कोशीमा किन समर्थन कायमै राख्ने निर्णयमा पुग्यो एमाले ?-Sutra News

कोशीमा किन समर्थन कायमै राख्ने निर्णयमा पुग्यो एमाले ?

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०

काठमाडौं । कोशीमा आफैंले निर्माण गरेको केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएको एमालेले सरकारलाई दिएको समर्थन भने तत्कालका लागि कायमै राख्ने भएको छ । सोमबार बसेको एमालेको प्रदेश संसदीय दलको बैठकले समर्थन कायमै राख्ने निर्णय गरेको एमालेको प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।



सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएपनि एमालेले प्रदेशसभामा प्रमुख प्रतिपक्षीको बेन्चमा बस्ने निर्णय लिएको छ । सँगै एमालेले सरकारलाई दिएको समर्थन जुनसुकै बेला फिर्ता हुनसक्ने पनि स्पष्ट पारेको छ ।

“पछि निर्णय हुँदै जाला, हाल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरियो”, बैठकपछि भण्डारीले भनेका छन्, “सरकारमा जाँदैनौ, हामी प्रतिपक्षीको बेन्चमा बस्छौं । तर, अहिलेलाई बजेटसम्बन्धी प्रस्तावलाई पास गर्न सघाउँछौं ।”

मुख्यमन्त्री कार्कीले गठबन्धन दलका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा भित्र्याएपछि एमाले असन्तुष्ट बनेको थियो । शुक्रबार माओवादी र एकीकृत समाजवादीलाई सरकारमा समेटेपछि शनिबार एमालेले आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाएको थियो ।

दबाबमा राख्ने रणनीति

प्रतिपक्षीको बेन्चमा पुगेको एमालेले तत्काल समर्थन फिर्ता लिएको खण्डमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत पाउने अवस्था नबनेमा प्रदेश स्वतः मध्यावधी निर्वाचनतर्फ जानेछ । यस्तोमा तत्काल मध्यावधीमा जाने पक्षमा एमाले छैन ।

अर्कोतर्फ, एमाले सरकारबाट बाहिरिएसँगै कोशीमा कांग्रेस–माओवादी गठबन्धनले राप्रपासँग संवाद बढाएका छन् । मध्यावधीमा जाने अवस्थामा सहयोग गर्ने बचन दिएको राप्रपालाई मनाएर बहुमत जुटाउने प्रर्यत्नमा दलहरुको छलफल अघि बढेको छ ।

गठबन्धनका नेताहरुले बताएअनुसार सभामुख पद दिएर भएपनि राप्रपालाई मनाउने प्रयास भइरहेको छ । राप्रपा पनि मध्यावधीमा जाने पक्षमा देखिएको छैन ।

यस्तोमा करिब सत्ता आफ्नो हातबाट बाहिरिएको ठानेको एमालेले मुख्यमन्त्री र गठबन्धनलाई दबाबमा राख्ने रणनीतिअनुसार समर्थन कायमै राखेको बुझ्न सकिन्छ । एमालेले राजनीतिक परिस्थितिअनुसार निर्णय लिने भनिसकेको छ । एमालेले समर्थन फिर्ताको निर्णय पनि जुनसुकै बेला लिनसक्ने स्पष्ट पारेको छ । जसअनुसार एमाले कार्की सरकार र गठबन्धनभित्र थप खेल्ने रणनीतिमै देखिन्छ ।

कोशीमा सधैँ अन्योल

कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिना पुरा भएको छ । तर, यो १० महिनाको बीचमा पाँच पटक सरकार ढल्दै बन्दै गरेका छन् । एमालेका हिक्मत कार्की दुई पटक, कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री बनेपछि कांग्रेसको इतर पक्षका कार्कीले मुख्यमन्त्री बन्ने मौका पाएका हुन् ।

तर, योबीचमा संविधानका सबै धाराहरु प्रयोग भइसकेको हुनाले कोशीमा नयाँ सरकार बन्ने अवस्था भने अब छैन । तथापी, जटिल संसदीय गणीतका कारण कोशीमा केदार कार्कीको नेतृत्वको सरकार पनि कतिसम्म चल्ने स्पष्ट छैन ।

यदि गठबन्धनका दलहरुबीच कुरा नमिलेमा, एमाले वा राप्रपा सरकारको खेलमा सहभागि नबनेमा सरकार स्वतः ढल्नेछ । प्रदेश मध्यावधीको अवस्थामा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट