नेपालले गुमाएको विश्वस्तरको साहित्यिक व्यक्तित्व-Sutra News

नेपालले गुमाएको विश्वस्तरको साहित्यिक व्यक्तित्व

  • बुधबार, ३ भाद्र २०७७

  • बुधबार, ३ भाद्र २०७७

    मिति ठ्याक्कै याद त छैन । तर,राष्ट्रकवि माधव घिमिरेसँगको पहिलो भेट म्युजिक नेपालमा भएको थियो। तर,उहाँले मेरो आवाजमा एउटा गीत रेकर्ड गर्ने कुरा गर्नु भएको रहेछ। मैले गाउनुपर्ने त्यो गीत उहाँको छोरीको रचना थियो। गीत रचना भएपछि राष्ट्रकवि घिमिरेले छोरीलाई सुझाव दिनुभएछ,‘यो गीत कुन्ती मोक्तानलाई गाउन दिँदा राम्रो हुन्छ।’ त्यसैक्रममा म्युजिक नेपालमा उहाँसँग प्रत्यक्ष भेट भयो।



    म्युजिक नेपाल जाँदा राष्ट्रकवि पनि आउने कुरा थाहा पाइसकेकी थिएँ। उहाँलाई भेट्नु अगाडि ‘राष्ट्रकविजस्तो व्यक्तित्वसँग प्रस्तुत हुने होला’ भन्ने त्रास मनमा थियो। तर,भेटेपछि थाहा भयो, उहाँ न निकै सरल व्यक्तित्व हुनुहुँदो रहेछ। त्यो पहिलो भेटमा नै उहाँले मेरो गीतहरू सुनेको बताउनुभयो। उहाँको त्यो सरलतालाई मैले मनमनै प्रशंसा गरेँ । उहाँको व्यवहार वर्षौंदेखि चिनेको जस्तो थियो–एकदम सरल, सुमधुर र मिजासिलो।

    त्यसपछि मैले उहाँले रचना गरेका करिव आधा दर्जन गीतहरू गाएँ। उहाँसँग मेरो र मेरा श्रीमान् (शिलाबहादुर मोक्तान)को सम्बन्ध एउटै परिवारको सदस्यको जस्तो थियो। एकपटक उहाँले हामीलाई आफ्नो घरमा बोलाउनुभयो। हिँड्नुअघि हामीले फोन गरेर ‘आउँदैछौं है’ भनेर जानकारी दिएका थियौँ। हामी पुग्दा उहाँ हाम्रै पर्खाइमा हुनुहुँदो रहेछ।

    उहाँको सरलता जो कोहीलाई कायल बनाउने खालको थियो। म र श्रीमान उहाँको घरमा पुग्दा उहाँले गर्नुभएको स्वागत,उहाँले गर्नुभएको व्यवहार निकै यादगार लाग्छन्। हामीले उहाँबाट सधैँ छोराछोरीको जस्तो व्यवहार पाइरह्यौँ। उहाँकोमा धेरै समय बस्न मोक्तानजी र मलाई अप्ठ्यारो लागिरहेको थियो। तर,राष्ट्रकविले आफ्ना कविता, गीत र आफ्ना अनुभवहरु सुनाइरहनु भयो। उहाँका कविता गीतमा मोहित भएर हामी दिनभरि उहाँकोमा बस्यौँ।

    अर्काे एक दिनको कुरा हो । त्यसदिनको कुराकानीको सुरुवातमा उहाँको शीरमा टोपी थिएन। कुराकानी चल्दै जाँदा उहाँले आफैंले ‘फोटो खिचौं’ भन्ने प्रस्ताव राख्नुभयो। फोटो खिच्ने तयारी भइरहँदा उहाँले आफ्नी जहान (श्रीमति) लाई टोपी ल्याउन अह्राउनु भयो। टोपी लगाउनु भयो। अनि हामीतिर फर्किएर हाँस्दै भन्नुभयो, ‘कवि पो हो त। त्यसैले फोटो टोपी लगाएर नै खिच्नुपर्छ ।’त्यसपछि केही बेर हाँसोको माहोल बन्यो।

    उहाँको घरमा बिताएको त्यो क्षण उहाँसँग संगत गरेका समयमध्ये सबैभन्दा प्रिय र यादगार लाग्छ। म्युजिक नेपालमा राष्ट्रिय गीतहरूको रेकर्ड गर्ने क्रममा उहाँको शब्दमा रहेको ‘गाउँछ गीत नेपाली’ बोलको गीत पनि गाउने मौका पाएकी थिएँ। आनन्द कार्की, ममता दिपविम, तारा थापा लगायत अन्य साथीहरूको आवाजमा गीत रेकर्ड गरिएको थियो।

    उहाँ मेरो श्रीमान् र मलाई अत्याधिक माया गर्नुहुन्थ्यो। धेरै पटक राष्ट्रकविले सार्वजनिक कार्यक्रममै भन्नुभएको थियो, ‘शिलाबहादुरको संगीतमा मिल्ने आवाज कुन्तीकै हो। तिमीहरूको जोडा भगवानले नै मिलाई दिएका हुन्। ’गीत गाउने बाहेक अन्य समयपछि उहाँसँग विभिन्न कार्यक्रमहरुमा भेटघाट भईरहन्थ्यो। मैले पढाउने स्कूलमा पनि उहाँ आइरहनु हुन्थ्यो।

    स्कुलमा आएका बेला बालबालिकासँग उहाँको व्यवहार निकै सरल र निकै शिष्ट हुने गथ्र्याे । त्यहाँ साना–साना विद्यार्थीहरूसँग उहाँ रमाईरहेको र माया बाँडिरहेको देख्थेँ म। कार्यक्रममा आइदिनुस् न’ भन्नासाथ विना आनाकानी आइदिने बानी थियो। यो उहाँको अर्काे गुण थियो। उहाँले कसैको कुरा पनि नकार्न सक्नुहुन्नथ्यो। मेरो गीतको विमोचनका लागि पनि उहाँ थुप्रै पटक आइदिनु भएको थियो।

    ‘राष्ट्रकवि हुँ’ भन्ने अहम् कत्तिपनि थिएन। प्रेम, सदैव ऊर्जा, सरलता र नम्रता उहाँका अमूल्य गुण थिए। उहाँको अनुहारको चहकले जो कोहीलाई पनि ऊर्जा दिन्थ्यो। मलाई लाग्छ, आफ्नो जीवनकालमा उहाँले कहिल्यै कसैको मन दुखाउनु भएन।

    नेपाली धर्तिमा धेरै सपुतहहरूको जन्म भएको छ। तर, कसैले ‘विश्वलाई देखाउने नेपालमा त्यस्तो उचाइको साहित्यिक व्यक्तित्व को छ ?’ भनेर कसैले सोधेमा ‘उहाँ हुनुहुन्छ’ भनेर देखाउन सकिने व्यक्तित्व माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो।
    उहाँको निधनबाट नेपालले महान् व्यक्तित्व गुमाएको महसुस भइरहेको छ। गीत–संगीत क्षेत्रमा अभिभावकको अभाव हुने देखिएको छ। त्यस्तो शीर्ष व्यक्तित्वको देह आज हामी माझबाट गुमेको छ।

    (कुराकानीमा आधारित)

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट