सधैँ राज्यसत्ताको सम्मान पाएका भाग्यमानी स्रष्टा-Sutra News

सधैँ राज्यसत्ताको सम्मान पाएका भाग्यमानी स्रष्टा

बुधबार, ३ भाद्र २०७७

बुधबार, ३ भाद्र २०७७

काठमाडौं-



‘सुनकोशीको सुनको पानी,

परदेशीले पिउँदा

बगर भो मेरो जीवन

आशैआशमा जिउँदा…’

मैले लेखेको यो गीत माधव घिमिरेलाई खुब मनपर्थ्यो। चार लाइन त कन्ठै थियो उहाँलाई, भेटैपिच्छे गाएर सुनाइहाल्नुहुन्थ्यो।

व्यक्तिगतरुपमा मेरो उहाँसँग निकै सुमधुर सम्बन्ध थियो। एउटा सिनियर र अनुजका रुपमा बेलाबेला हामी भेटिरहन्थ्यौँ। मेरा गीत खुब मनपराउनुहुन्थ्यो उहाँ। ‘गीत लेख्न कहिल्यै पनि नछोड्, तँ असाध्यै राम्रो गीत लेख्छस्’, यस्तो भनिरहनुहुन्थ्यो।

मलाई अझै याद छ, उहाँसँग मेरो पहिलो भेट काठमाडौं आएको १ वर्षपछि अथात् ०४४ सालतिर भएको थियो। उहाँलाई भेट्न म उहाँकै निवासमा पुगेको थिएँ। उहाँले लेखेको ‘मालती मंगले’ का गीतहरु म कन्ठै गाउँथे। अलिअलि गायक पनि थिएँ म त्यतिबेला। पहिलो भेटमै उहाँलाई मैले उहाँकै त्यो गीत गाएर सुनाएको पनि थिएँ।

एकपल्ट लेखनाथ सदनमा मेरा दुइटा गीत उहाँलाई सुनाउँदा उहाँले मलाई झ्याप्पै अंगालो हालेको क्षण म अहिले सम्झिरहेछु।

मेरा लागि माधव घिमिरे एकजना सिनियर कविमात्रै होइनन्, एउटा युग, एउटा कालखन्डको विशिष्ट प्रतिभा पनि हुन्। उनी माध्यमिक काल र आधुनिक कालको बीचको सिद्धहस्त लेखक, विशिष्ट प्रतिभा हुन्।

संस्कृतका शास्त्रीय छन्दलाई नेपाली जीवन, नेपाली माटो र नेपाली सौन्दर्यसँग अत्यन्तै सरल ढंगले प्रस्तुत गर्न सक्नु उहाँको विशिष्टता थियो। उहाँको क्षमता र योगदान पनि त्यही नै हो। प्रकृति, देशप्रेम, मानवता उहाँका विषयहरु हुन्।

मलाई उहाँ एउटा भाग्यमानी स्रष्टा पनि लाग्छ, जसलाई सधैँ राज्यसत्ताले सम्मान गरिरह्यो। विचार त सबैको आ–आफ्नो हुन्छ। तर, शिल्पकारिताको हिसाबले असाध्यै होसियारी र गम्भीरताका साथ कुशल ढंगले कविता लेख्ने एउटा विलक्षण प्रतिभा हुन् हुनुहुन्थ्यो। हामीले नाम लिँदै आएका लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठपछि उहाँकै नाम आइहाल्छ।

‘हाम्रो देशमा कति नै मान्छे साक्षर छन्, कति नै पढेलेखेका छन्, कतिले कविता बुझ्छन् र?’ भन्ने हिसाबले हेर्दाखेरि उहाँलाई ‘राष्ट्र कवि’ नमान्दिदा पनि भयो। यो खासमा छलफल, विमर्शकै विषय हो। यस विषयलाई इतिहासले पछि मूल्याङ्कन गर्दै जान्छ नै।

उहाँ लोकप्रिय गीतकार पनि हुनुहुन्थ्यो। सबैभन्दा बढी नेपालीहरुले चिन्ने कवि/गीतकार सायद उहाँ नै हो। भलै त्यसमा अनेकौँ कारण जोडिएका हुन सक्छन्। सानैदेखि नेपालीहरुले उहाँका गीत/कविता पढेको कारण हुनसक्छ वा पाठ्यक्रममै राखिएका कारण, सबैभन्दा बढी चिनिएको कवि पनि उहाँ नै हो।  

गणतन्त्र आइसकेपछि उहाँको केही आलोचनाहरु पनि भए। त्यसपछि उहाँबारे मलाई नागरिक दैनिकले लेख लेखी माग्यो। मैले लेखेको पनि थिएँ। राजा ज्ञानेन्दले उहाँलाई ‘राष्ट्र कवि’ बनाएका थिए। राजनीतिक हिसावले कतिपयले यसलाई रुचाएनन्। ‘राजाको भक्ति गाउने’, ‘सारा अंश लिएर बसेका कवि’ को रुपमा समेत उहाँमाथि राजनीतिक आरोप लाग्यो।

तर, हामीले यसलाई व्यक्तिगत हिसाबले हेर्नुपर्छ। विचार आ-आफ्ना हुन्छन्। यो लोकतन्त्रमा कोही कांग्रेस हुन्छ, कोही कम्युनिष्ट हुन्छन्, कोही राजावादी होलान्। तर, उहाँ आफै व्यक्तिगत हिसाबले भने विशिष्ट कवि हुनुहुन्थ्यो, प्रतिभा हुनुहुन्थ्यो। उहाँ असाध्यै सुन्दर ढंगले सुक्तिमय रचनाहरु लेख्नुहुन्थ्यो। पूर्वीय ज्ञानपद्दति गुरुकूलबाट आउनु भएको थियो उहाँ।    

संस्कृतका कालिदासलाई पढ्दै आएका हुनाले संस्कृत र नेपाल दुबैमा उहाँको दख्खल थियो। अझ यसमा उहाँले अर्को विशिष्ट कुरा पनि थप्नुभएको थियो। त्यो हो, नेपाली लोक जीवन। लोक भाका, लोक कथ्य, लोक जीवन पद्दति जोडेर टक्क कविता लेख्दा संस्कृतको जटिल छन्द पनि उहाँले सरल बनाइदिनुभयो। 

उहाँलाई दिइएको ‘राष्ट्र कवि’ पदवीमाथि समीक्षकहरुले आलोचनात्मक दृष्टिले पनि हेरेका छन्। उत्पीडितका पक्षमा उहाँले नलेखेको भनेर आलोचना पनि भएका छन्।

मान्छेका आ–आफ्ना दृष्टि हुन्छन्, बुझाई हुन्छन्। हो, ती कुराहरुमा असत्यता त छैन। प्रश्न त्यसै त उठ्दैन पनि। तर, हरेक कविको आ–आफ्नै सीमा पनि त हुन्छन्। सबैले क्रान्तिकारी कविता लेख्छन् भन्ने छैन नि। संसारमा राजा–महाराजाकै गाथा गाएर ठूल्ठूला कवि भएकाहरु त अंग्रेजी साहित्यमा पनि छन्। 

त्यो एउटा युग हो। एउटा समय हो। भलै अहिले परिवर्तन भएर आयो। परिवर्तन हुन्छ नै। तर, उहाँको समयमा त्यही ठीक थियो। उहाँले राष्ट्रको महिमा गाउनु भयो। हिमालको प्रकृतिको गीत गाउनुभयो। हिमाल, राष्ट्रको महिमा गाउनु पनि त आवश्यक कुरा हो। 

खासमा उहाँको प्रवृत्ति अर्कै भयो। जनताको सुःखदुःख आदि विषयमा अलिकति निरपेक्ष रहनुभयो। सबैले त्यसैमा लेख्नुपर्छ भन्ने पनि छैन। मान्छेका जीवनका अनेक आयामहरु हुन्छन्। त्यसमाथि त उहाँले लेख्नुभएकै छ।

उहाँका रचनामा गहिरो संवेदनाहरु छन्, लोकप्रिय शोककाव्यहरु छन्। ‘मालती मंगले’ मा घर्तीहरुले पाएको दुःखबारे लेख्नुभएकै छ। भलै उहाँले त्यसलाई अन्त्य गर्दा रानीले मुक्त गराएको देखाउन खोज्नुभएको छ।

खासमा उहाँ अलिक चतुर कवि नै हो । सधैँ सत्ताशक्तिको नजिक नै रहेका कवि हो उहाँ। तर, अबको समयमा त्यो कुरा छोडिदिनुपर्छ। उहाँ नेपाली साहित्यको एउटा सम्पत्ति नै हो। छन्द परम्परामा लेख्ने उहाँ एकमात्र उच्च व्यक्तित्व हो।

संसारभर कवि भनेपछि कवि नै हो चाहे, त्यो नाति होस् या बाजे। पदवी भनेको त सम्मान गरेर दिने कुराहरु हुन्। उहाँ ‘राष्ट्र कवि’ मात्रै कहाँ हो र? जर्नेल पनि त भन्छन् नि उहाँलाई। तर, त्यो त दिइएको एउटा सम्मान हो।  

आखिर उहाँ कवि नै हो। मान्छे पो पहिलो कुरा हो त। चाहे त्यो हवल्दार होस् कि जमदार। त्यसकारण मलाई उहाँ कवि हो भन्ने कुरा महत्वपूर्ण लाग्छ।

मेरो बुझाइमा, त्यो समय, त्यो कालखण्डमा उहाँलाई कुनै कारण त्यो पदवी दिइयो होला। पक्कै पनि त्यो पदवी उहाँले मागेर लिएको होइन। त्यसमा उहाँको के दोष भयो र?

यद्यपि, यो ‘राष्ट्र कवि’ भन्ने शब्दचाहिँ राष्ट्र र कवि भन्ने शब्द मिलेर बनेको हुनाले यसमाथि पर्याप्त छलफल हुन बाँकी छ। मैथिलीमा लेख्ने कवि विद्यापतिलाई के भन्ने, नेवारीमा लेख्नेलाई के भन्ने, किराँतीमा लेख्नेलाई के भन्ने? यी प्रश्न हुन सक्छन्।

धेरैभन्दा धेरै लोकप्रिय कवि भएका नाताले हामीले उहाँलाई मान्दिदाखेरी ‘राष्ट्र कवि’ भन्न सक्छौं।

अर्को, ‘हाम्रो देशमा कति नै मान्छे साक्षर छन्, कति नै पढेलेखेका छन्, कतिले कविता बुझ्छन् र?’ भन्ने हिसाबले हेर्दाखेरि उहाँलाई ‘राष्ट्र कवि’ नमान्दिदा पनि भयो। यो खासमा छलफल, विमर्शकै विषय हो। यस विषयलाई इतिहासले पछि मूल्याङ्कन गर्दै जान्छ नै।

म आफैँ पनि एउटा कवि न हो। सिनियर कविबारे टिप्पणी गर्न मलाई गाह्रै हुन्छ। त्यसैले, मैले भन्ने यतिमात्रै हो। किनभने म उहाँलाई सधैँ सम्मान गर्छु। एउटा युगको प्रतिनिध कवि हो उहाँ। प्रधानमन्त्री आएजस्तै होइन नि, कवि आउनु भनेको। त्यसैले देशमा अब उहाँजस्तै कवि आउन समय लाग्छ। छन्दमा कविता लेख्ने उहाँजस्तो विलक्षण प्रतिभा अब सजिलै पाइँदैन।

(कवि/गीतकार मुकारुङसँग अनिल यादवले गरेको कुराकानीमा आधारित) 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट