फिल्म रिलिज नहुँदै मलिकालाई अवार्ड !-Sutra News

फिल्म रिलिज नहुँदै मलिकालाई अवार्ड !

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । रिलिजको पर्खाइमा रहेको फिल्म ‘सतीदेवी’ बाट नायिका अभिनेत्री मलिका महतले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । हालै रामेछापमा सम्पन्न भएको तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड प्राप्त गरेकी हुन्।



लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको यस फिल्मबाट मलिकाले अभिनय यात्रामा पहिलो पटक जितेको अवार्डको खुसी सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । विं.सं. २०७५ सालमा फिल्म ‘यात्रा’ बाट ठूलो पर्दाको यात्रा सुरु गरेकी मलिकाले त्यसपछि फिल्म ‘पानी फोटो’ र ‘अगस्त्य’मा अभिनय गरेकी छिन् ।

प्रदर्शनको हिसाबले ‘सतीदेवी’ उनको चौथो फिल्म हुँदै छ । गत मङ्सिर पहिलो साता फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो। उक्त पोस्टरमा मलिकालाई कालो मोसो र गलामा जुत्ताको माला लगाएर गाउँलेहरूबाट भागिरहेको देखाइएको छ ।

यस अघि ‘सतीदेवी’ले गत माघ तेस्रो साता सौराहामा आयोजित सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म र वरिष्ठ निर्देशक स्व. शिव रेग्मीको नाममा समर्पित शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो, भने तेस्रो ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट लेखन र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको छ ।

कार्य व्यस्तताका कारण ग्रामीण फेस्टिभलमा सहभागी हुन नसकेकी मलिकालाई निर्देशक सुवेदीले उनले जितेको अवार्ड सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा हस्तान्तरण गरेका थिए । मलिकाले मंगलबार आफूले अवार्ड जितेको खुसी साट्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

उनले स्ट्याटसमा लेखेकी छिन्, ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव–०८० मा ‘सतीदेवी’ फिल्मबाट बेष्ट एक्टर जुरी मेन्सन अवार्ड जित्न सफल भएकी छु । एक्टिङ करिअरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला, प्रेरणा र ऊर्जा थपेको महसुस गरेकी छु । मलाई ‘सतीदेवी’को शीर्ष भूमिकामा चयन गरी निकै मिहिनेत र स्वतन्त्रताका साथ अभिनय गराउनु भएका आदरणीय मल्टी ट्यालेन्ट लेखक, निर्माता, निर्देशक लक्ष्मण सुवेदी र ‘सतीदेवी’ का सम्पूर्ण सहकर्मी कलाकार, प्राविधिक टिम, अवार्ड आयोजक सेलिब्रेटी नेपाल तथा जुरी टिम अनि मेरा सम्पूर्ण दर्शक, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

मलिकाले ‘सतीदेवी’ आफ्नो करिअरको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास गरेकी छिन् । निर्देशक सुवेदीले ‘सतीदेवी’ को प्रदर्शन मिति केही दिनमै तोकिने बताएका छन् ।

यस फिल्ममा मलिकाका साथमा कुलबहादुर अधिकारी, सृजना अधिकारी, हर्षिका वली, मञ्जिा बानियाँ, रमेश बुढाथोकी, भोला सापकोटा, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, सुजिता शिवाकोटी, मनिषा सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट