम्मेवारी पाइरहे। तर, यो कुरा निर्विवाद हो कि, उनले जिम्मेवारी प्राप्त गर्नुमा उनको क्षमता र योग्यताकै बढी भूमिका थियो।

‘समाजवाद’को चाहना

राणा शासनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी, प्रजापरिषद् लगायतका राजनीतिक दलहरु पनि संघर्षरत थिए। तर, ०७ को क्रान्तिमार्फत् राणाहरुलाई पराजित गर्न भारतको सहयोगमा नेपाली कांग्रेस र राजा त्रिभुवनको निर्णायक भूमिका रह्यो। त्यसैले, २००७ पछि क्रान्तिमा सहभागी योद्धाहरु मूलतः दुई झण्डामुनि आवद्ध भए– एउटा, बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको झण्डामुनि। र अर्को, राजा त्रिभुवन–महेन्द्रले बोकेको दरवारको झण्डा मुनि। क्रान्तिका अगुवाहरुको राजनीतिक झुकावको अध्ययन गर्ने हो भने यही देखिन्छ । आफूले बोकेको झण्डामुनि क्रान्तिका अगुवा नेताहरुलाई गोलबन्द गरिराख्न नसक्नुमा बिपीको पनि कमजोरी थियो।

०७ को क्रान्तिमा सक्रिय सहभागी भएर जनसरकारको नेतृत्व गरेका घिमिरेजस्ता चर्चित कवि कालान्तरमा (सक्रिय राजनीति नगरेपनि) किन दरवारको झण्डामुनि पुगे? कवि घिमिरेको आलोचना गर्नुअघि २००७ पछिको राजनीति र त्यसमा राजनीतिक दलहरुको भूमिकाको पनि समीक्षा गर्नुपर्ने हुन्छ। यहाँनिर चिनियाँ नेता देङ सियाओ पिङको एउटा भनाइ उद्धृत गर्नु सान्दर्भिक हुनेछ। पिङ भन्छन् ‘बिरालो कालो होस् वा सेतो– त्यसको मुख्य कर्तव्य मुसा मार्नु हो।’ नेपालको विकासको कोशेढुङ्गा मानिएको पूर्व–पश्चिम राजमार्गको निर्माण, मुलुकी ऐन मार्फत् कानूनी रुपमै छुवाछुतको अन्त्य, भूमिुसुधारको थालनी, नेपालमा भारतीय प्रभावको अन्त्य जस्ता महत्वपूर्ण काम राजा महेन्द्रका पालामा भए। अर्थात्, सेतो बिरालोले मार्नुपर्ने मुसा कालो विरालोले मार्न पुग्यो। यस्तोमा उनले ‘मुसो नमार्ने सेतो बिरालो’ भन्दा ‘मुसो मार्ने कालो विरालो’ लाई मन पराए त उनको के अपराध भयो?

कवि श्रवण मुकारुङले भनेझैँ, घिमिरेका गीत–कवितामा मूलतः राष्ट्रको, हिमालको, प्रकृतिका वर्णन छन्। त्यसबाहेक उनको सिर्जनामा प्रेम र विछोड पनि छन्। खासमा उनलाई चिनाएको यस्तै सिर्जनाहरुले हो। यसैआधारमा उनीमाथि आरोप के पनि लाग्ने गरेको छ भने, उनले सीमान्तिकृतहरुको पक्षमा लेख्दै लेखेनन्, बोल्दै बोलेनन्।

मेरा निकट मित्र हुनुहुन्छ, पारशप्रकाश नेपाल। पेशाका दृष्टिले सहकर्मी, बसाईंका दृष्टिले छिमेकी। भाइको रुपमा मलाई ममता प्रदान गर्दै आउनु भएकोमात्र छैन, मेरो परिवारको सुखदुखमा साथ दिँदै आउनुभएको पनि छ। मीठा–मीठा गीतको रचनाकार मात्र हुनुहुन्न उहाँ, सुमधुर स्वरमा आफै गाउनु पनि हुन्छ। यो आलेख तयार पारिरहँदा पनि उहाँको निवासबाट मेरो कोठासम्म आइपुग्ने गरी उहाँले गाइरहेको यो गीत (जुन उहाँको नालापानी कालापानी एल्बममा पनि समावेश छ) ले मलाई नै सम्बोधन गरिरहेजस्तो लाग्छ :

कस्तो हुन्थ्यो, कस्तो हुन्थ्यो एक धोको पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे

पल्लो घरको धुरीबाट धुँवा आ’को छैन
मैले खाइ के सार भयो भाइले खा’को छैन

कस्तो हुन्थ्यो एक्एक् गाँस सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे

तोपचरीको गुँडै राम्रो दख्खिनतिर दैलो
भाइको भने घरै छैन कहाँ खेल्ने भैलो ?

कस्तो हुन्थ्यो एउटा बास सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे

फूल राम्रो गुराँस हो कि फूल राम्रो कपास
भाइको शिरमा टोपी छैन कहाँ लाउने गुराँस

कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे

खासमा यो गीतको रचनाकार पनि राष्ट्रकवि घिमिरे नै हुन्। यो गीतमार्फत् घिमिरेले सबै नेपालीबीच आर्थिक समानताको चाहना गरेका छन्। एउटा दाइ मात्र खुसी भएर हुँदैन, सबै भाइ खुसी हुने वातावरण बन्नुपर्छ-गीतमार्फत् उनले भनेका छन्। एउटा दाजुको घरको चुल्हो बलेर पुग्दैन, सबै दाजुभाईको चुल्हो बल्नुपर्ने कुराको वकालत गरेका छन्। अनि, आफूलाई मात्र गाँसबासको व्यवस्था भएर पुग्दैन, सबै दाजुभाईहरुको गाँसबासको व्यवस्थामा जोड दिएका छन्। समग्रमा यो गीतमार्फत् उनले आर्थिक समानतासहितको समाजको वकालत गरेका छन्। संविधान सभाले बनाएको संविधानले पनि यस्तै ‘समाजवाद उन्मुख राज्यव्यवस्था’ भनेर यस्तै प्रबन्धको अपेक्षा गरेको छ। ‘फूलको आँखा’ बाट हेर्दा मैले त यस्तै भाव पाएँ।

आर्थिक समानता र न्यायको चाहना राख्दै उनले रचना गरेको यो गीत उनको ‘छिटपुट रचना’ मात्र थिएन। आर्थिक असमानताप्रतिको उनको रोश र त्यस्तो व्यवस्था बदल्न आव्हान गर्दै उनले अरु गीत र कवितापनि लेखेका रहेछन्। त्यसमध्ये एउटा अर्को कविताको अनुच्छेद इतिहासकार पंगेनीले उही पुस्तक ‘पश्चिम नेपालमा प्रजातान्त्रिक आन्दोलन : २००७’ (पेज ५४६) मा समावेश गरेका छन् :

भोका छन् सब दाजुभाइ यसरी खाएर पो के भयो?
नाङ्गा छन् जब ईष्टमित्र यसरी लाएर पो के भयो?
खै उल्लास कहाँ छ यसरी हाँसेर पो के भयो?
मुर्दा तुल्य छ जीन्दगी जब भने बाँचेर पो के भयो?

समाजमा भएका अन्याय अत्याचार र तिनका विरुद्ध संघर्षका लागि आह्वान गरिएका तीन गीत र कविता नेपाली प्रगतिशील साहित्य फाँटमा निकै चर्चित छन्– जनकवि युद्धप्रसाद मिश्रको ‘भोका र नाङ्गा उठ’, बलिदान फिल्ममा रामेशको रचना र स्वर रहेको ‘गाउँ–गाउँबाट उठ, वस्ती वस्तीबाट उठ’ र मोदनाथ प्रश्रितको यो कविता :

पराधिन भई पिउँदै नुनिला आँसुका ढिका
जिउनु भन्दा मीठो हुन्छ तातो गोली कता कता

प्रगतिशील–क्रान्तिकारी पंक्तिमा पर्नैपर्ने रचना हुन् उपरोक्त तीन गीत र कविता। त्यसो भए क्रान्तिकारी सन्देश र शिल्पका दृष्टिले उत्तिकै उत्कृष्ट ‘बाबालाई भन्नू ‘हजुरको छोरो हुँदैन कायर, हाँसीमा हाँसी छातीमा थाप्यो बन्दुक फायर’ लेख्ने घिमिरे कसरी प्रतिगामी भए?

जसले ‘भोका छन् सब दाजुभाइ यसरी खाएर पो के भयो? मुर्दा तुल्य छ जीन्दगी जब भने बाँचेर पो के भयो?’ लेख्ने कवि घिमिरेलाई अझै ‘जनविरोधी’ देखिरहेका छन्– के दोषी चस्मा नलगाइकन घिमिरेमा दोषैदोष देख्न सम्भव छ?

मेरो यो पनि प्रश्न- घिमिरेलाई प्रतिगामी कित्तामा राखेर मूल्याङ्कन गर्ने प्रगतिशील स्रष्टाहरुलाई!

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट