बक्स अफिसमा आक्रामक ‘बोक्सीको घर’, कति कमायो ?-Sutra News

बक्स अफिसमा आक्रामक ‘बोक्सीको घर’, कति कमायो ?

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा सानदार सुरुवात गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले दोस्रो दिन शनिबार घरेलु बक्स अफिसमा आफ्नो प्रभाव देखाउँदै आक्रामक व्यापार सुरुवात गर्न थालेको छ ।



पहिलो दिन नै ठूलो संख्यामा दर्शकलाई हलसम्म तान्न सफल भएको फिल्मले शुक्रबारका धेरै शोज हाउसफुल भएका थिए । फिल्मले पहिलो दिन देशभर झन्डै दुई सय शोज पाएको थियो । जसमा दर्शकको अकुपेन्सी उच्च देखिन्थ्यो ।

शुक्रबार बिहानीका शोजमा ४० प्रतिशत हाराहारी अकुपेन्सी हुदाँ दिउँसो र रात्रिकालिन शोजमा भने ७० देखि ७५ प्रतिशतसम्म पुर्याउन सफल भएको थियो ।

शो र व्यापार राम्रो भइरहेको ‘बोक्सीको घर’ले दर्शकको माग भए अनुरुप प्रदर्शकले शनिबारबाट यसको शोज संख्यामा थप शो उपलब्ध गराएका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा उच्च शो पाएको ‘बोक्सीको घर’ सुरुवातको चरण भन्दा थप शो उपल्ब्ध गराएको छ । आज विहानीका ललितपुरको लाबिम, काठमाडौंको सिभिल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका अधिकांश शोजमा करिब ९० प्रतिशत अकुपेन्सी ओगट्न सफल भएको छ । अन्य हलमा पनि यो फिल्मका धेरै शो ४० प्रतिशत हाराहारीमा अकुपेन्सी देखिन्छ ।

बुधबार अग्रिम टिकटक बुकिङ खोल्दा क्यूएफएक्सले ‘बोक्सीको घर’लाई काठमाडौं उपत्यकामा २४ र मोफसलमा ३२ शो दिएको थियो । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १८ शो, बिग मुभिजले ७, एफक्यूबले ७ , वानसिनेमाज कालिमाटीले ५ शो दिएका थिए । अन्य मल्टिप्लेक्सहरूेल पनि उच्च शो प्रदान गरेका थिए ।

यता, प्रदर्शनको दोस्रो दिनमा यसको शो संख्यामा ठूलो वृद्धि भएको छ । ‘बोक्सीको घर’ले शनिबार क्यूएफएक्समा ३८ शो पाएको छ । फिल्मले शनिबार मोफसलमा क्यूएफएक्सका आउटलेटमा ४२ शो पाएको छ । जब कि टिकट बुकिङ खुल्दा शुक्रबारलाई ३२ शोदिएको थियो । आज क्यूएफएक्समा आउटलेटमा यो फिल्मले ८० शोज पाएको छ । जबकी हिजो ५६ शो पाएको थियो । शुक्रबार भन्दा शनिबारलाई २४शो धेरै पाएको हो ।

अन्य मल्टिप्लेक्समा पनि करिब यही अनुपातमा शो बढेको र बुकिङ पनि राम्रो देखिएकाले ‘बोक्सीको घर’ले आक्रामक कलेक्शन गर्ने आंकलन गर्न सकिन्छ । बक्सअफिस रिपोर्ट सार्वजनिक नभएपनि शो र अकुपेन्सी उच्च भएकाले राम्रो कमाइ गरेको बुझ्न सकिन्छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा बद्री केकी अधिकारी मुख्य भूमिकामा छिन् । केकी यो फिल्मकी निर्मात्री पनि हुन् । निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई प्रस्तुत गरिएको छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा केकीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।

लोचन रिजालको ब्याकग्राउन्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट