‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन कार्की-Sutra News

‘तेल भिसा’ खेल्न अमेरिका पुगे विपिन कार्की

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । फिल्म ‘तेल भिसा’को छायांकनका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । उनी नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक शंकर घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन्।



विपिन पहिलो पटक अमेरिका पुगेका हुन्। अमेरिकामा उनीहरुलाई स्वागत गर्न फिल्मकी कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री ऋचा घिमिरे पुगेकी थिइन् । यता, उनीहरूलाई नेपालबाट बिदाइ गर्न फिल्मका निर्माता टिकाराम बुढाथोकी पुगेका थिए । टिकाराम हाल बजारमा निकै चर्चा बटुलिरहेको श्रीकेश हेयर ओयलका प्रोप्राइटर हुन् ।

बुढाथोकी यो फिल्म निर्माण गर्ने मुख्य कम्पनी वेल डन क्रिएसनसँग सहकार्य गर्दै नेपाली फिल्म नगरीमा निर्माताको रूपमा प्रवेश गर्दै छन् ।

‘ब्रेकफेल’ बनाएर अमेरिका उडेका शंकर घिमिरेले लामो समयको अन्तरालपछि यो फिल्मलाई निर्माण तथा निर्देशन गर्न लागेका छन् । यो फिल्ममा विपिन दोहोरो भूमिकामा देखिनेछन् भने, ऋचाले  यसमा एउटा महत्त्वपूर्ण भूमिका निवार्ह गर्दै छिन् ।

विपिनको अपोजिट अभिनेत्री गौरी मल्ल र वर्षा राउत दुवै जना देखिनेछन् । सुटिङका लागि अभिनेत्री वर्षा केही दिनमा र गौरी सम्भवतः अर्को हप्ता अमेरिका पुग्दैछन् । फिल्मका सिनेमाटोग्राफर सुसन प्रजापति भने केही दिन अघिनै बाल्टिमोर पुगिसकेका छन् ।

निर्माण युनिटले दिएको जानकारी अनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा ‘तेल भिसा’को छायांकन वैशाख २५ गतेबाट एक महिना सम्म चल्नेछ । मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत फिल्म खिचेर युनिट बाँकीको छायांकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ ।

यता, फिल्मलाई आगामी भदौ २८ गतेदेखि प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट