रेखा थापा : अमेरिका जाँदा रित्तो हात-फर्किंदा छोरीको साथ, योसँग त्यो जुध्यो भन्ने मिस भयो-Sutra News

रेखा थापा : अमेरिका जाँदा रित्तो हात-फर्किंदा छोरीको साथ, योसँग त्यो जुध्यो भन्ने मिस भयो

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । अमेरिकामै ‘बेबी प्लान’ गर्ने योजनासहित अमेरिका पुगेकी अभिनेत्री रेखा थापा लामो समयपछि स्वदेश फर्किएकी छन् । आफ्नो पछिल्लो फिल्म ‘उपहार’ प्रदर्शनको संघारमा रहँदा सन्तान जन्माउनका लागि रित्तो हात अमेरिका पुगेकी उनी करिब ६ महिनापछि छोरी वैभवीलाई साथमा लिइएर फर्किएकी हुन् ।



रेखाको त्यस योजनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विभाजित देखिँदै त्यो समयमा उनको पक्ष-विपक्षमा मत राखेका थिए । त्यस क्रममा रेखा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने भन्दै आलोचकले तर्क गरेका थिए । तर, उनी व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नु पर्ने कतिपयले मत राखेका थिए ।

त्यस समयमा चलेको बहसमा रेखाले प्रतिक्रिया दिँदै आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने प्रतिप्रश्न गरेकी थिइन् । उनले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा श्रीमानको अधिकार र रूचीमा आधारित रहेको बताएकी थिइन् ।

सन्तान जन्माउन अमेरिका पुगेकी रेखाप्रति आफै आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष गरेका थिए । उसो त, सामान्य व्यक्तिदेखि ठूला स्टारहरू पनि सुविधा खोज्दै अमेरिकालगायत अन्य देशमा गइरहेका हुन्छन् । तर, रेखालाई भने सन्तान जन्माउनका लागि अमेरिका गएको भनेर अब नेपाली महिलाहरू नेपाली भूमिमा बच्चा जन्माउन चाहँदैनन् भन्दै खेदो खन्नेको कमी थिएन ।

श्रीमान् बलराम शाहीको परिवार नै त्यहाँ भएकाले आफू अमेरिका गएको बताउने उनलाई कतिले त देशद्रोहीको संज्ञासमेत दिए । तर, पनि रेखाले ती नकारात्मक प्रतिक्रियालाई आफूमा हाबी हुन नदिई अमेरिकामा छोरीलाई जन्म दिइन् । सोही इच्छाअनुसार ६ महिना लामो बसाईपछि अहिले उनी स्वदेश फर्किएकी हुन् ।

अमेरिकाको बसाईमा छोरीको जन्म दिएर मातृत्वको आनन्द लिँदै फिल्म उपहारलाई अमेरिकामा प्रदर्शन गराउन सफल भइन् । छोरीलाई साथमा लिइएर फर्किएकी उनले नेपालका धेरै कुराहरू याद गरेको बताउँछिन् ।

जसमा उनले सबैभन्दा धेरै जुलियनलाई सम्झेको बताउँछिन् । जुलियन रेखाले पालेको कुकुर भए पनि उनको लागि परिवारको सबैभन्दा मायालु सदस्य रहेको बताइन् ।

साथै, उनले आफूहरू जतिसुकै सफा र प्रणालीले चलेको देशमा पुगे पनि आफ्नै ठाउँ, भिडभाड र प्रदूषणको सम्झना आउने बताइन् । त्यति मात्र हैन उनले नेपाली राजनीति, फिल्म र समाजलाई पनि सम्झेको तर्क गरेकी छन् ।

यस क्रममा उनले अमेरिका सिस्टममा चलेको देश भएकाले नेपालमा जस्तो झगडा नहुने बताएकी छन् । उनले भनेकी छन्, ‘नेपाली र फिल्मकै झगडा प्रिय हुने रहेछ, यो फिल्मसँग त्यो फिल्म जुध्यो भन्ने हल्ला पनि मिस हुने रहेछ, अमेरिकाबाट नेपाललाई हेर्दा आफ्नो देशको राजनीति, समाज र फिल्मको माया लाग्ने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट