निर्देशक राउतको भनाइमा के हो ‘पुजार सार्की’ ?-Sutra News

निर्देशक राउतको भनाइमा के हो ‘पुजार सार्की’ ?

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

काठमाडौं । फिल्मले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एक किसिमको सन्देश र भाष्य निर्माण गर्छ ।



त्यसैले फिल्ममार्फत विभेद र वर्गीय संघर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ ।

‘पुजार सार्की’को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले फिल्मकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु फिल्ममार्फत ठूलो पर्दामा ल्याउन लागेको बताए ।

“हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नु पर्छ, उक्त समुदायले धेरै बोलिसकेका छन्, अब हामीले चलचिलत्रको माध्यमबाट विभेद अन्त्यमा सघाउनु पर्छ”, निर्देशक राउतले भने, “व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ । यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई चलचित्रमा ल्याएको हुँ ।”

सुरुआती समयमा प्रेम कथानक फिल्म निर्देशन गरेको निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा फिल्म निर्देशन गरिसकेका छन् । ‘प्रसाद’मा जातीय विभेद् र अन्तरजातीय विवाहको मुद्दालाई उठान गरेका थिए ।

उनले ‘प्रकाश’मा वर्गीय संघर्षलाई प्रस्तुत गरे । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै फिल्मको मुद्दालाई उठाएको उनको भनाइ छ । “समय अनुसार पात्र र परिवेश फरक हुन्छ, यसपटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, मिश्रित समाज र त्यसमा संघर्ष गरिरहेका समूदायको कथा भन्ने कोसिस गरिएको हो, तर यो काल्पनिक कथा नभइ समाजमा घटेको घटनामा आधारित छ”, निर्देशक राउतले भने ।

‘पुजार सार्की’ फिल्मका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताए । उनले भने, “पछिल्लो समय हामीले तयार गरिरहेको फिल्मकै सिलसिलामा नयाँ फिल्ममा अब यो कथालाई भन्नु पर्छ भन्ने लाग्यो, किनकि काठमाडौंमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझै संघर्षशील छ ।”

‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अभिनय गरेका छन् । अभिनेता सिग्देलले फिल्म विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताए ।

ग्रामीण युवाको भूमिकामा देखिएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गरे । उनले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात गर्न प्रशिक्षण लिएको बताए ।

संगीतकार सुभाष भुसालले निर्माण गरेको फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शंकर आचार्यलगायतको अभिनय रहेको छ । फिल्म बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट