आज एउटा युग बित्यो-Sutra News

आज एउटा युग बित्यो

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- राष्ट्रकवि माधव घिमिरेसँग मेरो पहिलो भेट विसं २०५८ सालमा भएको थियो। उहाँकै घरमा गएको थिएँ म। उहाँको कृति ‘मालती मंगले’ का केही गीतहरु उहाँकै घरमा गाएर सुनाएको थिएँ।



राष्ट्रकवि घिमिरेको घरमा एउटा सानो हार्मोनियम थियो। उहाँकी छोरी पनि शास्त्रीय संगीतमा रुचि राख्नुहुन्थ्यो। त्यो भेटमा उहाँकी छोरी र राष्ट्रकवि घिमिरेसामु मैले उहाँका केही गीतहरु गुनगुनाएको थिएँ। सँगै मेरो लागि गीतका शब्दहरुको अनुरोध पनि गरेको थिएँ।

मेरो स्वर मन पराएर उहाँले मलाई आफ्नो गीति संग्रह ‘किन्नर किन्नरी’ बाट छानेर गीत गाउनु भनेर अनुमति दिनु भएको थियो। आफूलाई मन परेको गीत गाउनु भनेर उहाँले मलाई आफ्नो पुस्तक नै दिनु भएको थियो।

मैले संग्रहबाट तीन वटा गीतहरु छानेको थिएँ। ‘सारंगी त रेटे पनि’, ‘माटै र छोउँ भइदिन्छ फूल’, र ‘ऐना झ्यालको पुतली’ गरी तीन वटा गीतहरु मैले संग्रहबाट छानें। पहिलो गीतको रुपमा ‘सारंगी त रेटे पनि’लाई रेकर्ड गरेका थियौं। गीतमा आवाज मेरो थियो, संगीत शक्ति बल्लभ दाईले गर्नुभएको थियो।received_591293604881098.jpegपहिलो गीत रेकर्डपछि सार्वजनिक गरिएको थियो। गीत ०५८ मै रेकर्ड भएको थियो। पछि २०५९ मा बजारमा आएको मेरो पहिलो एल्बम ‘पहिचान’ मा त्यो गीत थियो।

उहाँसँगको पहिलो भेटबाटै निकै मिजासिलो महसुस गरेको थिएँ मैले। उहाँको व्यवहार सानालाई निकै माया गर्ने थियो। साथ र सहयोगको भाव पूर्णरुपमा थियो उहाँमा। उहाँको शब्दमा रहेको उक्त गीत मेरो पहिलो एल्मबबाट लोकप्रिय गीतहरु मध्येमा पर्यो।

मप्रति राष्ट्रकवि माधव घिमिरेको व्यवहार निकै राम्रो थियो। सरल स्वभाव थियो उहाँमा। इमान्दारिता थियो लेखन र व्यवहारमा। सबैप्रति समान थियो उहाँको व्यवहार। सानाप्रति झन् प्रोत्साहन र प्रेम अत्याधिक थियो।

राष्ट्रकवि घिमिरेसँग बिताएको समयको कुरा गर्ने हो भने पहिलो भेटमा उहाँकै घरमा गीत गाएर सुनाएको क्षण मेरो निम्ति अवस्मरणीय लाग्छ।  त्यो बेला उहाँको अगाडि गीत गाएर सुनाउँदा उहाँ निकै खुसी पनि हुनु भएको थियो। पहिलो भेटमा नै उहाँले प्रोत्साहन गर्नुभएको थियो मलाई।

उहाँको पहिलो गीत ‘पहिचान’ एल्बममा गाएको थिएँ। पछि सुरुवातमा छानेकै मध्येबाट अर्को गीत पनि गाएँ। उहाँको शब्दमा रहेको अर्को ‘माटै र छोउँ भईदिन्छ फूल’ गीतलाई मेरो दोस्रो एल्बममा समावेश गरेको थिएँ।

कविवर घिमिरे नेपाली साहित्य, काव्य, गीतको एउटा युग नै हुनुहुन्थ्यो। आज एउटा युग बितेको छ। उहाँको गीत, उहाँका शब्दहरु जीवन्त छन्। लेखन जीवन्त छ। रचनाहरुको स्तरकै कुरा गर्दा ती निकै स्तरीय छन्, उहाँको लेखन बलियो छ।

देह बितेको छ आज। तर, उहाँका रचनाहरुको आयु अमर छन्। ती अमर रचनाहरुले आज बितेको एउटा युगलाई सधैं-सधैं सम्झाई रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट